राजनीति

प्रचण्डजीको व्यवहारबाट दुखित छु : माधव नेपाल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यवहारबाट दुखित भएको बताएका छन्। 

पार्टी कार्यालयमा मंगलबार आयोजित सुदूरपश्चिमबाट निर्वाचित सांसदहरुलाई बधाई दिने कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

बिज्ञापन

‘हाम्रो पार्टीलाई जानकारी नदिई प्रचण्ड अरुको समर्थनमा प्रधानमन्त्री भए। हामीलाई थाहा छैन। पत्रिकामा फोटो देखेर न हामीले थाहा पाएका हौं। हामीलाई बोलाइदिनुपर्‍यो भन्दै कुद्नुपर्थ्यो कि! हामीलाई पनि सामेल गर्देउ भन्दै जानुपर्ने हो कि?’ नेपालले भने, ‘मैले यति भनेको छु, प्रचण्डजीको यो व्यवहारबाट म दुखित छु।’

उनले प्रचण्डले शेरबहादुर देउवासँग एक्लै गएर प्रधानमन्त्री लिने कुरा गरेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे। 

‘मैले नै प्रचण्डलाई अघि सर्नुपर्छ भनेको हो। तर शेरबहादुरजीसँग एक्लै कुरा गरेर प्रधानमन्त्री बन्ने कुरा ल्याउनुभयो। सुटुक्क जाने खुसुखुसु कुरा गर्ने गर्नुभयो। म कड्किएँ र सिंगो प्याकेजमा कुरा गर्नुपर्छ भनेँ।’नेपालले भने।

बालुवाटारमा आफू र केपी ओलीसँग बसेर नयाँ ढंगले कुरा गरौँ भनेर प्रस्ताव गरेका प्रचण्ड पछि एक्लै बालकोट गएको पनि उनले सुनाए।

‘बालुवाटारमा मलाई प्रचण्डजीले तपाईँ  म र केपी ओली छुट्टै बसौं, नयाँ ढंगले कुरा गरेर अगाडि बढौं भन्नुभयो, मैले हुन्छ भनेर पार्टी अफिसमा आएँ र तुरुन्तै बैठक बोलाएँ। अरु नेताहरुलाई फोन गरेँ।’, नेपालले भने, ‘तर प्रचण्डजी त बालकोट पुगेर हस्ताक्षर गरिसक्नुभएछ।’

प्रचण्ड बालकोट पुगेको थाहा पाएपछि शेरबहादुर देउवाले आफूलाई प्रचण्डलाई पहिला प्रधानमन्त्री दिने भन्दै बालुवाटार ल्याउन भने पनि आफूले समय घर्किएको जवाफ दिएको नेपालको भनाइ छ। 

‘सामान्यतः भन्ने हो भने कांग्रेसले हाम्रै बलबाट सरकार चलाएको हो नि। कांग्रेसले गुन बिर्सियो। चुनाव अघि पनि एक एक सिटका लागि पापड बेल्नुपर्यो। खुम्चिएर बस्नुपर्ने अवस्थामा पनि शक्ति बनाउँला भनेर ठीकै छ भनेर बसियो। तर हामीलाई अपमान गर्ने काम गरियो’ नेपालले भने।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।