खेलकुद

सन्दीपको अलराउन्ड प्रदर्शनमा कतारमाथि नेपालको जित, बन्यो समूहविजेता

बिज्ञापन

काठमाडौं । एसीसी प्रिमियर कप अन्तरगत समूह चरणकाे आफ्नो अन्तिम खेलमा  कतारविरुद्ध जित हात पार्दै नेपाल समूह विजेता बनेकाे छ । पहिलाे इनिङमा खराब ब्याटिङ गरेको नेपाललाई बलिङले जित दिलाएको हाे । नेपालको जितमा सन्दीप लामिछाने नायक बने ।

बिज्ञापन

टस हारेर पहिलाे ब्याटिङ गरेकाे नेपालले १५८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेकाे थियाे । सन्दीपले ५ विकेट लिएपछि  कतार २५.१ ओभरमा ८९ रनमै अलआउट भयाे । नेपालका लागि साेमपाल कामीले पनि महत्वपूर्ण तीन विकेट लिए ।

उच्च फर्ममा रहेका नेपाली ब्याट्सम्यानहरुले आज कमजोर मानिएको टिमविरुद्ध अपत्यारिलोरुपमा खराब प्रदर्शन गरेका थिए । प्रतिकुल कन्डिसनलाई हेरेर धैर्यता अपनाउन नसक्दा ब्याट्सम्यानहरु फ्लप भए । १११ रनमा ९ विकेट गुमाइसकेको नेपाललाई उनै सन्दीपले आंशिक उद्दार गरेका थिए । उनले १० औं नम्बरमा आएर बहुमूल्य ४२ रन जोडे । उनको त्यही इनिङले नेपाललाई अलिकति आशा दिलाएको थियो । नभन्दै म्याचमा सन्दीपको इनिङ नै निर्णायक सावित भयो ।

अन्तिम विकेटका लागि सन्दीप र अर्का स्पिनर ललित राजवंशीबीच ४६ रनको महत्वपूर्ण साझेदारी भएको थियो । उक्त साझेदारीमा ललितले १ रन मात्रै बनाए पनि सन्दीपलाई बलियो साथ दिएका थिए । तर, उनी एलबिडब्लू आउट भएपछि सन्दीप अर्धसतकसम्म पुग्न सकेनन् ।

यसअघि नेपालले खराब सुरुवात गर्दै २ रनमै पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको थियो । भिम सार्की पनि आज चलेनन् । त्यसपछि आसिफ शेख र रोहितले नेपाललाई उकास्ने प्रयास गरेका थिए । उनीहरुले ४८ रनको साझेदारी गर्दै इनिङ सम्हाले । तर, ५७ रनको स्थितिमा आसिफ आउट भएपछि विकेटका चाङ लाग्यो । आसिफले २७ बलमा १९ रन बनाए । रोहितलाई विवादास्पदरुपमा क्याच आउट दिइएपछि नेपाल संकटमा परेको थियो । रोहितले आउट हुनुअघि ३६ बलमा २७ रन जोडेका थिए ।

नेपालले आज सोमपाल कामीलाई पाचौं नम्बरमा प्रमोसन गरेको थियो । तर, यो प्रयोग असफल भयो । आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र गुल्शन झा पनि चल्न सकेनन् । अन्तिम विकेटका लागि सन्दीप र ललितको साझेदारीले नेपाललाई राहत दियो ।

कतारका अमिर फारुकले सर्वाधिक ४ विकेट लिए । उनले ९.३ ओभरमा ४२ रन खर्चिए । ओवासिस अहमदल् १० ओभरमा ३६ रन खर्चिएर तीन विकेट लिँदा, गयान मुुनाविराले दुई तथा, इक्रामुल्लाह खानले एक विकेट लिए

दोस्रो इनिङमा कतारले खराब ब्याटिङ र नेपालले उत्कृष्ट बलिङ गर्यो । कतारको ब्याटिङमा ओपनर जाहिर इब्राहिम र खुर्रम शाहजादले सर्वाधिक १५–१५ रन जोडे । अमिर फारुख १४ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि सन्दीपले पाँच विकेट झार्ने क्रममा ९.१ ओभरमा तीन मेडन राख्दै १४ रन खर्चिए । सोमपाल कामील तीन र ललित राजवंशीले दुई विकेट लिए ।

समूह ए को नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै सुखद सुरुआत गरेको थियो । दोस्रो खेलमा ओमानलाई ८४ रनले पराजित गर्दै नेपालले लगातार दुई जित निकालेको थियो ।
तेस्रो खेलमा पानि परेका कारण खेल हुन नसक्दा साउदीसँग अंक बाड्दै नेपाल एक खेल अगावै सेमिफाइनल पुगेको थियो ।

आज मुलपानी मैदानमा जारि कुवेत र हङकङविरुद्धको खेलमा हङकङ विजयी भए नेपालले सेमिफाइनलमा यूएईसँग खेल्नेछ भने, कुवेत विजयी भए कुवेतसँग खेल्नेछ ।

सेमिफाइनलका दुवै खेल १६ गते हुनेछन् । भने, फाइनल १८ गते हुनेछ । यो प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछन् ।

बिज्ञापन