राष्ट्रिय समाचार

प्रचण्ड सरकारमा ९ दलबाट को-को बन्दैछन् मन्त्री ?

बिज्ञापन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद विस्तार गर्दैछन् । उनले ९ दललाई समेटेर आज मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन ।

बिज्ञापन

प्रधानमन्त्रीलाई दोस्रो पटक विश्वासको मत दिएका नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, नेसपा, जनमत, नागरिक उन्मुक्ति र आमजनता पार्टी सरकारमा सहभागी हुँदैछन् ।

प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले ८ वटा मन्त्रालयसहित सरकारमा सहभागिता जनाउँदै छ । कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ ।

खड्कालाई उपप्रधानसहित रक्षा मन्त्रालय दिने तयारी छ । त्यस्तै, कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत अर्थ मन्त्री बन्ने भएका छन् ।

परराष्ट्र, स्वास्थ्य, भूमि, सहरी विकास, सामान्य प्रशासन लगायतका मन्त्रालयको नेतृत्व कांग्रेसका नेताहरूले गर्नेछन् । मन्त्रालय लिनेबारे प्रधानमन्त्रीसँग पनि कांग्रेस सभापति शेरबहादुर देउवाको छलफल भइसकेको छ ।

कांग्रेसकै अर्का उपसभापति धनराज गुरुङ, केन्द्रीय सदस्य एनपी साउद, सीता गुरुङ, डिगबहादुर लिम्बु, मोहनबहादुर बस्नेत लगायतको नाम मन्त्री बन्नेको सूचीमा छ । तीमध्ये कसलाई कुन मन्त्रालय दिने भन्नेबारे देउवाले आजमात्रै निर्णय लिएर प्रधानमन्त्रीलाई सूची बुझाउनेछन् ।

स्रोतका अनुसार केन्द्रीय सदस्य एनपी साउद सहरी विकास, उपसभापति धनराज गुरुङ संघीय मामिला तथा सामान्य प्रशासन, केन्द्रीय सदस्य मोहन बस्नेतलाई स्वास्थ्य, डिगबहादुर लिम्बु कानुन, सीता गुरुङले भूमि व्यवस्था मन्त्रालयले पाउने भएका छन् ।

त्यस्तै, माओवादी केन्द्रको भागमा ५ वटा मन्त्रालय परेको छ । प्रधानमन्त्रीसहित गृह, ऊर्जा, सञ्चार, पर्यटन र महिला तथा बालबालिका मन्त्रालय माओवादीले नेतृत्व गर्ने भएको हो ।

भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको मन्त्रालय हेरफेर हुने भएको छ । प्रधानमन्त्रीले उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन् ।

माओवादीले सम्हाल्दै आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भने कांग्रेसले लिने भएको छ । सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई अर्को कुनै मन्त्रालय दिने तयारी प्रधानमन्त्री प्रचण्डको छ ।

त्यस्तै शक्ति बस्नेत ऊर्जामन्त्री बन्ने भएका छन् । यसअघि ऊर्जा मन्त्रालयमा अमनलाल मोदीको चर्चा थियो। बस्नेतले भने गृह मन्त्रालयमा इच्छा देखाएका थिए ।

तर, उपाध्यक्ष समेत रहेका भौतिक, पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई गृहमन्त्री बनाउने भएपछि बस्नेतलाई ऊर्जा मन्त्रालय दिन लागिएको हो । माओवादीबाट अहिले सञ्चारमन्त्रीमा रेखा शर्मा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा सुदन किराँती छन् ।

यता, एकीकृत समाजवादीले शिक्षा र भौतिक पूर्वाधार मन्त्रालय लिने भएको छ । शिक्षामन्त्रीमा एकीकृत समाजवादीका उपाध्यक्ष वेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्ने भएका छन् ।

जसपाले लिने २ वटा मन्त्रालयको भने टुंगो लागिसकेको छैन । जसपाले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ ।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले श्रम, राजेगार तथा सामाजिक सुरक्षा मन्त्रालय लिने भएको छ । लोसपाले वरिष्ठ नेता शरतसिंह भण्डारीलाई श्रममन्त्री बनाउने तयारी गरेकोछ ।

डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाबाट महिन्द्र राय यादव मन्त्री बन्नेछन् । उनलाई दिने मन्त्रालयबारे टुगो लागिसकेको छैन ।
नागरिक उन्मुक्तिबाट अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री बन्दैछन् ।

त्यस्तै, आमजनता पार्टीका प्रभु साह पनि मन्त्री बन्दैछन् । उनको पनि मन्त्रालय टुंगो लाग्न बाँकी छ । उनीहरुलाई आजै ३ बजे शपथग्रहण गराउने प्रधानमन्त्री प्रचण्डको तयारी छ ।

बिज्ञापन