राष्ट्रिय समाचार

रवि र स्वर्णिमले आज सांसद पदको शपथ लिँदै

बिज्ञापन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका दुई सांसदको आज पद तथा गोपनियताको शपथ हुँदैछ । १० बैशाखमा सम्पन्न चितवन–२ बाट निर्वाचित रवि लामिछाने र तनहुँ–१ बाट निर्वाचित डा स्वर्णिम वाग्लेले आज सांसद पदको शपथ लिने भएका हुन् ।

बिज्ञापन

उनीहरुको शपथ कार्यक्रम ११ः३० बजे सिंहदरबारस्थित संसद सचिवालयमा तय भएको सभामुख देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए । उनका अनुसार बारा–२ बाट निर्वाचित जसपाका उपेन्द्र यादव भने बारामै रहेकाले आज उनको शपथ ग्रहण नहुने भएको छ ।

यसअघि ४ मंसिरको निर्वाचनमा चितवन २ बाट लामिछाने सांसद निर्वाचित भएका थिए । तर, उनको नागरिकता विवादमा सर्वोच्चको फैसलाबाट सांसद पद गुमेपछि पुनः त्यहाँ उपनिर्वाचन भएको हो । लामिछाने पाँच महिनापछि सोही क्षेत्रमा भएको उपनिर्वाचनमा ५४ हजार १ सय ७६ मतसहित विजयी भएका हुन् ।

यस्तै, तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त स्थानमा उपनिर्वाचन भएको थियो । त्यहाँ वाग्ले ३४ हजार ९ सय १९ मतसहित निर्वाचित भएका थिए ।

बिज्ञापन