राष्ट्रिय समाचार

पाल्पाका नागरिकले एक घण्टामै नागरिकता पाउने

बिज्ञापन

पाल्पा : भर्खरै मात्र पाल्पामा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बढीमा एक घण्टामै नागरिकता पाउने व्यवस्था मिलाउने बताएका छन्।

बिज्ञापन

सोमबार पाल्पाका पत्रकारसँगको परिचयात्मक कार्यक्रममा उनले पाल्पाका नागरिकले अबदेखि एक घण्टाभित्रमै नागरिकता पाउने बताएका हुन्।

पाल्पा जिल्ला कुनै भारतीय कुनै सिमानामा पर्दैन। दुई नम्बरी गर्नेहरु प्रायः आउँदैनन्। सम्बन्धित वडाध्यक्षले आवश्यक सोधीबुझी सिफारिस गरेका हुन्छन्। कागजी प्रक्रिया पूरा गरेर आएका कुनैपनि नागरिकलाई समयमै नागरिकता उपलब्ध गराउने उनले बताए। कागज पत्र ठीक भएका नागरिकले विगतका दिन जस्तो दिनभरिनै पर्खनु पर्दैन। तर शंकास्पद वा कागजपत्रमा थप केही बुझ्न पर्ने अवस्था भएमा भने समय लाग्ने प्रजिअ बास्तोलाले बताए। 

राहदानीका लागि फोटो खिच्ने कामलाई पनि द्रुत बनाउने उनले बताए। ‘टोकन लिएर तीन महिनासम्म फोटो खिच्नकै लागि पर्खनुपर्ने अवस्थ रहेछ’, उनले भने, ‘अब कार्यालय आउने सबै सेवाग्राहीको सोही दिन फोटो खिचेर पठाउने गरी कर्मचारीलाई परिचालन गर्नेछु।’

६० जनालाई मात्र टोकन दिने प्रणालीको अन्त्य गर्ने र कार्यालयमा आवश्यक कागजपत्र मिलाएर आएका कुनै पनि व्यक्ति फेरि फोटो खिच्न आउनेगरी फर्कन नपर्ने उनले बताए। ‘राती अबेरसम्म बसेर पनि कर्मचारीले कार्यालय आइपुगेका सेवाग्राहीको काम गर्नेगरी व्यवस्था मिलाइने छ। राहदानीको लागि फारम व्यक्तिले आफ्नो अनुकूलताअनुसार भर्न सक्ने र यसअघि टोकन लिइसकेकाहरूको काम सकेपछि यो व्यवस्था मिलाइने छ’, उनले भने।

पाल्पाको विकास निर्माणमा भइरहेका कामबारे विवरण मागिररहेको उनले बताए।  अपूर्ण आयोजनका अवस्थासम्बन्धी जानकारी लिने काम भइरहेको छ। सम्पर्कमा नआएका ठेकेदारलाई  सम्पर्का आउन केही दिनको समय दिने र नआएमा आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने उनले बताए। ‘आयोजनाको भौतिक प्रगति के छ? कति रकम भुक्तानी भइसक्यो, कति काम सम्पन्न भयो, किन काम पूरा नभएको हो यसबारे सम्बन्धित निकायलाई सात दिन भित्र रिपोर्ट उपलब्ध गराउन भनिरहेको छु’, उनले भने।  प्राप्त रिपोर्टका आधारमा निर्णय लिएर विकास निर्माणका कामलाई तीव्रता दिने उनले बताए।

पत्रकारलाई भनेकै समयमा सूचना उपलब्ध गराउन उनले आफ्ना मातहतका कार्यालयलाई भनेका छन्। प्रक्रिया मिलाएर मात्र होइन। फोनबाट मागेपनि पत्रकारलाई तत्काल सूचना उपलब्ध गराउनका लागि निर्देशन दिने उनले बताए। ‘सूचना लुकाउन पाउदैंनौ। जे गर्छौ त्यो देखाउनुपर्छ। काम पनि देखाउन हो। सञ्चारमाध्यममा अनुहार पनि देखाउने हो’, उनले भने। तर सुरक्षासम्बन्धी समाचारमा भने सबै पक्ष संवेदनशील हुनुपर्ने उनले बताए।

पत्रकारले राम्रो काममा साथ दिनुपर्ने र नराम्रो काममा खबरदारी गर्नुपर्ने प्रजिअ बास्तोलाले बताए। पत्रकारको साथ सहयोगले आफूहरू सफल हुने र आम नागरिकले प्रभावकारी सेवा पाउने प्रजिअ बास्तोलाले बताए।

यसअघि डडेलधुरा, धनुष र बर्दियामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी समालेका प्रजिअ बास्तोला केही दिनअघि मात्र पाल्पा सरुवा भएर आएका हुन्।

बिज्ञापन