स्वास्थ तथा सरसफाइ

पूर्वी तराईका पशुमा लम्की स्किन रोगको प्रकोप, किसान समस्यामा

बिज्ञापन

विराटनगर । पूर्वी तराईका चौपायामा पनि ‘लम्पी स्किन रोग’ अर्थात् छालामा हुने गिर्खे रोग देखिएको छ । तीन वर्षअघि भारत र बंगलादेशमा देखिएको यो रोग दुई वर्षअघिदेखि नेपालमा पनि भित्रिएको थियो ।

बिज्ञापन

यस पटक पनि यो रोग फैलिएपछि कृषि पेशामै आत्मनिर्भर रहेर जीवन धान्दै आएका किसानले नोक्सानी ब्यहोर्नुपरेको छ । सुनसरी र मोरङका केही गाईमा लम्पी स्किन रोगसँग मिल्दो लक्षण देखा परेपछि गरिएको परीक्षणको रोगको पुष्टि भएको हो ।

अहिले सुनसरीको धरान, इटहरी, बराहक्षेत्र र मोरङका सुन्दरहरैचा, ग्रामथान लगायतका ठाउँका चौपायामा यस रोगको संक्रमण देखिएको छ । रोग देखिए पनि रोकथामका लागि प्रभावकारी पहल हुन सकेको छैन् ।

प्रकोप नियन्त्रणका लागि चौपायमा खोप लगाउनुपर्ने भएपनि नेपालमा यो खोप उपलब्ध नभएकाले लगाउन नसकिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख कुमारसिंह खत्रीले बताए । प्रकोप फैलिएका स्थानमा जैविक सुरक्षाका सामान्य सतर्कता अपनाइएको उनले बताए ।

लम्पी स्किन रोग देखिएका चौपायामा घाँटी, पुच्छर वरिपरिको भाग, पेट, थुन लगायत शरीरका भागमा गिर्खा देखिने, गिर्खा घाउ बन्ने र फुटेर पानी बग्ने गरेको छ । त्यस्तै, एक सय पाँच डिग्रीसम्म ज्वरो आउने, कचेरा र सिगान बग्ने तथा मुखबाट धेरै फिज निकाल्ने जस्ता लक्षण देखिएका छन् । रोग लागेपछि ८० प्रतिशतसम्म दुध घट्ने गरेको किसानको भनाइ छ ।

लम्पी स्किन रोग लामखुट्टे, झिँगा र किर्नाको टोकाइबाट सर्ने बताइएको छ । रोग लागेपछि पशुलाई सार्वजनिक स्थलमा चरणका लागि लैजान नहुने र रोग लागेका पशुलाई अन्य पशुसँग सम्पर्कमा आउन नदिने, जैविक सुरक्षामा ध्यान दिने, गोठ सरसफाई गरेपछि नियन्त्रणमा सहज हुने पशुबिज्ञ बताउँछन् ।

बिज्ञापन