राजनीति

‘राज्यले समानताको सिद्धान्तलाई अबलम्बन गरी अघि बढ्नुपर्छ’

बिज्ञापन

सुर्खेत । प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले नेपाली समाजलाई सद्भावयुक्त बनाउन राज्य र समाज सँगसँगै अघि बढ्नुपर्ने बताएका छन् । शनिबार कर्णाली उत्सवको चौथो संस्करणको पहिलो सत्र ‘दलित दलिल’मा वक्ताको रुपमा सहभागी भएका उनले दलित र भेदभावमा परेको अन्य समुदायको आत्मसम्मानका लािग भेदभावयुक्त समाजको अन्त्य गर्नुपर्ने बताएका हुन् ।

बिज्ञापन

उनले भने, ‘यहाँ विभेदकै कारण मानिस मारिएको अवस्था छ, यस्ता विभेद अन्त्य गर्न राज्यले समानातको सिद्धान्तलाई अबलम्बन गरी अघि बढ्नुपर्छ । हामीले हाम्रो समाजलाई सदभावयुक्त बनाउनुर्छ र यसका लागि राज्य र समाज सँगसँगै अघि बढ्नुपर्छ ।’

सांसद विश्वकर्माले दलित समुदायको समृद्धिका लागि उनीहरुको सीपलाई आधुनिकीकरण गर्नुपर्ने बताएका छन् । कर्णालीको पछि परेका हरेक समुदायभित्र पनि दलित अझ पछि परेकाले उनीहरुको सामाजिक, आर्थिक विकासका लागि राज्य गहन भएर लाग्नुपर्नेमा उनले जोड दिए ।

सांसद विश्वकर्माले भने, ‘केही तथ्याङ्कले कर्णालीमा २९ प्रतिशत दलित भएको दावी गरेका छन्, कर्णालीको कुल जनसंख्यामा एउटा महत्वपूर्ण हिस्सा दलितको छ । यी समुदायको सीपलाई आधुनिकीकरण र बैज्ञानीकरण नगरी उनीहरुको समृद्धि हुन सक्दैन ।’

उनले कर्णालीका दलित र प्रदेशको समग्र समृद्धिका लागि राज्य गम्भीर भएर लाग्नुपर्नेमा जोड दिए । अहिलेको निर्वाचण प्रणाली र राजनीतिक विभेदका कारण नीति निर्माण गर्ने ठाउँमा समेत दलितको प्रतिनिधित्व हुन नसकेको उनको भनाइ थियो ।
उनले भने, ‘हामीले यो अहिलेको निर्वाचन प्रणालीबाट जनअपेक्षा पूरा गर्न सक्दैनौै, निर्वाचन प्रणाली सच्याएपछि मात्र विविधतायुक्त नेपालीको साँचो प्रतिनिधित्व हुन्छ ।’

सत्रमा वक्ताका रुपमा सहभागी कर्णाली प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री उर्मिला विश्वकर्माले दलित समुदायले आफ्नो जिविकाका लागि आत्मनिर्भर हुनुपर्ने बताइन् । उनले भनिन्, ‘अहिले दलितले खलो माग्ने प्रचलनको अन्त्य गर्नका लागि दलितसम्बन्धि बनाएका ऐनहरुलाई संशोधन गर्नुपर्छ । दलितले खानाका लागि खलो माग्ने होईन, आफैंले केही पाईला चाल्नुपर्दछ ।’

सरकारमा आफ्नो सहभागितालाई अर्थपूर्ण सहभागिताका रुपमा हेर्नुपर्ने उनको भनाइ छ । उनले कर्णालीमा महिला र दलितको प्रतिनिधित्व ढोकाबाट छिर्न नसकेपछि राज्यमन्त्री पदमार्फत् झ्यालबाट भित्र पसेको स्वःटिप्पणी गरिन् । ‘ढोकाबाट छिर्न नसकेको प्रतिनिधित्व झ्यालबाट छिरेको छ’ उनले भनिन् ।

कर्णाली प्रदेशमा यसअघि पनि महिलाको सहभागिता मन्त्रिपरिषदमा नभएपछि अदालतमा रिट परेको थियो ।
सत्रका अर्का वक्ता नेपाल सरकारका पूर्वसचिव डा. मानबहादुर बिकेले अहिलेको कानुन र अभ्यासले सरकारी सेवामा दलितको उचति प्रतिनिधित्व नहुने बताए । कर्णालीका सन्दर्भमा सरकारले दलित समुदायलाई राज्यको मुलधारमा नल्याएसम्म प्रदेश माथि नउठ्ने उनले बताए ।

बिज्ञापन