आस्था /आध्यात्म

जाजारकोटको जुनीचाँदेमा सत्संगको कार्यक्रम सम्पन्न

बिज्ञापन

जुनीचाँदे (जाजरकोट), १९ चैत्र । जाजरकोटको जुनीचाँदेमा चैत्र ११ गतेका दिन सत्संगको कार्यक्रम सम्पन्न भएको छ । सन्त निरंकारी सत्संग भवन आलीमा आयोजित उक्त कार्यक्रममा सन्त निरकारी मण्डल नेपालका केन्द्रीय अध्यक्ष नर बहादुर रावलले निरंकारी मिशन कुनै धर्म वा सम्प्रदाय नभई एक आध्यात्मिक विचारधारा भएकोले यहाँ सबै जातजाति, धर्म, समुदाय, रहन–सहन, भेषभूशा, रितीरिवाज भएका मानवहरु आवद्ध रहेका छन् । यहाँ मानवहरुलाई उनीहरुको धर्म होइन भावना परिवर्तन गर्ने सन्देश दिइन्छ, बताउनु भयो ।

बिज्ञापन

निरंकारी मिशनको विशेषता भनेको नै अनेकतामा एकता हो । यसले अनेकतालाई एकतामा कायम गर्दछ । एउटै परमात्मा निराकारका सबै मानवहरु सन्तान भएकोले हामीले एक–अर्कासंग भाइचारको सम्बन्धलाई स्थापित गर्नु पर्दछ । एकले अर्काको सुख–दुःखमा साथ दिनु पर्दछ । निरंकारी मिशनले धर्मलाई जोड्छ, तोड्दैन । कसैको रहन–सहन, जातिपाति, खान–पिनको घृणा गर्दैन । संसारमा रहेका सम्पूर्ण मानव प्राणीहरुलाई एक परिवार मानेर उनीहरुसंग प्रेमको सम्बन्धलाई बलियो पार्दछ, उहाँले बताउनु भयो ।

उहाँले अगाडि भन्नुभयो कि हामी भित्र प्रभु–परमात्माको वास रहेको छ, हामीबाट जेपनि गरिन्छ त्यो प्रभु–परमात्माको शक्तिबाट संचालित भइरहेको हुन्छ । यदि प्रभुले हामी माथि दया गर्दैन भने यसको बिना हामी केहि पनि गर्न सक्दैनौ । हामी भित्र रहेको आत्मा यस परमात्माको अंश हो बताउनुभयो ।

सत्गुरु शरीर नभएर ज्ञानको नाम हो । परमात्मा एउटै छ तर परमात्माको अनेकौं नामहरु छन् । कोहि भगवान भन्छ, कोहि ईश्वर भन्छ, कोहि अल्ला भन्छ, कोहि गड भन्छ, कोहि वाहे गुरु आदि भन्छ तर संसारमा परमात्मा केवल एउटा मात्र छ । जस्तै पानीलाई अनेकौं नामले पुकारिन्छ कोहि जल भन्छ, कोहि वटर भन्छ, कोहि निर भन्छ, नेवारीमा ल भनिन्छ यसरी पानीका नामहरु अनेकौ छन् वस्तु चाहि एउटै छ, त्यस्तै परमात्माका नामहरु अनेकौं छन् तर परमात्मा एउटै छ । त्यसैले निरंकारी मिशनको मूल सिद्धान्त नै ‘एकलाई जान, एकलाई मान, एक हौं’ रहेको छ । हामीले संसारमा मानवको चोला पाईसकेपछि अनेकतामा भ्रमित नभएर जो यो एक परमात्मा रहेको छ, त्यसलाई जान्नु आवश्यक छ, जानि सकेपछि त्यस एकलाई मान्नु छ र संसारभरिका सबै मानव एक परिवार हुनु छ तब विश्वमा शान्ति छाउन सक्ने छ । यस कार्यलाई स्थापित गर्नको लागि हामीले निरंकारी मिशनमा आउनु पर्ने छ । आज सत्गुरु माता जीले संसारलाई एकलाई जान, एकलाई मान, एक हौको सन्देश दिएर सम्पूर्ण संसारलाई एक सूत्रमा बाँधि राख्नु भएको उहाँले बताउनु भयो ।

उहाँले भौतिक ज्ञानले मात्र मानव परिपूर्ण नहुने बताउँदै त्यसको लागि आध्यात्मिक ज्ञानको आवश्यकता पर्दछ । आध्यात्मिक ज्ञान भनेको परमात्मालाई जान्नु हो । हामी सबैमा आत्मा विद्यमान छ, यो आत्मा ईश्वरको अंश हो । त्यसैले आत्माले आफ्नो पिता यस निराकार–परमात्मालाई जान्नु आवश्यक छ । जब आत्माले परमात्मालाई चिन्दछ त्यो नै धर्मको अवस्था हो । जसले परमात्मालाई जानेको छैन, त्यो कहिल्यै पनि धर्मि हुन सक्दैन, धर्म त्यही हो जसले आफ्नो पिता–परमात्मालाई जान्यो त्योभन्दा ठुलो धर्म संसारमा अरु केहि पनि छैन । यो मिशनले जहिले पनि जोड्ने कार्य गर्दछ तर धर्मले विभाजन गर्दछ हिन्दु, मुस्लिम, सिख, ईसाई आदिमा विभाजन गर्दछ । आध्यात्मले सबैलाई जोड्ने कार्य गर्दछ । यही मिशनको मूल सिद्धान्त पनि हो, उहाँले बताउनु भयो ।

सन्त निरंकारी मण्डल नेपाल अब जाजारकोट जिल्ला थपिएर ४७औं जिल्लामा फैलिन पुगेको छ भने सत्संग भवन नेपाल अधिराज्य भरि १४६ रहेको छ । ज्ञात रहोस कि जाजरकोट जिल्ला निकै पातलो वस्ती र विकट जिल्ला हो जहाँ कि एउटा सत्संग भवनमा पुग्न र फिर्ता हुन दिनभरि नै लाग्ने गर्दछ । बिहान ११ बजेको सत्संगमा आउनको लागि त्यहाँका सन्तहरुले बिहानै ४÷५ बजे उठ्नु पर्दछ । कोहि–कोहि त करिब ४०÷४५ किलो मिटरको पैदल हिडेर सत्संगमा आउने गर्छन् । यो त्यहाँका सन्तहरुमा श्रद्धाको निशानी हो ।

जाजरकोटाका विभिन्न ठाउँबाट आएका ३५५ नव आगन्तु महापुरुषहरुलाई ब्रम्हज्ञान प्रदान गरिएको थियो, जसलाई पाएर उनीहरुको अनुहारमा निकै खुशीको रौनक देखापरिरहेको थियो । सत्संग आरम्भ हुनु अगाडिदेखि नै वर्षाले ठुलो रुप लिएपनि सन्तहरुले त्यसको कुनै प्रवाह नगरेर टाढा–टाढाबाट सत्संग स्थल आली पुगेका थिए । सत्संग भवन भरिएर बाहिर उभिएर पानीको कुनै प्रवाह नगरि सत्संगमा उनीहरुको ध्यान केन्द्रित रहेको देखिन्थ्यो ।

सत्संग कार्यक्रममा विभिन्न ठाउँबाट आएका सन्त–भक्तहरुले भजन वा प्रवचनको माध्यमबाट आफ्नो भाव व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन केन्द्रीय प्रचार विभाग प्रमुख देवराज रिमालले गर्नुभएको थियो ।

बिज्ञापन