राष्ट्रिय समाचार

राष्ट्रपति निर्वाचनमा विद्युतीय मेसिन प्रयोग नहुने

बिज्ञापन

काठमाडौँ, फागुन १० गते । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा समेत विद्युतीय मतदान उपकरण (इलेक्ट्रोनिक भोटिङ मेसिन ‘इभीएम’)को प्रयोग नहुने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा थोरै सङ्ख्यामा मतदाता रहने हुँदा इभीएमको प्रयोग गर्न सकिने सम्भावना थियो । 

बिज्ञापन

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन २०७९ मा इभीएमको प्रयोगबारे राखिएको जिज्ञासामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भन्नुभयो, “पुरानो उपकरण काम लाग्ने अवस्थामा छैन, नेपालीले बनाएको प्रमाणीकरण भएको छैन, नयाँ खरिद गरेर प्रयोग गर्ने सम्भावना देखिन्न ।” राष्ट्रपतिको निर्वाचन फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदै छ । 

गत वैशाख ३१ मा सम्पन्न स्थानीय तह निर्वाचन र मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा आयोगले इभीएमको प्रयोगको सम्भाव्यताबारे अध्ययनसमेत गरेको थियो तर सम्भाव्यता अध्ययनका लागि गठन गरिएको समितिले कानुनी अड्चन रहेको जनाएपछि स्थानीय र प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा इभीएम प्रयोगको सम्भावना सकिएको थियो । दुवै निर्वाचनमा इभीएम प्रयोगका लागि ठूलो धनराशि खर्चिनुपर्ने हुन्थ्यो । 

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा भने ८३१ मतदाता छन् । मतदान स्थलसमेत एउटै निर्धारण गरिएको छ । सीमित सङ्ख्यामा मतदाता रहने र एकै स्थानमा दुईवटा मतदान केन्द्र रहने हुँदा इभीएमको प्रयोग सम्भव देखिएको थियो । मत बदर नहुने, मतदान र गणना प्रक्रिया छिटोछरितो हुने हुनाले इभीएम खरिद महँगो भए पनि प्रयोग सहज हुन्छ । 

बिज्ञापन