घटना

साँडेपानीको जङ्गलमा चितुवाले आमाछोरीलाई नै घेरेपछि….

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

घोडाघोडी (कैलाली), चैत २६ गते । कैलालीमा सेउला लिन जङ्गल गएका दुई आमाछोरी रुख चढेर चितुवाबाट बचेका छन् ।

घोडाघोडी नगरपालिका–२ साँडेपानीका जनकला शाही र उहाँकी छोरी भूमिका शाही आइतबार सेउला सोहर्न नजिकै रहेको चिडिया ताल सामुदायिक वनमा जानुभएको  थियो । 

बिज्ञापन

सेउलाको भारी बनाउँदै गर्दा एक्कासि चितुवा देखेपछि जनकलाले हतारहतार छोरीलाई आफूतिर तानेर नजिकै रहेको रुखमा चढेको बताउनुभयो । जनकलाले कापीरहेको स्वरमा भन्नुभयो ‘‘छोरीले मम्मी बाघ आयो भन्दाभन्दै नजिकै आउन लाग्यो, हतारहतार छोरीलाई तानेर नजिकै रुखमा चढाएँ अनि म पनि चढेँ, रुखबाट अर्को पनि डाँडाबाट आउन लागेको देखेँ ।’’

 दुईवटा चितुवा आफ्नो नजिकै आउँदै गरेको देखेपछि अत्तालिँदै जनकलाले १०० मा फोन लगाउनुभयो । त्यहाँबाट ईलाका प्रहरी कार्यालय सुखडको नम्बर पाएपछि प्रहरीलाई फोन गरी बोलाएको उहाँले बताउनुभयो । 

करिब एक किलो मिटर दूरीमा प्रहरी कार्यालय रहेकाले खबर पाउनासाथ प्रहरी पुगेको थियो । ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी विरेन्द्र विकले ‘बाघले हामीलाई घेर्यो हामीलाई बचाउनुस्’ भन्दै अतालिँदै फोन आएपछि आफूहरु पाँच/छ मिनेटमा जंगलमा पुगेको बताउनुभयो । प्रहरीटोली साईरन बजाउँदै जंगल पुगेपछि चितुवा भागेको थियो । 

चिडिया ताल सामुदयिक वन महेन्द्र राजमार्गसँग जोडिएको सुखड बजार नजिकै छ । स्थानीयहरु रुखबाट झरेको स्याउला मलको रुपमा प्रयोग गर्न गर्मी समयमा जङ्गल जाने गर्दछन् ।  

प्रमुख डिएसपी विकले एक्लै सामुदायिक वनमा घाँस, स्याउला लिन नजान आग्रह गर्नुभयो । उहाँले स्थानीयलाई यतिखेर वनजङ्गलमा जङ्गली जनावरको आवतजावत बढेको बताउँदै सजकता अपनाउन अनुरोध गर्नुभयो । जनकलाले चलाखी अपनाउँदै रुखमा चढेर तत्काल फोन गरेकाले उहाँको उद्धार भएको बताउँदै कुनै आपत विपत परे प्रहरीलाई खबर गर्न समेत उहाँले आह्वान गर्नुभयो । 

समयमै प्रहरीलाई खबर भएकाले पनि जनकला र भूमिका ठुलो दुर्घटनाबाट बच्नु भएको छ । जनकलाले समयमै प्रहरी पुगेर ज्यान जोगाएकोमा प्रहरीलाई धन्यवाद दिनुभयो । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।