राष्ट्रिय समाचार

‘आरजु र कृष्ण सिटौलालाई पक्राउ गर्न निदर्शन’बारे के भन्छ गृहमन्त्रालय ? 

बिज्ञापन

काठमाडौं । गृह मन्त्रालयले नेपाली कांग्रेसका नेताद्वय डा. आरजु राणा देउवा र कृष्णप्रसाद सिटौलालाई पक्राउ गर्न निर्देशन नदिएको प्रष्टिकरण दिएको छ ।

बिज्ञापन

एक सञ्चारमाध्यमले नक्कली शरणार्थी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आरजु र कृष्णप्रसादलाई पक्राउ गर्न निर्देश दिएको समाचार प्रकाशित गरेको थियो । उक्त समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यसबारे गृहमन्त्रालयले स्पष्ट पारेको हो ।

सोमबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र कृष्णप्रसादलाई पक्राउ गर्न निर्देशन नदिएको जानकारी दिएका छन् । 

उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठले कार्यभार सम्हालेयता भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउँदै सबै मुद्दामा स्वच्छ निष्पक्ष र दबाबरहित ढंगले अनुसन्धान तथा कारवाही अघि बढाउन प्रहरीलगायत सुरक्षा निकायलाई निर्देशन दिएको विज्ञप्तिमा जनाइएको छ । 

प्रहरीबाट नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अगाडि बढी अदालतमा अभियोजन माग दाबी लिई मुद्दाको पुर्पक्ष भइरहेको उल्लेख गर्दै भ्रष्टाचार र अपराध नियन्त्रणलगायतका अनुसन्धान प्रक्रियालाई दबाबरहित बनाई प्रहरी निकायलाई स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न मन्त्रालयको नेतृत्व तहबाट निरन्तर सहजीकरण र निर्देशन हुने गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा गृहमन्त्रीले कुनै व्यक्तिलाई लक्षित गरी केही गर्न वा नगर्न कुनै प्रकारको निर्देशन दिएको कुरा भ्रामक, कपोलकल्पित र झुठा भएको जनाइएको छ । 

मन्त्रालयले सत्यमा आधारित नभइ प्रकाशित यस्ता समाचारले मन्त्रालयले हाल सञ्चालन गरिरहेको अपराध र भ्रष्टाचार नियन्त्रणको अभियानलाई दिगभ्रमित पार्न उद्यत् समूहलाई मात्र फाइदा पुग्ने विज्ञप्तिमा उल्लेख छ । यस्ता विषयमा जिम्मेवार समाचार प्रकाशन गर्ने संस्था सतर्क रहनु आवश्यक रहेको मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ ।

मन्त्रालयको कुशासन र भ्रष्टाचारविरोधी अभियानमा साथ दिन र घटनाको निष्पक्ष छानबिन गरी उचित निष्कर्षमा पुर्याउन सबैले सहयोग र्पुयाउनसमेत मन्त्रालयले विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।

बिज्ञापन