मनोरञ्न

असुरक्षाको कारण देखाउँदै काठमाडौंको हलमा रोकियो ‘आदिपुरुष’ को बिहानी शो

बिज्ञापन

काठमाडौं । असुरक्षाको कारण देखाउँदै काठमाडौं उपत्यकाका हलले भारतीय चलचित्र ‘आदिपुरुष’ को बिहानी प्रदर्शन रोकेका छन् । चलचित्र संघले मुलुकभरका सबै हललाई विकसित परिस्थिति हेरेर मात्र चलचित्र चलाउन भनेको छ ।

बिज्ञापन

उक्त चलचित्रको टिकट बिहीबार राति नै सोल्डआउट भइसकेको थियो । बिहानी शोमा बिक्री भएको टिकट अर्को शोमा मिलाउने वा फिर्ता गर्ने हल सञ्चालकले जनाएका छन् । क्यूएफएक्सले यस विषयमा सरकारी निकायको स्पष्टीकरणको पर्खाइमा रहेको भन्दै अर्को सूचना नआएसम्म ‘आदिपुरुष’ प्रदर्शन नगर्ने जनाएको छ ।

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादमा आपत्ति जनाउँदै नेपाली सेन्सर बोर्डले फिल्मलाई जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको थियो । उक्त संवाद बीप गरिएपछि प्रदर्शनको अनुमति दिइएको छ ।

विभिन्न राजनीतिक दलका भ्रातृ संगठनलगायतले चलचित्रलाई लिएर विरोध जनाएपछि हलहरूले असुरक्षित महसुस गर्दै बिहानी शो नदेखाएका हुन् ।

‘आदिपुरुष’ को विवादित संवादलाई लिएर काठमाडौं महानगरका मेयर बालेन शाहले भारतमा समेत उक्त अभिव्यक्ति नहटाए महानगरमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने चेतावनीसहितको स्टाटस लेखेका छन् ।

यसैबीच चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले भारतीय फिल्म ‘आदिपुरुष’ लाई लिएर चर्किएको विवादबारे प्रतिक्रिया जनाएका छन् । बोर्डले ल्याएको सात दिनभित्र सेन्सर सिफारिस लिनुपर्छ भन्ने नियम नमानेर तीन दिनमा झारिदा त्यस्तो भएको उनको भनाइ छ ।

बिज्ञापन