राजनीति

मोर्चा बनाउनुपर्ने थियो, हतारमा नेकपा बनाएर गल्ती गरियो : प्रचण्ड

बिज्ञापन

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा गठनको बेलामा पार्टी एकताको लागि आफूहरुले हतारो गरेको बताएका छन् । आज राष्ट्रिय सभागृहमा समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

बिज्ञापन

उनले भने, ‘सायद, हामी त्यतिबेला पार्टी एकता गर्ने हतारोमा परेछौँ कि ? हामीले त्यतिबेला नै समाजवादी मोर्चा भनेर मोर्चाबाट काम सुरु गरेर छलफल गर्दै राजनीतिक विचार, सङ्गठनमा कार्यशैली, मोर्चामा एकरूपतामा कायम गरेपछि एकता गर्ने उद्देश्य राखेको भए सफल हुन्थ्यौ कि ? यो एउटा गम्भीर प्रश्न छ । यो सबैले सोच्नुपर्ने प्रश्न छ ।’

उनले भने, ‘हामीले यही हलामा यही रोष्टमबाट नेकपा बनाउने घोषणा गरेका थियौँ । मैले लामो व्याख्या गर्न छैन । हामीले निकै ठूलो भरोसा र अपेक्षा राखेका थियौँ । यो नेकपाले देशलाई  समाजवादको बाटोमा आर्थिक सामाजिक राजनीतिक रूपान्तरणको बाटोमा अगाडि बढाउने छ भन्ने निकै ठूलो विश्वास हामीले लिएका थियौँ ।’

उनले नेकपाको लागि आफूले नै प्रस्ताव गरेको बताए । ‘त्यतिबेला पनि माओवादी केन्द्रको अध्यक्षको हैसियतले मैले नेकपा एमालेका निम्ति प्रस्तावको भूमिका खेलेको थिएँ । तर दुर्भाग्य जनताको र आम कार्यकर्ताको अपार समर्थनको र उत्साहको बाबजुद पनि हामीले त्यो पार्टीलाई बचाउन सकेनौँ ।’

नेकपा बचाउन नसेकोमा अहिले कसैलाई आक्षेप लगाउनु नहुने र सबैले एकपटक गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताए । उनले भने, ‘नेकपा बचाउन नसक्नुमा अहिले कसैलाई आक्षेप लगाउनु हुँदैन । हामी सबैले एकपटक गम्भीर आत्मसमीक्षा भने गर्नुपर्छ । हामीले त्रुटि गर्यो एकपटक ऐतिहासिक समीक्षा गरौँ ।’

निश्चित विचार र सिद्धान्तको साथ अघि बढेर सफल भएको उल्लेख गर्दै उनले सिधै पार्टी एकता गरेकाले दुर्घटना भएको बताए । प्रचण्डले अब समाजवादी मोर्चाको सफलतालाई कसैले रोक्न नसक्ने जिकिर गरे ।

बिज्ञापन