राष्ट्रिय समाचार

सुनसान बन्यो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

बिज्ञापन

भैरहवा, चैत २२ गते । अपेक्षा अनुरूप अन्तर्राष्ट्रिय उडान नभएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुनसान बनेको छ । गत जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुनसान देखिएको हो । विमानस्थलको पहिलो चरणको काम सकिँदै गर्दा सबै क्षेत्रमा उत्साह बढेको भए पनि अहिले निराशा छाएको छ ।

बिज्ञापन

करिब ४३ अर्ब लागतमा बनेको विमानस्थलमा सीमित उडानमात्रै भएका कारण कर्मचारीले कुरेर बस्नेमात्र काम भएको छ । अन्तर्राष्ट्रिय उडानका लागि चाहिने हवाई रुटको अनुमति, आवश्यक उपकरण जडानमा सरकारले समयमै काम नगर्दा विमानस्थल पूर्ण सञ्चालनमा आउन सकेको छैन । यो विमानस्थलको प्रमुख समस्या हवाई रुट भएकाले भारतसँगको कूटनीतिक पहल जरुरी देखिएको बताइएको छ ।

जेठ २ मा कुवेतको जजिरा एयरवेजले सुरुवाती उडान गर्दै कात्तिकसम्म सातामा दुई उडान गरेको थियो । त्यसपछि जाडो मौसमसँगै सबै अन्तर्राष्ट्रिय उडान ठप्प भए । अहिले तीन महिनापछि पुनः सुरु भए पनि चित्तबुझ्दो छैन । मौसम खराबीका कारण तीनपटक अन्तर्राष्ट्रिय उडान भारतको लखनउ विमानस्थलमा डाइभर्ट गर्नुपर्दा यात्रुले समस्या झेल्नुपरेको थियो ।

भैरहवा विमानस्थलबाट कुवेतको जजिरा एयरवेजले नियमित उडान र हिमालयन एयरलाइन्सले चार्टर उडान भर्दै आएको छ । विमानस्थलका महाप्रबन्धक गोविन्दराज दाहालले विमानस्थलमा नयाँ उडान थपिने क्रममा रहेको बताउनुभए पनि त्यसो हुन सकेको छैन ।

विमानस्थलमा क्याटोगरी–१ को आईएलएस उपकरणहरूका साथै क्याटोगरी–२ का उपकरण पनि प्रयोग गरिएका छन् । आईएलएस क्याटोगरी–१, क्याटोगरी–२, क्याटोगरी–३ को ए, बी, सी उपकरणले पनि क्रमशः खराब मौसममा पनि विमानलाई उडान–अवतरण गर्न सहज गर्ने हो । क्याटोगरी–२ मा केही थप उपकरण जडान गरेर खराब मौसममा पनि विमानस्थल सञ्चालन गर्न सकिने भए पनि आईएलएस सुचारु गर्दा भारतको भूमिमा रेन्ज पुग्ने हुँदा त्यसलाई रोकिएको छ ।

अनुमति विना उक्त कार्य गरिएमा विमान दुर्घटना वा कुनै समस्याको क्षतिपूर्तिको दाबी गर्न नमिल्ने हुन्छ । सरकारबाट अनुमतिका लागि गम्भीर भएर भारतसँग छलफल भएको छैन । अर्बौँ ऋणमा बनेको विमानस्थल सञ्चालनको दैनिक खर्च लाखौँ रुपियाँको छ ।

गौतमबद्धबाट उडान भर्न २०–२५ वटा मुलुकका विमान कम्पनीहरूले छलफल गरेका छन् । तर सुविधा, सुरक्षा, नाफालगायतका विषयमा प्राविधिक कठिनाइ भएकाले तत्कालै उडान भर्न इच्छुक नदेखिएको बताइएको छ ।

विमानस्थललाई लक्षित गरी भैरहवामा अर्बौँ रुपैयाँ लगानी भइसकेको छ । “गौतमबद्धमा अहिलेसम्म जजिरा र हिमालय मात्र आएका छन्, अन्य विदेशी कम्पनी ल्याउन नसक्नु सरकारको कमजोरी हो”–नाटा लुम्बिनी अध्यक्ष रचना पन्तले भन्नुभयो, “विदेशी कम्पनी नआएको अवस्थामा अर्बौँ लगानीमा निर्माण भएको विमानस्थल र यो क्षेत्र चलायमान बनाउन राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले भए पनि उडान भर्नुपर्छ ।”

एअर रुट सीधा नभएको, बी ३४५ टु वे हुन नसक्नु हाल वान वे मात्र भएको, नो अब्जेक्सन लेटर भारतीय नागरिकलाई विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न आवश्यक पर्नेमा सो नभएको, आईएलएस सञ्चालन मुख्य चुनौती रहेको विमानस्थल कार्यालयले जनाएको छ । महाप्रबन्धक दाहालले मुख्य चुनौती छिट्टै हल गरेर समाधान निकाल्नेतर्फ कोसिस भइरहेको बताउनुभयो ।

लुम्बिनी होटल व्यवसायी सङ्घका अध्यक्ष गोविन्द ज्ञवालीले विमानस्थल पूर्ण सञ्चालन नभएसम्म निजी क्षेत्रले लगानी गरेको अर्बौँको लगानी जोखिममा रहेको बताउनुभयो । सरकारी निकायको दीर्घकालीन सोच नभई परियोजना निर्माण हुँदा यस्तो अवस्था आइरहेको उहाँको भनाइ छ ।

बिज्ञापन