घटना समाचार

यति विमान दुर्घटना : परिवारका चार सदस्य गुमाउँदाको पीडा

बिज्ञापन

पर्वत : बिहादी गाउँपालिका–५ उराम पोखरा घर भई हाल ललितपुरको इमाडोलमा बस्थ्यो, युवराज शर्माको परिवार। आमा ६३ वर्षीया जमुना शर्मा, ४० वर्षीय युवराज, श्रीमती ३६ वर्षीया सरु शर्मा, उनीहरूका छोरी १३ वर्षीया आरुबी र छोरा पाँच वर्षीय बेबी। 

बिज्ञापन

युवराज एक संस्थामा काम गर्थे। सरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘एयर ट्राफिक कन्ट्रोल’ (एटीसी) अधिकृतको रूपमा कार्यरत छिन्। काठमाडौं बसाइ भए पनि उनीहरू​ दशैँतिहार जस्ता चाडबाड र विशेष अवसरमा गाउँमा आउने गर्थे।

माघे संक्रान्ति मनाउन जाने क्रममा आइतबार जमुना, युवराज, आरुबी र बेबी यति एयरलाइन्सको विमानमा बसे। सरु आफैँ एयरपोर्टमा कार्यरत रहेकाले विमानसम्मै पुगेर परिवारका चार सदस्यलाई सुखद यात्राको कामनासहित बिदा गरिन्। सासू आमा, श्रीमान् र छोराछोरीलाई बिदाइ गरेपछि सरु आफ्नो काम सम्हाल्न ‘एयर ट्राफिक कन्ट्रोल रुम’ मा पुगिन्।

एटीसी त्यो ‘स्टेसन’ हो जहाँ उड्न लागेको जहाज होस् वा उडेर बस्न लागेको अथवा आकाशमा उडिरहेको नै किन नहोस्, जहाजको सबै अवस्थाको बारेमा थाहा हुन्छ। ‘एटीसी’ को काम नै जहाजहरूलाई नियन्त्रणमा राख्ने, जहाज उडान र अवतरणका लागि अनुमति दिने, एयरपोर्टमा रहेका अवरोधलाई ‘क्लियर’ गराउने लगायत हुन्छन्। सबैभन्दा महत्त्वपूर्ण भनेकै उडिरहेको जहाजसँग सम्पर्कमा रहने हो। 

सरुको परिवारका चार सदस्य चढेको यति एयरलाइन्सको जहाज काठमाडौंबाट उडान भरेपछि पोखराको आकाशमा आइपुग्यो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ‘एटीसी’ सँग अवतरणका लागि अनुमति पनि लिइसकेको थियो। १० देखि २० सेकेण्डभित्र जहाजले जमिन चुम्नेवाला थियो। तर एकाएक जहाज कोल्टिँदै विमानस्थलको बाटो छाड्यो, हेर्दा हेर्दै सेती नदीको खोचतर्फ लाग्यो। केही क्षणमा नै सेती खोचको डिलमा बजारियो, एउटा पखेटा डिलमा नै झर्‍यो, ‘बडी’ खोँचमा खस्यो अनि टाउकोतिरको केही भाग उछिट्टिएर खोँचको अर्को डिलमा पुग्यो। 

‘ल्याण्ड’ हुनै लागेको जहाजको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ‘एटीसी’ सँगको सम्पर्क टुट्यो। जहाज समस्या रहेको थाहा भइहाल्यो, केही क्षणमा फेसबुकदेखि टिकटकसम्म जल्दै गरेको विमानको ‘लाइभ भिडियो’ आइहाले। यति एयरलाइन्सको उक्त जहाजको सम्पर्क ‘एटीसी’ सँग नरहेको कुरा विमानस्थलका कर्मचारीमाझ फैलियो। लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एटीसीले पनि विमानका बारेमा थाहा पाइहाल्यो। सरुले सासू, श्रीमान् र छोराछोरी सवार विमान दुर्घटनामा परेको सुरुमा नै खबर पाइहालिन्। 

पुर्ख्यौली ली घरका लागि विदाइ गरेको केही मिनेटमा नै परिवारका सदस्यहरू सदाका लागि बिदा भए। उनलाई त्यो क्षण सपना जस्तै लाग्यो। ‘एटीसी’ मा रहेका अन्य कर्मचारीहरूले सरुको अवस्था थाहा पाइहाले। विमानस्थलका कर्मचारी मिलेर सरुलाई इमाडोलमा रहेको घरमा लगे, उनको रेखदेखमा लागे। दुर्घटनालगत्तै निकै तनावमा रहेकी उनलाई सम्झाई बुझाई गर्ने काम भइरहेको नाताले छोरा पर्ने बिहादीकै रोशन तिवारीले बताए।

‘अण्टीलाई हामीले निकै सम्झाइ बुझाइ गरिरहेका छौँ। सबै जना उहाँको हेरविचारको लागि खटिरहेका छौँ। हिजो उहाँलाई धेरै कठिन भयो। साँझ अबेरसम्म पनि सान्त्वना दिएपछि अलि ठिक भएको छ’, उनले भने, ‘आफ्नो परिवारका मान्छे चढेको जहाज दुर्घटनामा परेको कुरा सुरुमै थाहा पाइहाल्नुभयो। यही कारण पनि उहाँलाई पीडा लामो भएको छ।’

पहिचान भएर पोस्टमार्टम सकेपछि सोमबार नै शव आफन्तलाई जिम्मा लगाउने पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले बताएको छ। संकलित सबै शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा नै राखिएको छ। ६८ जना यात्रु र चालक दलका चार जना सदस्य गरी ७२ जना बोकेर उडेको यति एयरको एआरटी ७२ विमान पोखरा महानगरपालिका–१५ नयाँ गाउँस्थित सेती नदी खोचमा दुर्घटना परेको हो। दुर्घटनामा परेकामध्ये ६९ जनाको शव निकालेर अस्पतालमा लगिएको र बाँकी तीन वटा शव भीरमा रहेकाले सोमबार बिहानैदेखि निकाल्ने प्रयास भइरहेको छ।

बिज्ञापन