राष्ट्रिय समाचार

नगरपालिकाको गाडीमा साँढेलाई बाँधेर घिसारेपछि आलोचना

बिज्ञापन

रुपन्देही । छाडा चौपाया व्यवस्थापन अभियान सुरु गरेको रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले साँढेलाई ट्रकमा बाँधेर घिसारेपछि कडा आलोचना भएको छ ।

बिज्ञापन

सिद्धार्थनगरले लु १ ग ३६२ नम्बरको ट्रकको पछाडि बाँधेर साँढेलाई घिसार्दै गरेको तस्वीर सार्वजनिक भएसँगै आलोचना तथा विरोध भएको हो । सामाजिक संजाल यो तस्वीरसँगै आलोचना बढेपछि नगरप्रमुख इस्तियाक अहमद खानले कर्मचारीलाई कारबाही गर्ने घोषणा गरेका छन् ।

नगरपालिकाको ट्रकको पछाडिको भागमा चौपाया डोरीले बाँधेर घिसार्दै गरेको देखिन्छ । केही समय पहिला पनि बुद्धचोकमा गाईलाई ट्रक पछाडि बाँधेर लगेको दृश्य सामाजिक संजालमा सार्वजनिक भएको थियो ।

छाडा चौपाया व्यवस्थापन गर्ने नाममा निर्ममतापूर्वक घिसारेर लगिएको भन्दै भैरहवाका स्थानीय युवाहरुले नगरपालिका कार्यालय अगाडि नाराबाजी गरेका छन् । छाडा चौपाया व्यवस्थापनको नाममा चौपायालाई ट्रकको पछाडि बाँधेर घिसार्न नपाइने भन्दै उक्त कार्यमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन समेत स्थानीयले माग गरेका छन् ।

अधिवक्ता प्रख्यात बन्जाडेले गाई गोरू व्यवस्थापन गर्ने नाममा यस्तो गरिनु गम्भीर अपराध भएको बताएका छन् । स्थानीय भरत पोखरेलले नगरपालिका र कर्मचारीले यसको जवापल दिनुपर्ने बताएका छन् ।

नेकपा एमाले सिद्धार्थनगरका सचिव तथा भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले जिउँदो गाईलाई रगताम्य गराउँदै बाँधेर ट्रकले तानेर लैजान नपाइने बताए । उनले यसबारे नगरप्रमुखले जवाफ दिनुपर्ने बताए ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खानले दोषी कर्मचारीलाई कारवाही गर्ने दावी गरे ।

बिज्ञापन