आस्था /आध्यात्म

लुम्बिनीमा पाँच सय जना बने अल्पकालीन भिक्षु

बिज्ञापन

भैरहवा, चैत ३ गते । लुम्बिनीस्थित मायादेवी मन्दिर प्राङ्गणमा एकैदिन पाँच सय जना अल्पकालीन भिक्षु बनेका छन् । अखिल नेपाल भिक्षु महासङ्घ र थाई भिक्षु महासङ्घको आयोजना र लुम्बिनी विकास कोषसहितका विभिन्न संस्थाको सहआयोजनामा मायादेवी मन्दिर प्राङ्गणमा पाँच सय जनालाई कुलपुत्र प्रवज्या (अल्पकालीन भिक्षु) गराइएको हो। 

बिज्ञापन

अखिल नेपाल भिक्षु महासङ्घका महास्थविर धम्म शोभन र धम्मकाय फाउण्डेशनका उपप्रमुख भिक्षु फरा पभनाले अल्पकालीन भिक्षुका लागि चिवर प्रदान गर्नुभयो । अल्पकालीन भिक्षुहरुले पहेलो चिवर लगाएर बुद्ध धर्मका सयवटा नियम पालना गर्नुपर्नेछ । 

सामान्य अनुयायीहरुले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्णरुपमा बौद्ध नियममा आफूलाई रुपान्तरण गर्नुपर्नेछ ।

फागुन २७ गते काठमाडौं र फागुन २८ गते लुम्बिनीमा गरी पाँच सय जनाको केशमुण्डन गरिएको थियो । केशमुण्डन गरिए पनि बिहीबार मात्रै उनीहरुले प्रवज्या गरी अल्पकालीन भिक्षुका रुपमा पहेँलो चिवर लगाउन योग्य भएका हुन् । 

चिवर प्रदान एवं कुलपुत्र प्रवज्या कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तेय) ले भगवान बुद्धको जन्मस्थलमा अल्पकालीन समयका लागि भए पनि प्रवज्यामा सहभागी हुनेहरुलाई स्वागत गर्नुभयो । उहाँले बुद्ध जन्मेकै देशका नागरिकहरुले यसरी बुद्धको शिक्षा ग्रहण गर्नु नै महान् कार्य भएको बताउनुभयो । बुद्ध शिक्षालाई सतही रुपमा मात्रै नभई बुद्धभूमिमै आएर प्रवज्या (अल्पकालीन भिक्षु) ग्रहण गरी व्यवहारमै बुझ्नु अत्यन्तै सकरात्मक रहेको उहाँको भनाइ छ । 

कार्यक्रममा अखिल नेपाल भिक्षु सङ्घका महास्थविर शोभनले भिक्षु सङ्घको निर्देशन अनुसार प्रवज्या ग्रहणका लागि देशभरिबाट सहभागी भएकाहरुलाई स्वागत गर्दै बुद्ध शिक्षालाई नजिकबाट चिन्ने र व्यवहारमा अँगाल्न आग्रह गर्नुभयो । बुद्धजन्मस्थल लुम्बिनीमा कोभिड महामारीपछि एकैदिन प्रवज्या (अल्पकालीन भिक्षु) कार्यक्रम पहिलो पटक भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताउनुभयो । उहाँले एकैदिन पाँचसय जना अल्पकालीन भिक्षु हुने कार्यक्रमले बुद्ध शिक्षाको प्रवर्धन र लुम्बिनीको महत्वलाई थप उजागर गर्ने बताउनुभयो । 

कोभिडअघि सन् २०११ मा एक हजार, २०१५ मा एक हजार ११२ जना र सन् २०१९ मा एक हजार ११९ जनालाई प्रवज्या गराइएको कार्यक्रम निर्देशक एंव कोषका कार्यकारिणी सदस्य राजेश शाक्यले बताउनुभयो । 

कोभिडका कारण अहिले सङ्ख्या घटाएर पाँच सय गराइएको र आगामी दिनमा एकैदिन १० हजारलाई प्रवज्या गराइने योजना रहेको शाक्यले बताउनुभयो । प्रवज्या कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, कार्यकारिणी सदस्यहरु विश्वराज पौडेल, नेत्रबहादुर शाही, थाई विहारका प्रमुख भिक्षु सोबोधलगायतको उपस्थिति थियो । 

प्रव्रज्यामा नेपालका २० जिल्लाबाट सहभागिता छ । यस्तै, चैत १७ गते अल्पकालीन भिक्षुहरुको समय सकिनेछ । 

बिज्ञापन