घटना समाचार

धर्मगुरुको हत्या गर्ने पक्राउ

बिज्ञापन

कपिलवस्तु, चैत्र ४ गते । कपिलवस्तु बुद्ध भूमि नगरपालिका ४ बुड्ढीका बिक्की थारु खुट्टा दुखेर झारफुक गराउन गुरवा (थारु समुदायका धर्मगुरु) को मा गएका थिए । गाउँ कै ६७ वर्षीय गुरवा गङ्गाराम थारुले झारफुक गरे पछि उनले निको भएको महसुस गरे । दुखाई निको बनाएर पठाएका गङ्गाराम भने २०७६ साल साउन ६ गते राती ७ बजे हत्या भएको अवस्थामा भेटिए । उनको घाँटी, अनुहार तथा बायाँ हातको कुममा धारिलो हतियार प्रयोग गरी बीभत्स हत्या गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मीन घलेले बताउनु भयो ।  

बिज्ञापन

झारफुक गरे पछि निको भएको महसुस गरेका बिक्कीले गुरुवाले बोक्सी लगाउने गरेको आशङ्का गरेका थिए । पाँच वर्ष अगाडी मृत्यु भएका बुवा विष्णु प्रसाद थारु र केही महिना अगाडी मरेका भैँसी र गोरुको दोष उनले गुरवा गङ्गाराम माथि थोपरेका थिए । घटना हुनु अगाडी बिक्कीले गाउँका एक जना बोक्सी छ भन्दै हिँड्ने गरेका थिए । त्यसले मेरो बुबालाई पनि मार्‍यो । गोरु र भैँसी पनि मा¥र्यो । त्यसलाई चिन्नु पाए ठिक पार्छु भन्दै हिँड्ने गरेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक शशीधर शर्माले बताउनुभयो ।

प्रहरीले बिक्कीलाई शङ्काको घेरामा राखे पनि प्रमाण जुटाउन नसक्दा २ वर्ष देखी घटना रहस्यमय रहेको थियो । पुराना घटनाका फाइल खोली अनुसन्धान सुरु गर्दा अपराधीको पहिचान गर्न सफल भएको शर्माले बताउनुभयो । हत्यामा संलग्न बिक्की र राम सेवक थारुलाई प्रहरीले ६ महिना अगाडी पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखेको छ । हत्या पछि वैदेशिक रोजगारीको सिलसिलामा अबुधावी पुगेका शिव शरण चौधरीलाई इन्टरपोल मार्फत पक्राउ गरी बिहीबार इलाका प्रहरी कार्यालय गोरुसिङ्गे पुराइएको छ ।

शिव शरण विरुद्ध भाद्र १४ गते रेड नोटिस जारी भएको थियो । भाद्र २१ गते पक्राउ गरी सुपुर्दगीको लागी कागजात मगाएको थियो । फागुन ११ गते शिव शरणलाई ल्याउन नेपाल प्रहरीको टोली अबुधावी पुगेको थियो । प्रहरीले घटनाको जानकारी भए पनि लुकाउन खोज्ने स्थानीय लीलाराम चौधरी, विष्णु प्रसाद थारु र इन्द्र थारु विरुद्ध मुद्दा दायर गरेको थियो । तिनै जना कपिलवस्तु जिल्ला अदालत बाट १–१ लाख धरौटी राखी तारेखमा रिहा भएको प्रहरीले जनाएको छ ।  

बिज्ञापन