आस्था /आध्यात्म

दैलेखको मनघरमा सत्संग सम्पन्न

बिज्ञापन

दैलेख, २० चैत्र । दैलेखको मनघरमा चैत्र १२ गतेका दिन सत्संग कार्यक्रम सम्पन्न भएको छ । स्थानीय एक सन्तको घरमा आयोजित उक्त कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले जब हामी सन्तहरुको संगतमा सहभागि हुन निर्मल भावबाट आउँछौ भने त्यहाँ कोटि यज्ञ समानको फल प्राप्त हुने गर्दछ । हामी संसारिक रुपमा अनेकौं यज्ञ, तप, होम, जप–तप आदि जीवन सुखी हुनको लागि गर्दछौ र त्यहाँ अनेकौं धनराशी खर्च पनि गर्छौ, किनभने त्यसमा हाम्रो आस्था रहेको हुन्छ । तर यहाँ त केवल अभिमान, लोभ, लालच, आशा–तृष्णालाई त्यागेर मात्र सन्तहरुको सत्संगमा आउनु पर्ने छ र त्यसबाट हामीलाई कोटी यज्ञ समानको फल प्राप्त हुने छ । यो केवल निरंकारी मिशनले भनेको कुरा मात्र होइन आदि–अनादि कालदेखि ऋषि–मुनिहरुले उल्खेख गरेका कुराहरु हुन उहाँले जानकारी गराउनु भयो ।

बिज्ञापन

उहाँले एकाध घण्टाको सत्संग गर्नाले हाम्रो कोटि अपराधको पाप पनि काटिने र कोटी यज्ञको फल पनि पाईने बताउनुभयो । सत्संग गर्नु पर्छ भनेर आज हामीले निरंकारी मिशनमा आएर थाह पायो, गुरुको कृपाबाट ज्ञान लिएर सत्संगमा आबद्ध भएका छौ । तर ज्ञान लिसकेपछि पनि यदि हामीले गल्ति जानि–जानि गर्छौ भने त्यो गल्ति कदापि स्वीकार योग्य हुँदैन । जस्तै कुनै नाबालिगले कुनै अपराध गरयो भने त्यसलाई सजाय नदिएर कुनै सुधार गृहमा पठाईने गरिन्छ तर जो बालिग हुन्छ त्यसको कुनै प्रकारको सजायलाई माफ गरिदैन सिधैं जेलखानामा पठाईने गरिन्छ । ज्ञान लिनुभन्दा पहिले हामीले जुनसुकै गल्ति गरयौं होला जानी–नजानी त्यो गल्ति भगवानले माफ गर्नुभयो तर ज्ञान लिसकेपछि पनि पहिलेको आफ्नो व्यवहारमा कुनै सुधार नै ल्याउँदैनौ भने त्यो गल्ति भगवानबाट कहिल्यै क्षमा हुँदैन, हामी डण्डका भागिदार हुन्छौ । जुन प्रकारले गाडी चलाउनको लागि डिजेल, पेट्रोल, मोबिलको आवश्यकता पर्दछ त्यस्तै प्रकार यस मानव शरीरलाई संचालन गर्नको लागि विभिन्न आहार–विहारको खाँचो पर्दछ तर आत्मालाई खाना–पिनको कुनै आवश्यकता पर्दैन, त्यसको आहार भनेको नै सन्तहरुको सत्संग हो । सत्संग गर्नुबाट नै आत्मा तृप्त हुने गर्दछ । हामीले कसैको खान–पिनको घृणा गर्नु हुँदैन । सन्त बन्न सजिलो छ तर त्यसलाई निभाउन कठिन रहेको बताउनु भयो ।

गलामा हाल्ने सेतो दोपट्टाको महत्वलाई सम्झाउँदै उहाँले भन्नुभयो कि यो दोपट्टा जुन गलाको दुबैतिर हालिएको हुन्छ, त्यसको दुबैतिर धार रहेको हुन्छ । यसले हामीले अलिकतापनि गल्ति गर्छौभने काट्ने गर्छ । जस्तै कुनै झिंगाले सानो दिशा गर्दापनि देखिने गर्दछ त्यस्तै प्रकार यदि त्यो कालो दाग हाम्रो जीवनमा लाग्यो भने कुलको सात जनम अगाडि र सात जनम पछाडिसम्मकालाई अधोगतितिर लिएर जाने गर्दछ । जसले यो ज्ञान रुपी संजिवनी वुटीको पान गर्दछ, उसको जीवन उद्धार हुने गर्दछ । उसले आफ्नो जीवनको मात्र उद्धार नगरेर हजारौं कुलसम्मलाई पनि तार्ने गर्दछ । उसको यो कुल सुखी हुन्छ, परलोक पनि सुहेला हुन जान्छ । त्यसैले हामीले गुरुमतलाई अंगालेर सत्गुरुको सन्देशलाई आत्मसाथ गर्दै जीवनलाई अगाडि लिएर जानु पर्छ । यसबाट हाम्रो जीवनको कल्याण हुने छ । हामीले जहिलेपनि तन, मन, धनलाई ईश्वरको नै सम्झेर यसको उपयोग गर्नु पर्छ र यसको कहिल्यै अभिमान गर्नु हुँदैन । तब मात्र हामी तन, मन, धनले सधैं सुखी हुने छौ । हामीले जहिले पनि मबाट माथि उठ्न सिक्नु पर्दछ । कर्ता ईश्वरलाई सम्झनु पर्दछ । तर ज्ञान लिइसकेपछि पनि हामी मनमतमा हिड्छौ भने हाम्रो जीवनको कल्याण हुन सक्दैन उहाँले बताउनुभयो ।

उहाँले निरंकारी मिशन कुनै धर्म वा सम्प्रदाय नभएर एक विशुद्ध आध्यात्मिक विचार धारा भएकोले यो राजनीतिक भन्दा धेरै माथि रहेको बताउनु भयो । मिशनमा कुनै ओहोदामा बसेर राजनीति गर्न छुट नभएको बताउँदै साधारण रुपमा कुनैपनि पार्टीप्रति आफ्नो आस्था राख्न सकिने तर मिशनको कुनै पदभार ग्रहण गरिसकेपछि राजनीतिक गर्न छुट नभएको कुरा प्रष्ट पार्नुभयो । यदि मिशनमा आएर पनि राजनीतिकलाई आत्मसाथ गरेर अगाडि बढेको भए आज मिशनले संसारमा विश्वबन्धुत्वको भावनालाई फैलाउन सक्ने थिएन धारणा राख्नुभयो । यहाँ सबै एक ईश्वरका सन्तान हुन, सबै एउटै परिवारका सदस्य हुन । यहाँ कुनै प्रकारको राजनीतिक चहल–पहलको गन्ध आउँदैन बताउनुभयो ।

हामीले जहिले पनि एक–अर्काको सेवा–सत्कार गर्नु पर्दछ, सबैसंग मिठो बोली बोल्नु पर्दछ, कसैको चित्त दुःखाउनु हुँदैन, सबैसंग प्रेम गर्नु पर्छ, कसैलाई पराई नभनेर आफ्नै परिवारको सदस्य सम्झेर दुःखमा उसलाई साथ दिनु पर्दछ तब मात्र हामी सच्चा सन्त बन्नुको हकदार कहलाउँछौ । हामीले अरुको आदर–सत्कार गर्छौभने त्यसले पनि हाम्रो आदर–सत्कार गर्ने छ । यस्तो प्रकारको व्यवहार सन्तको हुनु पर्नेमा उहाँले जोड दिनुभयो ।

उक्त ठाउँमा थुप्रै सन्तहरु नव आगन्तु भएकाले सत्संगको अघिल्लो दिन उनीहरुले सत्गुरुको ज्ञान प्राप्त गरेर सुखानुभूतिको अनुभव गरेका थिए भने दैलेखको उक्त मनघरमा पहिलो पटक नयाँ सत्संगको स्थापना पनि गरिएको छ जसको संचालनको जिम्मेवारी स्थानीय सन्त खडक थापालाई दिइएको छ । यसभन्दा पहिले त्यहाँका सन्तहरु ३०÷३५ किला मिटर पैदल हिडेर सत्संग गर्न अरु ठाउँ जाने गर्थे जोकि उनीहरुलाई सत्संग गर्न र सत्संग गरेर फिर्ता हुन दिनभर नै लाग्ने गथ्र्यो । आफ्नै ठाउँमा सत्संगको स्थापना भएकोले स्थानीय सन्तहरु खुशी भएका छन् । सोही अवसरमा स्थानीय सन्त खडक थापाले सत्संग भवनको लागि आफूले दान दिने जग्गाको अवलोकन गराएका थिए ।

सत्संग कार्यक्रमा हर्क रावल, लाल बहादुर थापा, खडक थापा, तेज बोहरा, सेवादल शिक्षक भवन सिंह लगायत स्थानीय सन्त–भक्तहरुले आ–आफ्नो भाव व्यक्त गरेका थिए भने सत्संगको संचालन केन्द्रीय प्रचार विभाग प्रमुख देवराज रिमालले गर्नु भएको थियो ।

बिज्ञापन