घटना समाचार

काट्दै गरेको रुखले किचेर महिलाको मृत्यु

बिज्ञापन

सर्लाही, चैत २० गते । सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिका वडा नं. ६ खुटौनामा रुख ढाल्दा बाटोमा हिँडिरहनुभएकी एक महिलाको किचिएर मृत्यु भएको छ । 

बिज्ञापन

सोमबार बिहान ११ः३० बजेतिर बाटो छेउमा रहेको मसलाको रुख काट्दै गर्दा अचानक रुख ढलेर किच्दा अन्दाजी ४५/५० वर्षको जस्तो देखिने पैदलयात्रु महिलाको मृत्यु भएको हो । मृतकको परिचय खुल्न सकेको छैन । 

उहाँ तराई मुलको जस्तो देखिनुहुन्छ । सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार मृतक महिलालाई स्थानीयले चिनेका छैनन् । मृतकको साथबाट भारतीय रुपियाँ बरामद भएकाले उहाँ नेपालस्थित आफन्तकहाँ आएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रहरी नायब उपरीक्षक राईले मृतकको परिचय खुलाउन प्रहरी परिचालन भइरहेको बताउनुभयो । मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । 

लापरबाही ढङ्गले रुख लढाउने व्यक्ति फरार भएका छन् । रुख काट्ने व्यक्तिको पनि खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राईले बताउनुभएको छ । 

बिज्ञापन