Sudur Pradesh News

सुदूरपश्चिमको बजेट प्रति सत्तारुढ दलकै विरोध, हुबहु पारित हुन नदिने चेतावनी

बिज्ञापन

कैलाली । सुदूरपश्चिममा सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट प्रति सत्तारुढ दलकै नेताहरू रुष्ट भएका छन् ।

बिज्ञापन

नेपाली कांग्रेसको नेतृत्वमा रहेको सुदूर पश्चिम प्रदेशमा माओवादी र नेकपा एकीकृत समाजवादी सरकारमा छन् । अहिले यी तीनै दल बजेट उपयुक्त नभएको बताउँदै आइरहेका छन् ।

कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले सरकारले सन्तोषजनक बजेट नल्याएको आरोप लगाए । उनले बजेट सुधार हुनुपर्नेमा जोड दिएका छन् । त्यसका लागि चाडै संसदीय दलको बैठक बस्ने र छलफल हुने धामीको भनाइ छ ।

‘योजना सन्तोषजनक भएन । सुधार हुनुपर्छ ’ उनले नेपाल प्रेसलाई भने, ‘कांग्रेसका सांसदहरूलाई पनि चित्त बुझेको छैन । दलको बैठकमा छलफल हुन्छ र त्यही अनुसार हामी अघि बढ्छौँ ।’

यस अघि २० लाख भन्दा साना योजना स्थानीय तहलाई जिम्मा लगाउने छलफल भएपनि अहिले ४ लाख सम्ममा योजना पनि प्रदेश सरकारले गर्ने कुरा चित्तबुझ्दो नभएको उनले टिप्पणी गरे ।

कांग्रेसका सांसदहरू आफ्नै सरकार भएपनि यस्तो बजेट हुबहु पारित गर्न नसकिने बताउँछन् । कांग्रेस प्रदेश पार्टी महामन्त्री तथा प्रदेश सभा सदस्य मेघराज खड्काले पनि बजेट सन्तोषजनक नआएको बताए ।

‘कर्मचारी तन्त्र हाबी देखियो । नीति तथा कार्यक्रममा सहयोग पुग्ने गरी बजेट आएन’ उनले भने, ‘सरकारको प्राथमिकता र बजेट फरक परेको छ ।’

सरकारमा सहभागी दल माओवादी केन्द्र भित्र सबै भन्दा धेरै बजेट प्रति असन्तुष्टि छ । माओवादी प्रदेश उपाध्यक्ष मानसिंह मालले हुबहु बजेट पारित गर्न नदिने चेतावनी समेत दिएका छन् ।

‘बजेट हुबहु पारित हुन सक्दैन । केही संशोधन हुनुपर्छ ’ उनले भने, ‘कहीँ योजना परेका छैनन्, कहीँ थुप्रै छन् । यस्तो हुँदैन ।’

उनले अर्थमन्त्रीकै पार्टी बजेट प्रति सन्तुष्ट नभएको बताए ।

‘अर्थमन्त्रीकै पार्टी असन्तुष्ट देखिएको छ । माओवादी संसदीय दलकै नेताले पनि विरोध गरिसक्नु भएको छ । कि संशोधन गर्नु पर्छ कि सरकारको समर्थन नरहन सक्न’ उनले भने, ‘यस्तो बजेटको साची माओवादी बन्न सक्दैन ।’

अर्थमन्त्री नरेश बहादुर शाही नेकपा एकीकृत समाजवादी बाट मन्त्री भएका हुन् । शाहीले प्रस्तुत गरेको बजेट प्रति नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी पनि सन्तुष्ट छैनन् । उनले यस विषयमा छलफल हुने बताए ।

‘कर्मचारीले भनेको मानेको जस्तो देखिन्छ । मान्छे निराश छन् । बजेट केहि मिलाउनु पर्छ’ उनले भने । सोडारीले आफूले मुख्यमन्त्री र अर्थमन्त्रीलाई दिएको सुझाव पनि कार्यान्वयन नगरेको गुनासो गरे ।

सरकारले असार १ गते २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट प्रस्तुत गरेको थियो । सोडारीले अझै ठुलो आकारको बजेट ल्याउन सकिने बताउँदा बताउँदै सानो बजेट ल्याएको भन्दै गुनासो समेत गरेका छन् ।

सत्ता गठबन्धनमा रहेर सरकारमा सहभागी नभएको नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले बजेट प्रति निकै गुनासो आइरहेको र आफूले कार्यक्रम पुस्तिका अध्ययन गरिरहेको बताए ।

स्वतन्त्र निर्वाचित सांसद डा. तारा जोशीले नेताहरूले निराशाजनक बजेट आएको बताए । आश्वासन दिएका योजनाहरूमा बजेट हाल्दा राम्रो बजेट नआएको उनको बुझाइ छ ।

‘एकदमै निराशावादी छ । जहाँ मन्त्री छन् त्यही बिग्रेको छ अनावश्यक कुरामा बजेट छ । नेताहरूले आश्वासन दिएका योजनामा बजेट छन्’ उनले भने, ‘यस्तो बजेटलाई समर्थन गर्न सकिँदैन ।’

बिज्ञापन