राष्ट्रिय समाचार

३८ वर्षपछि पूरा हुँदै कालिकोटे जनताको चिलगाडी हेर्ने सपना

बिज्ञापन

सुर्खेत । सुनथराली विमानस्थल सञ्चालनमा ल्याउने झन्डै चार दशकदेखिको कालिकोटे जनताको सपना अब भने पूरा हुने भएको छ । सुनथराली विमानस्थल निर्माण अन्तिम चरणमा पुगेसँगै कालिकोटे जनताको चलिगाडी हेर्ने सपना पूरा हुने भएको हो । विमानस्थल आउँदो माघ १५ गते हस्तान्तरण गरिँदैछ ।

बिज्ञापन

जिल्लाको नरहरिनाथ गाउँपालिकाको कोटबाडास्थित सुनथराली विमानस्थलमा ३८ वर्षपछि कालोपत्रे गरिएको छ । रनवेको काम सकिएपछि विमानस्थल हस्तान्तरण गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

२०४२ सालबाट निर्माण थालिएको विमानस्थलमा २०७३ माघ २९ गते परीक्षण उडान भएको थियो । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको पालामा परीक्षण उडान गरिएको थियो ।

सशस्त्र द्वन्द्वका वेला विमानस्थल निर्माणको ठेक्का लिन कोही ठेकेदार तयार भएनन् । जसले गर्दा विमानस्थल निर्माण लामो समय अलपत्र परेको थियो । विमानस्थल निर्माणकै क्रममा २०५८ सालमा धादिङ जोगीमाराका १७ सहित ३५ जना मजदुरको मृत्यु भएको थियो । १८ जना कोटबाडाकै स्थानीय परेकान थिए । उनीहरूलाई त्यसै विमानस्थलमा गाडिएको थियो ।

त्यसयता पूर्ण रूपमा बन्द रहेको विमानस्थलमा कालोपत्रे गर्न २०७५ साल साउनमा श्याम एण्ड शंकर जेभीले ठेक्का लिएको थियो ।

लामो समयपछि ‘चिलगाडी’ हवाईजहाज चढ्न पाउने भएपछि कोलिकोटवासीमा खुशी देखिएका छन् । नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्टका अनुसार धावन मार्ग ६९० मिटरको रहेको छ ।

बिज्ञापन