राष्ट्रिय समाचार

छानबिनमा करोडपति कर्मचारीहरू

बिज्ञापन

काठमाडौं । नेपालको निजामती प्रशासनमा पद तल्लो दर्जाको भए पनि केही कर्मचारीको कमाई उच्च दर्जाका कर्मचारीको भन्दा धेरै छ । मालपोत, यातायात व्यवस्था, बैदेशिक रोजगार विभागमा वर्षौसम्म कार्यरत केही कर्मचारीहरूको अकुत आर्जन गरेका छन् । त्यस्ता केही कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि उनीहरू दौडधुपमा लागेका छन् ।

बिज्ञापन

खासगरी, मालपोतका खरिदार नासुहरूको अकूत सम्पत्तिका बारेमा धेरै नै उजुरी परिसकेपछि अख्तियारले गम्भीरतापूर्वक छानबिन थालेको हो । मालपोतका मात्र होइन, जग्गा नापजाँचमा दायाँबायाँ गर्ने नापी कार्यालयका सर्वेक्षक र नापी अधिकृतहरूले पनि अस्वभाविक सम्पत्ति आर्जन गरेका छन् ।

अख्तियार स्रोतका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्ला, झापा, बिराटनगर, इटहरी, जनकपुर, वीरगंज, हेटौंडा, चन्द्रनिगाहपुर, पोखरा, रुपन्देही, दाङ, नेपालगञ्ज, धनगढी जस्ता मालपोत कार्यालयका खरिदार, नासु र अधिकृतहरूका साथै नापीका सर्वेक्षक र नापी अधिकृतहरुको सम्पत्ति सुक्ष्म ढंगले छानबिन गरिरहेको छ ।

५ वर्षभित्र अवकाश भएका मालपोत, यातायात र बैदेशिक रोजगार विभागका खरिदार नासु र अधिकृतहरूको समेत छानबिन भइरहेको छ । मालपोतबाट पुँजीगत लाभकरछलीदेखि कित्ताकाट रोक्का हुँदा पनि आनाको लाख घुस लिएर कित्ताकाट गर्ने मालपोत कार्यालय र नापीका कर्मचारीको छानबिन गरिरहेको छ ।

काठमाडौं उपत्यकाका मालपोत कार्यालयदेखि तराईका मालपोत कार्यालयमा बसी सानोठिमीमा रिमोटवाला बंगला र जग्गाजमिन समेत जोड्न सफल भएका मालपोत अधिकृत दीपेन्द्र झाको अख्तियारले बयान लिने तयारी गरेको छ । अकूत सम्पत्ति आर्जन गर्ने मालपोतका खरिदार, नासु र अधिकृतहरूका बिरुद्ध छानबिन गर्न विज्ञका रुपमा अख्तियारले उपसचिव केदार सिलवाललाई परिचालन गरेको छ । उनले मालपोत र नापीका अर्बपतिहरूको सूची तयार गरी छानबिन सुरु गरेका छन् ।

ललितपुरबाट २ वर्षअघि अवकाश पाएका श्याम सिलवाल क्षेत्रीदेखि मोहन स्वाँर लगायतको अकूत सम्पत्तिका बारेमा पनि उजुरी परेको छ । अकूत सम्पत्ति आर्जन गर्नेहरूमा मालपोत अधिकृत बद्री ढकालका बिरुद्ध पनि अख्तियारले छानबिन गरिरहेको छ । मालपोतका अर्बपति खरिदार, नासु र अधिकृतहरूको उजुरी आयुक्त सिलवाललाई चिनेको छु भन्दै तामेलीमा हालिदिने भनेर बिचौलिया प्रमोद खड्काले मोलमोलाइ गर्दैआएका छन् ।

मालपोत कार्यालयमा बसी अकूत सम्पत्ति आर्जन गरेका चावहिल मालपोत कार्यालयका खरिदार लक्ष्मण बस्नेतका बिरुद्ध अख्तियारले २०७८ फागुन २९ गते विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । १० वर्षदेखि चावहिल मालपोत कार्यालयमा कार्यरत रही गैरकानुनी रुपमा छुट जग्गा दर्ता गर्नेदेखि कित्ताकाटमा आनाको एक लाख घुस खाई अथाह सम्पत्ति आर्जन गरेका बस्नेतसहित ३ जनालाई अख्तियारको टोलीले २०७८ फागुन १२ मा १ लाख ३५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । मालपोत अधिकृत बद्री ढकालका बिरुद्ध पनि अख्तियारले छानबिन गरिरहेको छ ।

लक्ष्मण बस्नेत अर्बपति खरिदारमा पर्दछन् । त्यस्तै मालपोतका अर्बपति नासुमा लक्ष्मण भट्टराई पनि एक हुन् । डिल्लीबजार मालपोत कार्यालयमा १५ वर्षदेखि काम गरेका अर्बपति खरिदार लक्ष्मण भट्टराईको बारेमा अख्तियारले छानबिन गरेको थियो ।

तर, उनले सम्पत्ति सबै अर्कैको नाममा राखेका कारण अख्तियारले मुद्दा दर्ता गर्न आवश्यक प्रमाण जुटाउन नसकेकाले उनले उन्मुक्ति पाएका छन् । उनी समायोजनमा अन्यत्रै सरुवा हुने र घुस खान नपाउने भएपछि निजामती सेवा ऐनको दफा २४(घ) अनुसार विशेष बढुवा फर्मसमेत नभरी गरी खरिदारमै बसेका थिए ।

त्यसैगरी, बैदेशिक रोजगार विभागका अर्बपति अधिकृत प्रदीप ढकालका बारेमा पनि अख्तियारले अनुसन्धान गरिरहेको छ । उनी बीचमा १ वर्षबाहेक ११ वर्षदेखि बैदेशिक रोजगार विभागमा कार्यरत छन् । बैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय ताहाचल र विभागमै उनको ११ वर्ष बितेको छ । श्रम मन्त्रालयका उपसचिव र सहसचिवसम्म सेटिङ मिलाउन माहिर खेलाडीका रुपमा उनी चिनिन्छन् । विभागमा कार्यरत हुँदा पनि ढकालले नै काठमाडौं कार्यालयमा समेत सेटिङ मिलाउने र मासिक दसौं लाख घुस संकलन गर्ने गरेको स्रोत बताउँछ । ढकाललाई बैदेशिक रोजगार विभागभित्र सेटिङका माष्टरमाइन्ड नै मानिन्छ ।

बैदेशिक रोजगार विभागमा नासु पेशल कोइराला १० वर्षसम्म सबै सेटिङ मिलाएर बसेका थिए भने विपुल पराजुली पनि अर्का डनका रुपमा थिए । पछिल्लो समय भने प्रदीप ढकाल बैदेशिक रोजगार विभागका सेटिङ गर्ने मुख्य पात्र हुन् ।

त्यसैगरी जनसम्पर्क कार्यालयका रुपमा सबैभन्दा बदनाम मानिएको यातायात कार्यालयहरूमा सेटिङबिना सवारीअनुमति पत्र पाउन मुस्किल पर्छ । सेटिङ नगर्नेहरूलाई लिखितमै फेल गराउने, पास भइहालेमा ट्रायलमा बिग्रेको सवारी साधन दिएर फेल गराउने काम हुन्छ । सेटिङबाट गएको छ भने कन्डिसन ठीक भएको सवारी साधन दिने गरिन्छ ।

ड्राइभिङ सेन्टरका संचालकहरूसँग मिलेर यातायातका कर्मचारीहरूले सेटिङ मिलाउने गर्छन् । भक्तपुरको इजीवे ड्राइभिङ सेन्टर, एकान्तकुना ललितपुरको सुजुकी ड्राइभिङ ट्रायल सेन्टरले राजन क्षेत्रीसँग मिलेर सेटिङ गर्दैआएका छन् । अख्तियारको छानबिन प्रभावित नभए धेरै करोडपति कर्मचारीहरू जेल जाने निश्चित छ ।

बिज्ञापन