Sudur Pradesh News

कैलालीको वनमा डढेलोबाट तुलनात्मक कम क्षति

बिज्ञापन

धनगढी, वैशाख १४ गते । कैलालीको वन क्षेत्रमा यसवर्ष डढेलोको कारण तुलनात्मक अन्य वर्षभन्दा कम क्षति भएको छ । मुलुकको विभिन्न क्षेत्रका वनमा डढेलोका कारण ठूलो क्षति भइरहेका बेला कैलालीमा क्षति कम भएको हो ।

बिज्ञापन

डढेलोेले गर्दा अहिलेसम्म वनमा धेरै नोक्सान नभएको डिभिजन वन कार्यालय धनगढीले जनाएको छ । सो कार्यालयका अनुसार गतवर्ष करिब एक हजार ७०० हेक्टर वन क्षेत्रमा डढेलो लागेको थियो । तर यो वर्ष हालसम्म डेढ–दुई सय हेक्टर वन क्षेत्रमा मात्रै आगलागी भएको छ । 

‘अहिलेसम्मको अवस्था हेर्दा डढेलोबाट वन जोगिएको छ’ डिभिजन वन कार्यालयका सूचना अधिकारी डबलबहादुर बोहराले भन्नुभयो, ‘थोरै स्थानमा मात्रै डढेलो लागेको छ ।’ यस वर्ष डढेलो लागेकोमध्ये तराईमा कम र चुरे क्षेत्रमा बढी रहेको उहाँले बताउनुभयो । तराईमा डढेलो चाँडै नियन्त्रण गर्न सकिन्छ भने चुरेमा आगो निभाउन समस्या हुने उहाँको भनाइ छ । 

भिरपाखाका कारण डढेलो निभाउन नसकिने गरेका कारण चुरे क्षेत्रमा बढी डढेलो फैलिनेगरेको जनाइएको छ । गर्मीयाम सुरु भएपछि चैत, वैशाख, जेठ महिनासम्म डढेलो लाग्ने गर्छ । डढेलोका कारण बर्सेनी हजारौं हेक्टर क्षेत्रफलमा वन नाश हुनेगरेको छ ।  

यस वर्ष पानी परेका कारण विगत वर्षजस्तो डढेलो नरहेको बताइएको छ । तराईमा कहीँ–कहीँ मात्रै डढेलोले वन नोक्सान भएको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले बताउनुभयो । ‘अरु सालजस्तो डढेलो छैन’ उहाँले भन्नुभयो । 

बिज्ञापन