घटना समाचार

फिल्मी शैलीमा ३२ लाख लुट्ने चार जना पक्राउ

बिज्ञापन

दमक, वैशाख २ गते । झापामा फिल्मी शैलीमा महँगो जग्गा सस्तोमा दिने भन्दै ३२ लाख ठगी गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको छ । जग्गा बैना भनेर ३२ लाख रुपियाँ लिएर फरार भएकाहरूलाई प्रहरीले पक्राउ गरेको हो । पूर्व योजना अनुसार रकम लुट्ने नियतका साथ जग्गाको बहाना बनाउन संलग्न सबैलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

बिज्ञापन

नयाँ वर्षको अघिल्लो दिन बिहीबार बिर्तामोड बसपार्क नजिकै रहेको दुई कट्ठा जग्गा किन्नका लागि मोरङको उर्लाबारीबाट आएकी विष्णुमाया सापकोटा सुवेदीले ३२ लाख रुपियाँ बैना गर्नु भएको थियो । स्थानीय अनिल विश्वकर्मालाई साक्षी राखेर उहाँले जग्गा उपलब्ध गराउँछु भन्ने चिनजानकै ब्याक्ति विजय राई सहितले ठगी गरेको पाइएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सस्तोमा जग्गा पाइएको छ भन्दै राईले सुवेदीलाई बिहीबार पैसा सहित आउन एक होटेलमा भनेका थिए । कमल गाउँपालिका वडा नं. ५ बस्ने राईको विश्वासमा सापकोटाले ३२ लाख नगद दिनु भएको थियो । जग्गा बैना गर्ने सापकोटा र बोलाउने राई अगाडि नै चिनजान भएको अनुसन्धानबाट खुलेको छ, जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताउनु भयो ।

मेचीनगर नगरपालिका वडा नं. ६ बस्ने वर्ष ५५ का रण बहादुर पोखरेललाई जग्गा मालिक बनाएर र अन्य केहीलाई काठमडाैँबाट बोलाएर राईले ३२ लाख रकम लुट्ने योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइन्छ । काठमाडौँबाट राजेश श्रेष्ठ र जनक रेग्मीलाई दुई दिन अगाडि नै झापा बोलाएको पनि खुलेको छ, प्रहरी श्रोतले भन्यो ।

बिना कागज ३२ लाख रुपियाँ लिएर राई सहितका ब्याक्ति फरार भएपछि पीडितले तत्कालै प्रहरीलाई खबर गरेपछि प्रहरीले खोजतलास सुरु गर्दा घटनामा संलग्न ४ जना मध्ये २ जना इलामबाट र २ जना झापाबाट पक्राउ परेको रिजालले जानकारी दिनु भएको छ । इलाम नगरपालिका वडा नं. ७ पुरानो बसपार्कको एक होटेलमा लुकेर बसेका श्रेष्ठ र रेग्मीको साथबाट १४ लाख ६५ हजारसहित प्रहरीले शुक्रवार पक्राउ गरेको हो ।

यसै गरी झापाकै अर्जुनधारा नगरपालिका वडा नं. ११ मा रहेको एक होटेलमा लुकेर बसेका राई र पोखरेललाई १३ लाख सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ । ३२ लाख रुपियाँ लुटेकोमा उनीहरूले एक दिनको अवधिमा ४ लाख भन्दा बढी खर्च गरिसकेको पाइएको पनि प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ । 

बिज्ञापन