सुदूरपश्चिम प्रदेश

बझाङको साइपालका विद्यालय आजदेखि असारसम्म बन्द

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बझाङ: बझाङको साइपाल गाउँपालिकाभित्रका विद्यालय आजदेखि असारसम्मका लागि बन्द गरिने भएको छ। अभिभावकसँगै विद्यालय जाने उमेरका बालबालिका यार्सा सङ्कलन गर्न लेकतिर जाने भएपछि विद्यालय बन्द गरिएका हुन्।

अधिकांश विद्यार्थी यार्सा सङ्कलन गर्न लेकतिर हिँडेपछि विद्यालय बन्द गर्नुपरेको धलौन माविका सहायक प्रधानाध्यापक झलक धामीले बताए। उत्तरी भेगमा पर्ने काँडा, सुर्मा, छविसपाथीभेरा, तल्कोट, दुर्गाथली र मष्टा गाउँपालिका र बुंगल नगरपालिकाअन्तर्गत पर्ने अधिकांश विद्यालय यतिखेर विद्यार्थीहरु यार्सा सङ्कलनमा गएपछि बन्द गरे जस्तै भएका छन्।

बिज्ञापन

उत्तरी भेगमा अवस्थित दूरदराजका ती विद्यालय बर्सेनि तीन महिना बन्द हुने गरे पनि यो वर्ष भने पालिकाले निर्णय गरेर हिउँदे बिदाको सट्टामा एक महिना बिदा दिइएको साइपाल गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहराले बताए। उनले भने, ‘वैशाख १५ गतेसम्म विद्यालयमा भर्ना भई यार्सा सङ्कलन गर्न लेकतिर हिँडेका विद्यार्थी असारमा मात्र फर्कने गर्दछन्।’ 

आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय पढ्ने बालबालिका यार्सा सङ्कलन गरी आर्थिक उपार्जन गर्ने गर्दछन्। अघिल्ला वर्षमा विद्यार्थीहरू तीन महिना विद्यालय उपस्थित नभएपछि पाठ्यक्रमको पढाइ अधुरो रहने भएकाले विद्यार्थीले परीक्षामा कम अङ्क ल्याउने गरेका शिक्षकहरू बताउँछन्।

यस भेगमा १० वर्षका बालबालिकादेखि ६० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकसमेत यार्सा सङ्कलन गर्न लेकतिर जाने गर्दछन्। ज्येष्ठ नागरिकभन्दा बालबालिकाले नै यार्सा बढी टिप्ने भएकाले यार्सा टिप्ने समयमा अभिभावकले आफ्ना बालबालिकालाई समेत यार्सा टिप्न लेकतिर लिने गरेको साइपाल गाउँपालिकाका स्थानीयवासी दीपक बोहराले बताए।

बझाङको साइपाल गाउँपालिकामा यार्सा सङ्कलनकर्ताबाट रु सात लाख नौ हजार राजस्व सङ्कलन भएको छ। यही वैशाख १० गतेदेखि यार्सा सङ्कलनका लागि बन खुल्ला गरिएको थियो। सोही दिनदेखि आजसम्म सात सय ५२ जना साइपाल गाउँपालिकामा यार्सा सङ्कलनका लागि पाटन प्रवेश गरेको साइपाल गाउँपालिकाको तथ्याङ्कमा उल्लेख गरिएको छ। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।