टीकापुरमा बढ्यो अवैध उत्खनन् र तस्करी

टीकापुर । कैलालीकाे टीकापुर क्षेत्रमा अवैध नदी उत्खनन् बढेको छ । टीकापुर नगरपालिका वडा नं ५ र ८ मा कर्णाली नदी किनाराबाट ढुंगा र वालुवा निकाल्ने कार्य धमाधम चलिरहेको छ ।
विश्व बैंकको ऋण सहायतमा निर्माण भएको कर्णाली तटबन्धन छेउबाट गैरकानुनी रुपमा ढुंगा र वालुवा उत्खनन् गर्ने गिरोह नै सक्रिय छन् ।

गतवर्ष त्यहीँ स्थानबाट नदी उत्खनन् गरिँदा तटबन्धन भत्किएर कर्णाली नदी वस्तीमा पसेको थियो । जसबाट हजारौँ हेक्टर धानबाली नष्ट भएको थियो भने नगरपालिकाका वडा नं ५, ६, ७ र ८ का दर्जानाैँ घरपरिवार विस्थापित भएका थिए ।
अवैध उत्खनन बारेमा स्थानीय सरकार र प्रहरी प्रशासनलाई जानकारी गराउँदासमेत ती निकायले कुनै चासो नदेखाएको स्थानीयले गुनासो छ । अवैध उत्खननमा संलग्न गिरोहले नगरपालिकाका पदाधिकारी र प्रहरीलाई कमिशन दिएर संरक्षण गरेको स्थानीयको आरोप छ ।
यस्तै, टीकापुरमा भारतबाट अवैधरुपमा पशुको आयातसमेत बढेको छ । टीकापुर नाकामा क्वारेन्टाईन नहुँदा पशु आयात गर्न प्रतिबन्द गरिएको छ । तर, प्रहरीकै संरक्षणमा दैनिकजसो सिमापारीबाट सयौंका संख्यामा राँगा-भैसी तस्करी भइ नेपाल भित्राइरहेको स्थानीयको भनाइ छ ।
तस्करी गरी ल्याइएका राँगा र भैसी काठमाडौंलगायत ठूला शहरमा मासुका लागि खपत गरिँदै आएको छ । क्वारेन्टाईन जाँच नगरी भित्राइएका पशुमा रोग हुनसक्ने भएकाले महामारीको खतरा आउन सक्ने भन्दै स्थानीय र पशुपालक किसान चिन्तित बनेका छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
