इन्द्र आङ्बोको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी

काठमाडौं । कोशी प्रदेशमा हिक्मत कार्की नेतृत्वको नेकपा एमालेको सरकार ढलेसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएको छ ।
कार्की नेतृत्वको सरकार ढलेसँगै गठबन्धन दल नयाँ सरकार गठनका लागि छलफलमा जुटेको छन् । प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरे लगत्तै गठबन्धन दलले दाबी गर्ने भएको छ ।

आज भएको विश्वासको मत विभाजनका क्रममा कार्कीले प्रस्ताव गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा आवश्यक मत ४७ मत खसेपछि कार्की सरकार ढलेको हो ।
एक नेताका अनुसार नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा सरकार गठनका लागि गठबन्धनले तयारी गरेको छ । ति नेताले भने– ‘नयाँ सरकार गठनका सन्दर्भमा गठबन्धन दलबीच आधारभूत रूपमा सहमति भएको छ । अहिलेकै सन्दर्भमा आङ्बोजीको नेतृत्वमा सरकार गठन गर्ने आधारभूत सहमति जुटेको छ । तर, यो फाइनल भने होइन ।’
आङ्बोको नेतृत्वमा सरकार गठन हुने अवस्थामा मुख्यमन्त्री कार्कीले विश्वासको मत माग्दा तटस्थ बसेको जनता समााजवादी पार्टी (जसपा)ले समर्थन गर्ने बुझिएको छ । त्यसै गरी, मुख्यमन्त्रीमा आलोपालो हुने अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत समर्थन गर्न सक्ने बुझिएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
