खेलकुदबिश्व

भारतलाई २०९ रनले हराउँदै अष्ट्रेलिया बन्यो टेस्ट च्याम्पियन

बिज्ञापन

काठमाडौं । टेस्ट च्याम्पियनसीपको दोस्रो संस्करण अष्ट्रेलियाले जितेको छ । ईंग्ल्यान्डको ओभल मैदानमा आयोजित फाइनल खेलमा भारतलाई २०९ रनले हराउँदै अष्ट्रेलिया उपाधि विजेता बनेको हो ।

बिज्ञापन

चौंथो इनिङमा अष्ट्रेलियाले भारतलाई जितका लागि ४४४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । तीन विकेट क्षतिमा १६४ रनको अवस्थाबाट पाचौं दिनको खेल सुरु गरेको भारत २३४ रनमै अल आउट भयो । भारतका कुनै पनि ब्याट्सम्यानले अर्धसतक बनाउन सकेनन् ।

स्कट बोल्यान्डले एउटै ओभरमा बिराट कोहली र रविन्द्र जडेजालाई आउट गरेपछि भारतको आशा लगभग समाप्त भएको थियो । आउट हुनुअघि कोहलीले ४९ रन जोडे । अजिन्का रहानेले केहीबेर संघर्ष गर्दै ४४ रन बनाए । भारतका तल्लो क्रमका ब्याट्सम्यानहरु क्रिजमा टिक्न सकेनन् ।

अष्ट्रेलियाका लागि नाथन लायनले ४ विकेट तथा स्कट बोल्यान्डले ३ विकेट लिएका थिए । मिचेल स्टार्कले २ र कप्तान प्याट कुमिन्सको खातामा एक विकेट गयो ।

अष्ट्रेलियाले पहिलो इनिङमा नै जितको आधारशीला बनाएको थियो । स्टिभन स्मिथ र ट्राभिस हेडबीच २८५ रनको विशाल साझेदारीको मद्दतमा अष्ट्रेलियाले ४६९ रन बनायो भने भारत पहिलो इनिङमा २९६ रनमा अलआउट भयो । पहिलो इनिङमा १६९ रन बनाएको ट्राभिस हेड म्यान अफ दि फाइनल बनेका छन् ।

भारत लगातार दोस्रोपटक टेस्ट च्याम्पियनसीपको फाइनलमा पराजित भएको हो । च्याम्पियनसीपको पहिलो संस्करणमा भारतलाई हराउँदै न्यूजिल्यान्ड विजेता भएको थियो ।

बिज्ञापन