बिश्व

साउदी अरबमा हत्या अभियोगमा तीन जनालाई मृत्युदण्ड

बिज्ञापन

रियाद । साउदी अरबमा एक सुरक्षा अधिकारीको हत्या गरेको अभियोगमा आइतबार ३ जना साउदी अरेवियन नागरिकलाई मृत्युदण्ड दिएको छ ।

बिज्ञापन

एएफपीका अनुसार यस वर्षको सुरुदेखि अहिलेसम्म साउदी अधिकारीहरूले ५२ जनालाई मृत्युदण्ड दिइसकेका छन्, जसमा २० जना आतङ्कवादसँग सम्बन्धित अपराधमा संलग्न छन् ।

साउदी अरबको गृह मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै तीनै जनाले राजधानी रियादमा एक अधिकारीको हत्या गरेको र उनको गाडीमा आगो लगाएर शव जलाएको जनाएको छ ।

उनीहरूलाई आतङ्कवादलाई आर्थिक सहयोग गरेको र हातहतियार, गोलाबारुद र विस्फोटक पदार्थ बनाउन प्रयोग हुने सामग्री राखेको अभियोगमा पनि दोषी ठहर गरिएको मन्त्रालयले जनाएको छ ।

उक्त वक्तव्यमा प्रयोग गरिएको विधिबारे केही उल्लेख गरिएको छैन, तर राज्यले प्रायजसो टाउको छेदन गरी मृत्युदण्ड दिने गरेको छ । यस वर्ष ‘आतङ्कवाद’का लागि सबैभन्दा बढी मृत्युदण्ड सुन्नी मुस्लिम राज्यको पूर्वी क्षेत्रमा भएको छ, जहाँ शिया अल्पसङ्ख्यक समुदायको बाहुल्यता छ ।

गत महिना साउदी अरबले दुई बहराइनीलाई पनि आतङ्कवादसँग सम्बन्धित अपराधमा मृत्युदण्ड दिएको थियो । साउदी अरब विश्वकै सबैभन्दा धेरै मृत्युदण्ड दिने मुलुकमध्ये एक हो ।

बिज्ञापन