Sudur Pradesh News

सुदूरपश्चिममा मानवअधिकार उल्लंघनका घटनामा बृद्धि

बिज्ञापन

धनगढी । सुदूरपश्चिम प्रदेशमा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनामा वृद्धि आएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालयको तथ्यांकअनुसार सन् २०२१ को तुलनामा सन् २०२२ मा मानवअधिकार उल्लंघनका पाँच सय सात बढी घटना भएका छन् ।

बिज्ञापन

इन्सेकले सार्वजनिक गरेको तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशमा सुदूरपश्चिम प्रदेशमा राज्य पक्षबाट २१ र अन्य पक्षबाट ६ सय ८५ जना गरी जम्मा ७ सय ६ वटा मानवअधिकार उल्लघनका घटना सार्वजनिक भएका थिए भने सन् २०२२ मा राज्य पक्षबाट १५ र गैरराज्य पक्षबाट एक हजार एक सय ७७ घटना भएका छन् ।

इन्सेक प्रतिवेदन अनुसार सन २०२२ मा प्रदेशमा राज्यपक्षबाट एक महिला र १४ पुरुष पीडित भएका छन भने गैरराज्यपक्षबाट एक हजार ७९ महिला र ९८ पुरुष पीडित भएका छन् । गत वर्ष सन २०२१ मा २०२१ मा प्रदेशमा गैरराज्य पक्षबाट छ सय २७ महिला र ५८ पुरुष पीडित भएका थिए भने राज्यपक्षबाट दुई महिला र १९ पुरुष सहित २१ जना पीडित भएका थिए ।

मानवअधिकारको स्थितिसूचक प्रतिवेदनले प्रदेशमा मानव अधिकार हननका घटनामा पीडित हुनेहरूमा महिला र बालबालिकाको संख्या सबैभन्दा अधिक रहेको देखाएको छ । प्रतिवेदनमा उल्लेख छ– ‘सन २०२२ मा सुदूरपश्चिम प्रदेशमा भएका मानवअधिकार हननका घटनामा नौ सय ५६ महिला पीडित भए ।’ सन् २०२१ मा सुदूरपश्चिम प्रदेशमा भएका मानवअधिकार हननका घटनामा पाँच सय ३३ जना महिला पीडित भएका थिए । 

प्रतिवेदन अनुसार सन् २०२२ मा प्रदेशमा सबैभन्दा बढी घरेलु हिंसाका घटनामा आठ सय ७६ माहिलाहरू पीडित भएका छन् । 

त्यस्तै बलात्कारका ५८, बलात्कार प्रयासका घटनामा आठ, यौन दुव्र्यवहारको घटनामा दुई जना, बहुविवाहको घटनामा १०, प्रसुति सेवा घटनामा एक र कथित बोक्सीको घटनामा एक महिला पीडित भएको अभिलेखमा उल्लेख छ । 

सन २०२१ मा घरेलु हिंसाका घटनामा चार सय ४० जना महिला पीडित भएका थिए । बलात्कारका घटनामा ३७ जना, बलात्कार प्रयासमा १४ जना, मानव बेचबिखन प्रयासमा छ जना, बोक्सीको आरोपमा एक जना, बहुविवाहबाट २३ जना र यौन दुव्र्यवहारका घटनामा एक जना महिला पीडित भएका थिए । 

सन २०२२ मा प्रदेशमा १३ महिलासहित ३० जनाको हत्या भएको छ । सन २०२१ मा प्रदेशमा १२ महिलासहित ३४ जनाको हत्या भएको थियो । सन २०२२ मा प्रदेशमा जातीय विभेदका घटनामा पाँच जना पीडित भए । सन २०२१ मा दुई जना पीडित भएका थिए ।  

त्यस्तै, सन २०२२ मा सुदूरपश्चिम प्रदेशमा परिवारजनबाटै महिलाको हत्याका घटना उल्लेख्य रहेको प्रतिवेदनमा भनिएको छ । ‘परिवारजनबाट महिलामाथि हुने हत्या तथा हिँसाको उजुरी हरेक वर्ष बढ्ने गरेको छ । कतिपय परिवारजनबाट हुने घटनालाई गुपचुप राख्ने वा गाउँ समाजमै मिलाइन्छ’ प्रतिवेदनमा भनिएको छ ।

सुदूरपश्चिम प्रदेशमा बाल अधिकार हननका घटनामा पनि कमी आउन सकेको छैन । इन्सेकको प्रतिवेदन अनुसार सन् २०२२ मा एक सय एक जना बालिका पीडित भएको अभिलेख रहेको छ । सो अवधिमा बलात्कारका घटनाा ६९, यौन दुव्र्यवहारका घटनामा २६, बेचविखनको प्रयासका घटनामा छ जना बालिका पीडित भएका छन् । सन २०२१ मा ७९ जना बालिका र दुई बालक हिंसाका सिकार भएका थिए । 

इन्सेकको यो प्रतिवेदन अनुसार सन् २०२२ मा मानव अधिकार हननका घटना हुनेमा सुदूरपश्चिम प्रदेश तेस्रो स्थानमा रहेको छ । दर्ता भएका मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना सबैभन्दा बढी हुने प्रदेश लुम्बिनी रहेको छ । 

‘सन २०२२ को मानवअधिकार हननको अवस्था विश्लेषण गर्दा नागरिक तथा राजनीतिक अधिकारमा सुधार हुनुभन्दा बढेको देखिन्छ’ कार्यक्रममा इन्सेकका सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले भने– ‘अझैपनि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको अवस्था थप कमजोर छ ।’

‘यो वर्ष सुदूरपश्चिम प्रदेशका कूल ८८ स्थानीय तहमध्ये दश स्थानीय तहमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख भएनन्’ प्रतिवेदनमा भनिएको छ –‘धनगढी उपमहानगरपालिकामा सबैभन्दा बढी दुई सय सात जना पीडित भएका छन्’

यस्तै, ५२ स्थानीय तहमा एकदेखि १० जना पीडित, १६ स्थानीय तहमा ११ देखि २० जना पीडित, तीन स्थानीय तहमा २१ देखि २९ जना पीडितको भएका छन् भने ३० जनाभन्दा बढी पीडित भएका सात स्थानीय तह रहेको अभिलेखमा उल्लेख छ । 

बिज्ञापन