राष्ट्रिय समाचार

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेट, संसदीय समिति गठनबारे छलफल

बिज्ञापन

काठमाडौं, वैशाख ८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।

बिज्ञापन

भेटबारे सञ्चारकर्मीले राखेको जिज्ञासाको संक्षिप्तमा जवाफ दिनुहुँदै अध्यक्ष ओलीले समसामयिक विषयमा कुराकानी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘अहिलेसम्म त्यस्तै–त्यस्तै छ । विभिन्न समसामयिक विषयमा कुराकानी भयो ।’’

अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि एमाले संसदीय दलको कार्यालयमा आएर संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रमुख सचेतक पदम गिरी लगायतका नेताहरूसँग पनि छलफल गर्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्ड र ओलीबीचको भेटवार्ताबारेमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै प्रमुख सचेतक गिरीले संसदीय समितिलाई छिटोभन्दा छिटो गठन गर्ने विषयमा दुई नेताहरूका बीचमा कुराकानी भएको बताउनुभयो । छलफल भए पनि कुनै निष्कर्ष भने ननिस्किएको ब्रिफिङ अध्यक्ष ओलीले आफूहरू समक्ष गर्नुभएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘खासगरी अहिले विषयगत समिति र संयुक्त समिति जुन छन्, कसरी यो समस्यालाई हल गर्ने, छिटोभन्दा छिटो कसरी समिति निर्माण गरेर काम अगाडि बढाउने भन्ने विषयमा छलफल भयो । छलफल सघन ढङ्गले नै भयो तर पनि निष्कर्ष केही भएको छैन । त्यही ढङ्गले छलफल ग¥यौँ मात्रै भन्नुभयो । विषयगत समिति र संयुक्त समितिमा नै विशेषगरी छलफल केन्द्रित थियो । त्यस विषयमा छलफल चाहिँ भयो निष्कर्ष केही भएन भन्ने कुरा राख्नुभयो ।’’ प्रमुख सचेतक गिरीले दुई नेता बीचमा कुनै पनि समझदारी बन्न नसकेको स्पष्ट पार्नुभयो ।

बिज्ञापन