राष्ट्रिय समाचार

प्रधानमन्त्रीका १६ सारथि

बिज्ञापन

काठमाडौं, चैत १७ गते। नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। शुक्रबार अपराह्न राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीले शपथ ग्रहण गर्नुभएको हो।

बिज्ञापन

पद तथा गोपनीयताको शपथ ग्रहण लिनुहुनेमा पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृह, डा. बेदुराम भुसाल कृषि तथा पशुपन्छी विकास, अशोककुमार राई शिक्षा, शरदसिंह भण्डारी श्रम, डा. प्रकाशरण महत अर्थ, महेन्द्रिराय यादव महिला बालबालिका, शक्तिबहादुर बस्नेत ऊर्जा तथा जलस्रोत, प्रकाश ज्वाला भौतिक पूर्वाधार, रञ्जिता श्रेष्ठ भूमि सुधार, रमेश रिजाल उद्योग, सीता गुरुङ सहरी विकास मन्त्री हुनुहुन्छ। 

यसअघि नै प्रधानमन्त्री प्रचण्ड नेतृत्वका सरकारमा सञ्चार मन्त्री रेखा शर्मा, संस्कृति मन्त्री सुदन किराती, संघीय मामिला मन्त्री अमनलाल मोदी र संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको रुपमा सुशिला सिर्पाली ठकुरीले जिम्मेवारी सम्हालिसक्नु भएको छ । शुक्रबार मन्त्रिपरिषद् विस्तारसँगै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् १७ सदस्यीय बनेको छ । 

 पूर्णबहादुर खड्का : उपप्रधान तथा रक्षामन्त्री

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो। उहाँ ११ हजार ६१९ मतान्तरले विजयी हुनुभएको थियो। उपसभापति खड्काले ४२ हजार ६०७ मत प्राप्त गर्नुभएको छ। उपसभापति खड्का पाँचौँ पटक विजय हुनुभएको थियो।

उहाँले २०४८, २०५१, २०५६ मा  प्रत्यक्षतर्फबाट निर्वाचित हुनुभएको थियो भने २०६४ सालमा समानुपातिकतर्फबाट सांसद बन्नुभएको थियो। २०७० सालमा पुनः प्रत्यक्षबाट निर्वाचित खड्का २०७४ सालको निर्वाचनमा प्रतिस्पर्धी ध्रुवकुमार शाहीसँगै पराजित हुनुभएको थियो। खड्का दुई पटक गृहमन्त्री, दुईपटक युवा तथा खेलकुद मन्त्री, सञ्चारमन्त्री र उद्योग वाणिज्य मन्त्री भइसक्नुभएको छ। लामो समयदेखि नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहिआउनु भएका खड्काले २०३१ सालबाट राजनीतिक यात्रा शुरु गर्नु भएको हो ।

उहाँले पटक पटक गरेर कुल पाँच महीना जेल जीवन बिताइसक्नुभएको छ। पूर्व राजा ज्ञानेन्द्रको शासनकालमा भएको प्रतिगमन विरोधी आन्दोलनमा सक्रिय रहँदा उहाँ नजरबन्द तथा थुनामा पर्नुभ

एको थियो। उहाँ कुशल वार्ताकारका रुपमा परिचित हुनुहुन्छ । 

नारायणकाजी श्रेष्ठ : उपप्रधानमन्त्री एवम् गृहमन्त्री

राष्ट्रिय सभा सदस्य श्रेष्ठ २०७९ पुस ११ मा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डको नेतृत्वमा गठित सरकारमा उपप्रधानमन्त्री एवम भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुनुभयो। श्रेष्ठलाई यातायात मन्त्रीबाट विभाग परिवर्तन गरी उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको जिम्मेवारी दिइएको हो।

२०३६ सालमा पञ्चायतविरुद्ध विद्यार्थी गतिविधिमा लागेको भन्दै उहाँलाई पक्राउ गरेर सेन्ट्रल जेलमा राखिएको थियो। त्यहाँबाट छुटे पनि दोस्रो पटक ०३६ सालमै उही आरोपमा गोर्खा जेलमा राखियो। तेस्रो पटक ०४५ सालमा जनआन्दोलनको तयारीको बेला उहाँलाई राजकाज मुद्दा लगाई केही दिन ललितपुर डिएसपी कार्यालयमा हिरासतमा राखिएको थियो।

भूमिगत हुँदा ‘प्रज्ज्वल’, ‘नरेन्द्रमान’, ‘दिपक’, र ‘प्रकाश’ नामबाट उहाँले राजनीतिक गतिविधि गर्नुभएको थियो। २०४८ सालमा प्रचण्ड नेतृत्वको मोटो मशाल, निर्मल लामा नेतृत्वको चौम, रुपलाल विश्वकर्मा नेतृत्वको सर्वहारावादी श्रमिक संगठन र हरिबोल गजुरेल नेतृत्वको विद्रोही मसालबीच एकता गर्ने क्रममा उहाँ पार्टी एकता संयोजन समितिको सदस्य हुनुभयो।

एकता भएपछि ०४७ सालमा एकता महाधिवेशनबाट उहाँ नेकपा (एकता केन्द्र) को पोलिटब्यूरो सदस्य हुनुभयो। ०५१ सालमा पार्टी विभाजित हुँदा उहाँले एकता केन्द्रको सचिवको जिम्मेवारी लिनुभयो। लगत्तै महासचिव हुनुभयो। नेकपा (मसाल) सँग पार्टी एकता हुँदा मोहनविक्रम सिंह नेकपा (एकताकेन्द्र मसाल)को महामन्त्री र उहाँ सहमहामन्त्री हुनुभयो। ०६३ सालमा सो पार्टीमा विभाजन भएपछि उहाँ एकता केन्द्र–मसालको महामन्त्री हैसियतमै रहनुभयो।     

डा. बेदुराम भुसाल : कृषि मन्त्री

नेकपा (एकीकृत समाजवादी) का नेता डा. बेदुराम भुसाल राष्ट्रिय सभा सदस्य हुनुहुन्छ। नेकपा स्थायी कमिटी सदस्यसमेत रहनुभएका भुसाल नेकपाका वैचारिक नेताको रुपमा चिनिनु हुन्छ। नेता भुसालको जन्मस्थल अर्घाखाँची हो। अर्घाखाँचीको हर्रे–बर्रे आन्दोलनको अगुवाइ गर्दै राजनीतिमा आउनुभएको भुसाल तत्कालीन नेकपा (एमाले) कपिलवस्तुको सचिव हुनुभएको थियो। त्यति बेला सचिव पार्टीको अध्यक्ष हुने प्रावधान थियो।

अशोककुमार राई : शिक्षा मन्त्री 

अशोककुमार राई सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको हो। उहाँले १७ हजार ५९ मत प्राप्त गरेर विजयी हुनुभएको थियो। राईले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङलाई चार सय ५३ मतको मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो।  तामाङले १६ हजार ६०६ मत प्राप्त गर्नुभएको थियो।

शरदसिंह भण्डारी : श्रम मन्त्री

लोकतान्त्रिक समाजवादी नेता शरदसिंह भण्डारी महोत्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको हो। सत्ता गठबन्धनका उम्मेदवार भण्डारीले तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का डा. विजयकुमार सिंहलाई दोब्बर मतले पराजित गर्नुभएको हो। भण्डारी र सिंहबीचको मतान्तर १४ हजार ७० मत छ। भण्डारीले २५ हजार १९० मत प्राप्त गर्नुभएको छ। पराजित सिंहले ११ हजार १२० मत ल्याउनुभएको थियो। महोत्तरीको क्षेत्र नम्बर २ बाट भण्डारी दोस्रो पटक विजयी हुनुभएको हो। उहाँ २०७४ को निर्वाचनमा समेत विजयी हुनुभएको थियो। उहाँ अहिलेसम्म पटक पटक गरेर १२ पटक मन्त्री बनिसक्नुभएको छ।

डा. प्रकाशरण महत : अर्थमन्त्री

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महत प्रतिनिधि सभामा समानुपातिक तर्फबाट निर्वाचित हुनुभएको हाे । २०३६ सालको विद्यार्थी आन्दोलन र २०३७ सालको जनमत संग्रहमा अग्र मोर्चामा रहेर काम गर्नुभएका डा. महतले २०४२ सालको सत्याग्रहमा सक्रिय भूमिका खेल्नुभएको थियो। त्यसबेला उहाँ नेपाल विद्यार्थी संघको महासचिव हुनुहुन्थ्यो।

नेपाली कांग्रेसको नेतृत्वमा सुरु भएको २०४६ सालको जनआन्दोलनमा डा. महतले एक्सन कमिटीमा रहेर काम गर्नुभएको थियो। २०५५-५६ देखि कांग्रेसको केन्द्रीय आर्थिक नीति निर्माण समितिमा रहेर काम गर्ने मौका पाउनुभएका डा. महत २०५९ देखि निरन्तर कांग्रेसको केन्द्रीय सदस्य रही आउनुभएको छ। उहाँले २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन र २०७९ को मङ्सिरमा सम्पन्न प्रतिनिधि सभा एवम् प्रदेश सभा निर्वाचनमा पार्टीको केन्द्रीय प्रचारप्रसार समितिको संयोजकको भूमिका सफलतापूर्वक सम्पन्न गर्नुभएको थियो।

महेन्द्रिराय यादव : महिला बालबालिका मन्त्री

नेकपा (माओवादी केन्द्र) का उम्मेदवार महिन्द्रराय यादव सर्लाही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का राजेन्द्र महतोलाई दुई हजार ११ मतान्तरले हराउँदै यादव निर्वाचित हुनुभएको हो। यादव २०७० र २०७४ सालमा पनि यसै क्षेत्रबाट निर्वाचित हुनुभएको थियो। डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा आबद्ध यादव माओवादी केन्द्रसँगको सहमति अनुसार माओवादीको हँसिया हथौडा चुनाव चिह्न लिएर चुनावी प्रतिस्पर्धामा उत्रनु भएको थियो।

शक्तिबहादुर बस्नेत : ऊर्जा मन्त्री

नेकपा (माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेत जाजरकोटबाट प्रतिनिधि सभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट विजयी हुनुभएको थियो। उहाँले नेकपा (एमाले)का निरज आचार्यलाई नौ हजार ३१ मतले पराजित गर्नुभएको छ। बस्नेतले जाजरकोटकै इतिहासमा तीन पटक लगातार निर्वाचनमा विजय हासिल गर्ने नेता हुनुभएको छ।

बस्नेत योसँगै तीन पटक संसदीय निर्वाचनमा विजयी हुनुभएको हो। संविधान सभाको दोस्रो निर्वाचन २०७०, २०७४ सालमा भएको निर्वाचनमा बस्नेत निर्वाचित हुनुभएको थियो। बस्नेत स्वास्थ्य मन्त्री, गृहमन्त्री र वन तथा वातावरण मन्त्रीसमेत भएर सरकारमा लामो अनुभव गरिसक्नुभएका नेतामा पर्नुहुन्छ।

माओवादी केन्द्रका उपमहासचिव रहनुभएका बस्नेत जाजरकोटको ग्रामीण वर्ग संघर्षबाट राजनीति सुरु गरेका नेता हुनुहुन्छ। वि. सं २०२८ साल वैशाख १ भेरी नगरपालिका–१ कालेगाउँमा उहाँको जन्म भएको हो।

रेखा शर्मा :  सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको जिम्मेवारी परिवर्तन भएको छैन । उहाँ दाङ निर्वाचन क्षेत्र न २ बाट नेकपा एमालेका महासचिव शङ्कर पोखरेल पराजित गरी विजयी हुनुभएको हो ।गठबन्धनका उम्मेदवार शर्मा प्रतिनिधिसभा सदस्यमा २६ हजार ८ सय ७७ मत प्राप्त गरी विजयी हुनुभएको हो । पराजित पोखरेलले २६ हजार ६ सय ८० मत ल्याउनुभयो। उहाँ प्रभावशाली महिला नेत्री हुनुहुन्छ ।

सुदन किराती : संस्कृति मन्त्री

नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य सुदन किराँती भोजपुरबाट प्रतिनिधि सभा सदस्यमा  विजयी हुनुभएको हो । 

किराँतीले नेकपा (एमाले) का शेरधन राईलाई दुई हजार ३ सय ८५ मतले पराजित गर्नुभएको हो।  उहाँले कुल खसेको मत ६१ हजार ८ सय ३० मध्ये २८ हजार ५ सय ७८ मत पाउनुभएको थियो । पूर्व मुख्यमन्त्रीसमेत रहेका उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले) का राईले २६ हजार १ सय ९३ मत पाउनुभयो। 

अमनलाल मोदी : संघीय मामिला मन्त्री 

नेकपा (माओवादी केन्द्र) का नेता अमनलाल मोदी  मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको हो । उहाँले ३० हजार ६१२ मत ल्याएर प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको हो।उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले) का विनोदप्रसाद ढकालले २४ हजार ४६३ मत पाउनु भएको थियो । 

प्रकाश ज्वाला : भौतिक पूर्वाधार तथा यातायात

नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वाला सल्यानबाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको हो। ज्वाला १५ हजार ९११ मतको फराकिलो अन्तरले विजयी हुनुभएको हो। उहाँले ३५ हजार सात सय प्राप्त गर्नुभएको थियो। नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार ७८९ मत प्राप्त गर्नुभएको  छ। 

रञ्जिता श्रेष्ठ : भूमि व्यवस्था मन्त्री

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो। श्रेष्ठले ३० हजार ४०४ मत प्राप्त गर्नुभएको छ । अध्यक्ष श्रेष्ठ २०७२ मा भएको टीकापुर घटनामा दोषी ठहर भएर जेलमा रहनुभएका यही क्षेत्रबाट निर्वाचित पूर्व सांसद रेशमलाल चौधरीकी श्रीमती हुनुहुन्छ। 

रमेश रिजाल : उद्योग मन्त्री

वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजाल पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा विजयी हुनुभएको हो। नेकपा (एमाले)का जालिम मियाँ मन्सुरीलाई पाँच हजार ५३० मतको फराकिलो अन्तरले पराजित गर्दै नेपाली कांग्रेसका रिजाल विजयी हुनुभएको हो। रिजालले ३१ हजार १४२ मत ल्याउनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जालिम मियाँ मन्सुरीले २५ हजार ६१२ मत प्राप्त गर्नुभएको थियो।

सीता गुरुङ : सहरी विकास मन्त्री

नेपाली कांग्रेसका नेता सीता गुरुङले तेह्रथुम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो। गुरुङ १९ हजार ७०२ मत प्राप्त गरी निर्वाचित हुनुभएको थियो। उहाँ अहिले कांग्रेसको केन्द्रीय सदस्य समेत हुनुहुन्छ।

सुशिला सिर्पाली ठकुरी : राज्यमन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्डयन  

ठकुरी नेकपा माओवादी केन्द्रका नेत्री हुनुहुन्छ र उहाँ समानुपातिकबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।गुल्मीमा जन्मनु भएका सुशिला सिर्पालीले विवाहपछि अर्घाखाँचीलाई आफ्नो राजनीतिक थलो बनाउनु भयो । उहाँ यसअघि राष्ट्रिय दलित आयोगको अध्यक्ष हुनुहुन्थ्यो । 

बिज्ञापन