स्वास्थ तथा सरसफाइ

म्याग्दीको तातोपानीमा नुहाउनेको भीड

बिज्ञापन

म्याग्दी (दरबाङ), पुस १० गते । पछिल्लो समय म्याग्दीको तातोपानी कुण्डमा स्नान गर्नेहरूको सङ्ख्या बढेको छ ।  बेनी नगरपालिका–४, सिङ्गा स्थित तातोपानी कुण्डमा स्नान गर्नेहरू सर्वसाधारण, बिरामी र पर्यटकको सङ्ख्या बढेको हो । 

बिज्ञापन

प्राकृतिक चिकित्सालयको रूपमा विकसित हुँदै गइरहेको तातोपानी कुण्डमा ्पछिल्लोपटक स्नान गर्नेहरूको सङ्ख्या दैनिक जसो बढेको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ । कोरोना महामारीको समयमा बन्द भएको तातोपानी कुण्डमा अहिले भने म्याग्दीसहित बागलुङ, पर्वत, कास्की, काठमाडौैं, रुपन्देही, चितवनसहित विभिन्न ठाउँबाट बिरामी, सर्वसाधारण तथा पर्यटकहरू आएको कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताउनुभयो । 

तातोपानी कुण्डमा स्नान गरेपछि ग्यास्ट्रिक, बाथ रोग, युरिक एसिड, हाड जोर्नी तथा मांसपेशीको दुखाई, सड्किएको, मर्किएको, घाउ खटिरा, रुघाखोकीलगायत चिसोबाट मानव स्वास्थ्यमा देखा पर्ने सबै खाले रोगहरू निको हुने जनविश्वासका कारण दैनिक रूपमा तातोपानी कुण्डमा नुहाउन आउनेको सङ्ख्या बढेको छ । अहिले नियमित नुहाउने तीन सय जना बिरामी तथा पर्यटकहरू रहेको समितिका सहसचिव केसीले जानकारी दिनुभयो । 

उहाँका अनुसार, कुण्डमा अहिले एक सय जना पुरुष र दुई सय जना महिला रहेका छन् । नियमित नुहाउनेहरू एक हप्तासम्म बस्ने गर्दछन् । तातोपानी कुण्ड परिसरभित्र ठुलो कुण्डमा बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म र सानो कुण्डमा बिहान ६ देखि बेलुकी ९ बजेसम्म खुल्ला रहने समय तालिका छ । एक हप्तासम्म नियमित स्नान गर्नेहरूलाई तीन सय ५० रुपियाँ र दैनिक रूपमा आउने बिरामी, सर्वसाधारण तथा पर्यटकलाई भने एक सय रुपियाँ शुल्क लिने गरिएको छ । 

कोरोना महामारीले कुण्ड बन्द हुँदा ठप्प भएको होटेल व्यवसाय समेत पुरानै लयमा फर्किँदै गएको तातोपानी होटेल व्यवसायी इकाई समिति अध्यक्ष मना तुलाचनले बताउनुभयो । ‘कोरोनाको कारण तातोपानी कुण्ड बन्द हुँदा होटेल व्यवसायहरू समेत ठप्प भएका थिए । अहिले तातोपानी नुहाउने र डुब्न आउनेको सङ्ख्या बढेपछि होटेल व्यवसाय समेत बिस्तारै पुरानै अवस्थामा फर्कन थालेका छन्,’ उहाँले भन्नुभयो । 

तातोपानी कुण्ड स्थानीयको आम्दानीको स्रोत मात्र नभई तातोपानीबाट हुने आम्दानीबाट स्थानीय सरस्वती माध्यमिक विद्यालय समेत सञ्चालन गरिएको छ । म्याग्दी सदरमुकाम बेनीदेखि ९ किलोमिटरको दुरीमा अवस्थित तातोपानी कुण्डसम्म पुग्ने सडक कालोपत्रे भएपछि थप सहज भएको छ । यसअघि मङ्सिर र पुसमा जाडोको कारण स्नान गर्नेको सङ्ख्या कम हुने गरेकोमा आजभोलि भने सडक कालोपत्रेले गर्दा तातोपानी क्षेत्रमा आउने पर्यटकहरूको समेत सङ्ख्या बढेको अध्यक्ष तुलाचनको भनाइ छ । 

म्याग्दी खोलाको किनारमा रहेको तातोपानी कुण्ड बर्सेनि वर्षातको समयमा नदी कटानको उच्च जोखिममा पर्ने गरेको छ । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दी जिल्लाको मालिका गाउँपालिकाबाहेक अन्य पाँच वटा स्थानीय तहमा तातोपानीका कुण्ड र मुहानहरू रहेका छन् । जिल्लाभर हालसम्म कुल १४ वटा तातोपानीका मुहानहरू भेटिएको पाइएको छ

बिज्ञापन