राष्ट्रिय समाचार

५ महिनादेखि तलब नपाएका तिलोत्तमाका ७७ जना स्वास्थ्यकर्मी आन्दोलित

बिज्ञापन

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कार्यरत ७७ स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब नपाएपछि हातमा कालोपट्टि बाँधेर आन्दोलन गरेका छन् ।

बिज्ञापन

अन्य जिल्ला र पालिकामा दरबन्दी भएपनि राजनीतिक दवावको आधारमा धेरैले यो पालिकामा काज मिलाएर बसेकाले स्वास्थ्य मन्त्रालयबाट यहाँ कार्यरत दरबन्दीमा रहेकाहरुको पुसदेखि तलब नपाएका हुन् ।  स्वास्थ्य मन्त्रालयले दरबन्दी भएकै पालिकामा कर्मचारीको तलब व्यवस्थापन गरेको तर उनीहरु काजमा बाहिर खटिएकाले ती स्थानमा सम्बन्धित पालिकाले करारमा अन्य कर्मचारी राखेर त्यो तलब उनीहरुलाई खुवाएकाले यो समस्या आएको हो ।

स्वास्थ्य सेवामा पहाडी तथा ग्रामीण क्षेत्रमा दरबन्दी रहेका कर्मचारीहरु राजनीतिक पहुँचका तराईका सुगम पालिकामा काजमा खटिँदा दरबन्दी भएका ठाउँमा सेवा प्रवाहमा समस्या भएको र काजमा भएको ठाउँमा तलब खुवाउन समस्या भएको विषय नेपाल प्रेसले बुधबार प्रकाशन गरेको थियो ।

तिलोत्तमाको स्वास्थ्य शाखामा ४५ जनाको दरबन्दी भएको तिलोत्तमामा अहिले ७८ जना स्थायी कर्मचारी कार्यरत छन् । उनीहरुमध्ये ३३ जना अन्य ठाउँमा दरबन्दी भएर विभिन्न नामका काजमा यहाँ कार्यरत रहेका छन् । नगरपालिकाअन्तर्गतका १७ वटा स्वास्थ्य संस्थामा कार्यरत ७७ जना स्वास्थ्यकर्मीले पुस महिनादेखिको तलब नपाएपछि बाध्य भएर आन्दोलित गर्नुपरेको बताएका छन् ।

स्वास्थ्य सेवामा ७८ जना भएपनि सो शाखाका प्रमुख धुव्र घिमिरेलाई भने पालिकाले अन्य शीर्षकबाट तलब खुवाएको खुलेको छ । घिमिरेको दरबन्दी लुम्बिनी सांस्कृतिक नगरपालिकामा भएपनि नगरप्रमुख रामकृष्ण खाण र प्रमुख कार्यकारी अधिकृत नारायण अर्यालको योजनामा काजमा ल्याएर विभागीय प्रमुख बनाइएको आन्दोलनरत कर्मचारीको भनाइ छ ।

आन्दोलनरत कर्मचारीले नगरपालिका कार्यालयमै पत्रकार सम्मेलन गरी कर्मचारीले तलब नपाएपछि जेठ १ गते सबै स्वास्थ्यकर्मीको तर्फबाट ज्ञापनपत्र विभिन्न निकायमा बुझाए पनि सुनुवाइ नभएपछि चरणबद्धरूपमा शान्तिपूर्ण आन्दोलनमा आएको बताएका छन् ।

स्वास्थ्यकर्मी सङ्घर्ष समितिका संयोजक ज्ञानप्रसाद पौडेलले आफूहरूले तलब प्राप्तिका लागि नगरप्रमुख रामकृष्ण खाँण, उपप्रमुख जगेश्वरदेवी चौधरी र प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालसँग पटकपटक मौखिक र लिखित माग गर्दा पनि सुनुवाइ नभएको गुनासो गरे । उनले प्रमुख जिल्ला अधिकारीमार्फत माथिल्लो निकायमा ज्ञापनपत्र बुझाए पनि सुनुवाइ नभएको बताए ।

पाँच महिनासम्म तलब नपाउँदा घरखर्च चलाउन समस्या भएको भन्दै स्वास्थ्यकर्मीले छिटो तलब पाउने व्यवस्थाका लागि नगरपालिकासँग आग्रह गरिएको छ । यहाँ ४५ जना दरबन्दी तथा समायोजन संशोधन, कामकाज र कोभिड काज गरी ३३ जना दरबन्दीबाहेकका कर्मचारी छन् । तलब नपाएको विरोधमा अहिले कालोपट्टी बाँधेर काम गरिरहेका स्वास्थ्यकर्मीले जेठ १२ गतेदेखि नगरपालिका कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको सङ्घर्ष समितिका सदस्य जनस्वास्थ्य निरीक्षक ठानेश्वर बस्यालले जानकारी दिए ।

तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत हुँदा तलब दिन नसकिएको स्वीकार गरे । उनले स्वास्थ्यले पठाएको बजेटले आधा समयको तलब पुगेको र त्यसपछि बजेट नपुगेपछि सबैको रोकिएको बताए । सङ्घर्ष समितिले स्वास्थ्यकर्मीको पाँच महिनाको करिब चार करोड तलब दिन बाँकी रहेको जनाएको छ ।

आन्दोलनरत कर्मचारीले यस्तै समस्या रहेका अन्य पालिकाले स्थानीय स्रोतबाट व्यवस्थापन गरेपनि यहाँको नेतृत्वले नचाहेका कारण समस्या समाधान नभएको बताएका छन् । कर्मचारीले पालिकाको नेतृत्वले सबै कर्मचारीलाई समान व्यवहार नगरेको, अन्य शीर्षकमा धेरै बजेट खर्च गरेको आरोप लगाएका छन् । तर प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले त्यसो नभएको दावी गरेका छन् ।

तत्काल व्यवस्था गर्न कर्मचारी संगठनको माग

नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले लामो समयदेखि तलब नपाएको भन्दै यथाशीघ्र समस्या सम्बोधन गर्न माग गरेको छ ।

संगठनले एक विज्ञप्ती जारी गर्दै भोको पेटले काम गर्न नसक्ने भन्दै लामो समयदेखिको तलव तत्काल उपलव्ध गराउन ध्यानाकर्षण गराएको हो । संगठनका जिल्ला अध्यक्ष प्रेमप्रसाद खनाल र सचिव जीवन पौडेलद्वारा जारी विज्ञप्तीमा स्थायी सरकारको रुपमा अहोरात्र सेवा प्रवाहमा खटिने राष्ट्रसेवक कर्मचारीहरुको गुनासो तत्काल सम्बोधन गर्न माग गरिएको हो ।

एउटै कार्यक्षेत्रमा काम गरिरहेका कर्मचारीलाई समान व्यवहार नगरी पारिश्रमिक रोक्नु अमानवीय र गैरन्यायिक हुने भएकाले कर्मचारीलाई समान व्यवहार गर्न, आन्दोलनमा जानबाट रोक्न स्थायी समाधानका लागि सम्बन्धित क्षेत्रको ध्यानाकर्षण गराइएको छ ।

संगठनले स्वास्थ्यकर्मीहरुले थालेको आन्दोलनप्रति ऐक्यवद्धता समेत जनाएको छ । नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीलगायत कर्मचारीहरुबाट हुने थप आन्दोलन र विरोधका कार्यक्रमप्रति संगठनको सधै साथ र सहयोग हुने भन्दै विज्ञप्तीमा यसबाट पर्न जाने असरको जिम्मेवार सम्बन्धित पक्ष नै हुने उल्लेख गरिएको छ ।

बिज्ञापन