आस्था /आध्यात्म

सन्त निरंकारी मण्डल नेपाल, धनगढीद्वारा विशाल नारी सत्संग सम्पन्न, गुरुको चिनारी ब्रम्हज्ञानबाट हुने गर्दछ– डा. उर्मिल जिन्दल

बिज्ञापन

धनगढी, १ चैत्र । सन्त निरंकारी मण्डल नेपाल, धनगढीद्वारा विशाल नारी सत्संग गत फागनु २६ गते सम्पन्न भएको छ । सन्त निरंकारी सत्संग भवन धनगढीमा आयोजित उक्त विशेष नारी सत्संग समारोहमा दिल्लीबाट आउनु भएकी केन्द्रीय ज्ञान प्रचारक डा. उर्मिल जिन्दल जीले मानव जीवनमा ब्रम्हज्ञानको ठुलो महत्व रहेको बताउँदै गुरुको चिनारी ब्रम्हज्ञानबाट हुने गर्दछ र सेवा, सत्संग, सुमिरण हरपल गरिराख्नु पर्ने बताउँनुभयो ।

बिज्ञापन

उहाँले भन्नुभयो कि आज हामीलाई ब्रम्हज्ञान सत्गुरुको कृपाबाट प्राप्त भएको हो । जुन समय हामीले ईश्वरलाई चिनेका थिएनौ, अनेकौं द्वार–द्वारमा भट्कि रहेका थियौं, तर निराकार त हाम्रो वरिपरि रहेछ, अंग–संगमा रहेछ, सर्वव्यापक रहेछ त्यसको जानकारी सत्गुरुले गराउनु भयो । अर्जुन ३२ वर्षसम्म श्रीकृष्णसंग रहेर पनि निराकारलाई चिन्न सक्नु भएन तर जब श्रीकृष्णले अर्जुनलाई ब्रम्हज्ञान दिनुभयो तब उनलाई साक्षात निराकारको दर्शन भयो । हामीले कहिल्यै सुनेका थिएनौ कि धनगढी हरायो, नेपाल हरायो । यसरी निराकार कहिल्यै हराउन सक्दैन, हराएको त सत्गुरु छ, हामीले पूर्ण सत्गुरलाई खोज्नु छ । सत्गुरु कुनै शरीरको नाम होइन, सत्गुरु ज्ञान हो । कसैको बारेमा त्यति कै जान्न–बुझ्न सकिदैन जबसम्म त्यसले आफ्नो बारेमा वा त्यसको बारेमा अरु कसैले बताउँदैन । जस्तै डक्टरको चिनारी त्यसको सिप वा ज्ञानबाट हुने गर्दछ भने गुरुको चिनारी ब्रम्हज्ञानबाट हुने गर्दछ । जसले बिना शर्त पूर्ण निराकारको दर्शन गराउँछ । यही पूर्ण सत्गुरु हो । जब पूर्ण सत्गुरु हाम्रो जीवनमा आउँछ भने ब्रम्हज्ञानको प्राप्ति हुने गर्दछ । आज हामी ठुला भाग्यशाली छौ कि पूर्ण सत्गुरु हामीाई प्राप्त भएको छ ।

उहाँले ‘हरदेव बाणी’ को उल्लेख गर्दै भन्नुभयो कि हामीले जान्नु पर्ने दुई कुराहरु रहेका छन् एक त अवस्था रहेको छ जतिखेर हामीले ब्रम्हज्ञान लिएका थिएनौं, निराकार–परमात्मालाई जानेका थिएनौ । जब हामीमाथि सत्गुरुको कृपा भयो तब पूर्ण सत्गुरुको शरण हामीलाई प्राप्त भयो र पूरा गुरुको जानकारी पनि त्यतिखेर नै भयो । संसारमा गुरु धेरै रहेका छन् र ती प्रत्येक गुरुको एउटा सिमा रहेको हुन्छ तर जो पूर्ण सत्गुरु हुन्छ त्यसको कुनै सिमा हुँदैन । यसले हाम्रो अनन्तसंग मेल गराउँछ । यदि जीवनमा पूर्ण सत्गुरु प्राप्त भएन भने निराकार पनि हामीलाई प्राप्त हुन सक्दैन । यदि कसैले ईश्वरलाई मिल्ने साधन, तौर–तरीका बताउँछ तर त्यसले प्रत्यक्ष ईश्वरको दर्शन गराउँदैन भने त्यस्ता गुरुबाट मानव जीवन मुक्ति असम्भव छ ।

उहाँले एउटा उदाहरण दिदै भन्नुभयो कि यदि कुनै मान्छे हाम्रो अगाडि बसेको छ भने त्यसलाई हामी राम्रोसंग चिन्न सक्छौ, त्यसको हुलियाको बर्णन गर्न सक्छौ कि त्यो मान्छे कस्तो छ तर जब हामी आँखा बन्द गरेर त्यस मान्छेको सुमिरण गर्छौ, त्यसलाई कहिल्यै प्रत्येक्ष रुपबाट देखेकै छैनौ भने जति सुमिरण गरेपनि त्यो मान्छेलाई हामी सम्झन सक्दैनौ । यस प्रकार जसले केवल ईश्वरलाई प्राप्त गर्ने साधन बताउँछ भने त्यो साधु पनि अधुँरो नै हुन्छ । त्यसबाट मानव मुक्ति हुन सक्दैन किनभने त्यो त मुक्तिसंग जोडिएकै छैन भने कसरी मुक्ति पथलाई मार्गदर्शन गर्न सक्छ । जो स्वयं बन्धनमा छ भने त्यसले कसरी अरुलाई बन्धनबाट छुटाउन सक्छ ? तर जसको हात खुल्ला छभने त्यसले हामीलाई पनि बन्धनबाट मुक्त गराउन सक्छ । यस प्रकार पूण गुरु कुनै बन्धनमा हुँदैन र हाम्रो बन्धनलाई काटेर मुक्ति गर्छ ।

आज हामीलाई पूर्ण सत्गुरु प्राप्त भएको छ किनभने पूर्ण सत्गुरु हामीलाई प्राप्त भएको हुँदा निराकार पनि पूरा प्राप्त भएको छ । कविर दास भन्नुहुन्छ– ‘बैठा पण्डित पढे पुराण, बिन देख क्या करे बखान । तु कहे कागज के लेखी, मै कहुँ आँखन के देखी ।’ कबीर जी बानारसमा बस्ने गर्नु हुन्थ्यो, त्यहाँ ठुला–ठुला साधु–सन्तहरु आउने गर्नुहुन्थ्यो उनीहरुलाई भन्नु हुन्थ्यो कि तिमीहरुले भगवानको बारेमा धर्म–ग्रन्थमा उल्लेख गरिएका कुराहरुको बर्णन गरिरहेका छौ तर म चाहि आफ्नो आँखाले देखेको कुरालाई भनिरहेको छु । तिमीहरुले पनि भनिरहेका छौ कि परमात्मा एक छ, मैले पनि भनिरहेको छु परमात्मा एक छ, पूरा संसारमा फैलिएको छ, अदृश्य छ, अडोल छ, कुनै ठाउँमा पनि खाली छैन, न त कुनै रंग, रुप आकार छ, यसैमा हामी सबैले लिप्त हुनु छ त्यहि कुरा तिमीहरु पनि भनिरहेका छौ र म पनि भनिरहेको छु तर तिमीहरु र मेरो बीच एउटा अन्तर रहेको छ त्यो हो तिमीले धर्म–ग्रन्थमा उल्लेख गरिएका कुराहरुलाई पढिरहेका छौ भने म चाहि प्रत्येक्ष आँखाले देखेको कुरालाई भनिरहेको छु । जस्तै त्रेता युगमा भगवान रामले प्रत्येक्ष रुपमा देख्नु भयो र रामायणमा यसको उल्लेख गर्नुभयो, त्यस्तै द्वापर युगमा श्रीकृष्णले देख्नुभयो र अर्जुनलाई पनि देखाउनुभयो । यसरी जसले देख्यो उनीहरुले लेखिदिए कि परमात्मा एक छ, कुनै रुप, रंग, आकार छैन, सर्वव्यापक आदि अनेकौ गुणहरु छन् । कविर दास जी स्वयं यसै निराकारको प्रत्येक्ष दर्शन गरेको बताउनु हुन्छ ।

हामीलाई पूर्ण सत्गुरुबाट ब्रम्हज्ञान त प्राप्त भएको छ तर यस ब्रम्हज्ञानलाई कसरी सम्भालेर राख्न सकिन्छ भन्दा जुन प्रकारले यदि हामीले सुनका गहना लगाएका छौ भने जब बजार, यात्रा वा बाटोमा हिड्दा त्यसको ठिक तरीकाले ध्यान दिरहेका हुन्छौ किनभने त्यो गहना मूल्यवान छ । निकै मेहनतबाट त्यस गहनालाई जोडेका हुन्छौ, त्यसैले त्यसको निकै हामी संरक्षण गर्दछौ । यस्तै प्रकार यो जुन ब्रम्हज्ञान रहेको छ त्यो पनि निकै महंगो रहेको छ । मानव योनि पनि चौरासी लाख योनिपछि मिलेको हो । जब कुनै वस्तु चौरासी लाख योनि पछि प्राप्त भएको छ भने त्यसको ध्यान राख्नु त अवश्य छ । जुन प्रकार गलामा रहेको सुनको चेनको अरुबाट जोगाउनको लागि यात्रा वा बाटोमा हिड्दा हामी लुगाले छोप्ने गर्दछौ भने त्यस्तै प्रकार ब्रम्हज्ञानको सुरक्षाको लागि हामीले सेवा, सत्संग, सुमिरण गर्नु पर्ने छ । यदि हामी सेवा, सत्संग, सुमिरण गर्छौ भने ज्ञानको सुरक्षा हुनेछ । ज्ञान हामीसंग सधैं टीकी रहने छ । जीवनमा कुनैपनि कार्य छोटो छैन् । जस्तै इन्टरनेटमा हामी देख्छौ कि यहाँ क्लिक गर धेरै पैसा पाईने छ, दिनभरि सुति राखौ बेलुका पसलको गल्ला भरिरहने छ, पढाई नगरेर डक्टर बन्न सकिन्छ भन्छौ भने त्यो कार्य सम्भव छैन । यसरी जीवनमा कुनैपनि कार्य बिना मेहनतबाट पूरा हुन सक्दैन । हामी सोचौं कि सत्संग नगएर ब्रम्हज्ञानी हुन सकौं, ज्ञान हामीभित्र ढल्न सकोस, हामी आशीर्वादका पात्र हुन सकौं आदि असम्भव छ । किनभने सत्संगमा आउनुबाट नै सेवा प्राप्त हुने गर्दछ । घरमा बसेर सेवा मिल्न सक्दैन । जब सत्संगमा आएर निराकारको ध्यान गर्छौ भने सुमरण हुने छ । यसरी जति–जति सत्संगमा आएर यस निराकारको सुमिरण गर्छौ भने त्यति–त्यति निराकारको हाम्रो जीवनमा ध्यान रहने छ । घरमा गएर पनि आफ्नो कार्यमा व्यस्त रहन्छौ भनेपनि यो निराकार ध्यानमा रहने छ । जब यो निराकार ध्यानमा रहन्छ भने मन प्रफुल्लित रहने र त्यसबाट हाम्रो भक्ति प्रगाढ हुँदै जाने छ । यसरी हामीले आफ्नो जीवनमा सेवा, सत्संग, सुमिरण गर्नु अति आवश्यक रहेको छ, उहाँले बताउनु भयो ।

त्यस्तै प्रकारले सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले निरंकारी मिशन कुनै धर्म वा सम्प्रदाय नभई एक आध्यात्मिक विचारधारा हो । यो सबै धर्मको साझा मञ्च हो । यहाँ सबै किसिमका जाति, धर्म, संस्कृति भएका मानवहरु आवद्ध भएका छन् ।

उहाँले सत्गुरु स्वरुप भनेर स्टेजमा विराजमान भएकालाई जो सम्बोधन गरिरहेका छौ वा सत्गुरुको प्रतिनिधि भन्छौ । हिन्दु दर्शनमा अनेकौं धार्मिक अनुष्ठानहरु रहेका छन्, त्यहाँ कुनैपनि गुरुले आफ्नो स्थानमा आफ्नो भक्तलाई बसाउँदैन । त्यहाँ गुरुको उपस्थिति भएको छैनभने त्यहाँ गुरुको फोटो राखेको हुन्छ, त्यो सबैलाई थाह भएको कुरा हो तर निरंकारी मिशनमा सत्गुरु माता जीले आफ्ना भक्तहरुलाई पनि आफ्नो आसनमा राख्ने स्विकृति दिनुभएको छ । यो एउटा मानव मात्रको लागि ठुलो उदाहरण हो उहाँले बताउनुभयो ।

उहाँले अगाडि भन्नुभयो कि जसको भक्ति गर्छौ, त्यसको जानकारी पनि आवश्यक छ । जबसम्म हामी जसको भक्ति गरिरहेका छौ त्यसलाई चिनेका छैनौभने त्यो भक्ति प्रवल हुन सक्दैन ।

संयौंको संख्यामा सन्त–भक्तहरुले सत्संग भवन भरिएको उक्त नारी सत्संग समारोहमा दिल्लीबाट आउनु भएकी रेखा भाटिया, उषा गुरुङ, ज्ञानेश्वर गुरुङ, जगत सिंह, माया बोहरा, तुलसी जोशी, निर्मला डगौरा, ज्योति ठाकुर, इन्द्र बि.क. सरस्वती खड्का, जय बहादुर साउँद, प्रकाश साउँद, जलुदेवी बि.क., कविता कडारा, गीताञ्जली, निकिता, माया, संगीता र नन्दा बि.क. रहनु भएको थियो भने कार्यक्रमको संचालन मिरा सुनारले गर्नु भएको थियो ।

बिज्ञापन