राष्ट्रिय समाचार

शरणार्थी प्रकरण अनुसन्धान प्रतिवेदन : के के मुद्दा लाग्ने भयो ?

बिज्ञापन

काठमाडौं – ‘हाई प्रोफाइल व्यक्ति’ पक्राउ परेको नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पीडित र बिचौलियाको बयान, बालकृष्ण पन्थी कार्यदलको प्रतिवेदन किर्तेे, एसएमएस र केही बाउन्स चेक प्रमाणका रूपमा पेस गर्दै अनुसन्धान प्रतिवेदन तयार गरेको छ।

बिज्ञापन

प्रहरीले आइतबार उक्त अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाउने जनाएको छ।

अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार सुरुमा पीडितले दिएको बयान र गिरोहका सदस्यहरूले दिएको बयानका आधारमा फेला परेका बाउन्स चेक, मोबाइल सफ्टवेयर रिकभर गर्दा भेटिएका एसएमएस र गृह मन्त्रालयले गठन गरेर तयार पारेको प्रतिवेदनको किर्तेलाई नै मुख्य आधार र प्रमाणका रूपमा लिएर प्रतिवेदन तयार पारी सरकारी वकिल कार्यालयमा बुझाउन लागिएको हो। ‘सचिव टेकनारायण पाण्डेको एसएमएसका मात्रै ४० देखि ४५ वटा स्क्रिन सर्ट राखिएका छन्, अन्य बिचौलिया, गिरोह र पीडितका स्क्रिन सर्ट छन्,’ स्रोतले भन्यो।

पक्राउ परेका बिचौलियाको बयान, केही एसएमएस, केही नसाटिएका चेकका फोटोकपी र बैंक स्टेटमेन्ट, उजुरी, प्रयोग भएका सवारीसाधन, विभिन्न समयमा बिचौलियामार्फत भेटघाट भएका स्थल र मिति पनि प्रमाणका रूपमा राखिएका छन्। बिचौलियाहरूबाट बरामद भएका केही टिपोट, पीडितहरूले रकम दिएको लिखतलाई पनि आधार मानेर अनुसन्धान प्रतिवेदन तयार भएको छ।

उनीहरूको सम्बन्धमा पर्याप्त प्रमाण नभेटिएपछि प्रहरी कार्यालयमा पुनः अनुसन्धान गर्ने बाटो राख्न पूरक निवेदन परेको छ। सोहीअनुसार प्रहरीले ६० दिनको हदम्यादभित्र मुद्दा बुझाए पनि हाई प्रोइफाइल नेताहरूका मुद्दामा पुनः अनुसन्धान गर्ने बाटो रहिरहनेछ। त्यसमा अहिले नसमेटिएका व्यक्ति र पक्षलाई समेट्न सकिने प्रहरीको दाबी छ। प्रहरीले आफ्नो प्रतिवेदनमा ठगी, सरकारी किर्ते, संगठित अपराध र ‘राष्ट्रहित प्रतिकूलको कार्य गर्न नहुने’, भ्रष्टाचारलगायत कसुरमा मुद्दा चलाउन सिफारिस उल्लेख गर्ने तयारी गरेको छ।

मुलुकी अपराध संहिता २०७४ को दफा ५१ मा राष्ट्रहित प्रतिकूलको कार्य गर्न नहुने उल्लेख छ। प्रहरीले सोही दफाको उपदफा २ (क) मा उल्लेख भएको ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान वा नेपालको अन्तर्राष्ट्रिय छविउपर अपमान हुने, होच्याउने वा घृणा वा द्वेष फेलाउने’ कसुरमा मुद्दा चलाउन सिफारिस गर्ने तयारी गरिरहेको छ।

बिज्ञापन