राष्ट्रिय समाचार

प्रचण्डको जीवनमा दुःखद संयोग- छोरा र श्रीमती नर्भिकमै अस्ताए

बिज्ञापन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्नी शोक परेको छ । लामो समयदेखि बिरामी रहेका सीता दाहालले बुधबार बिहान नर्भिक अस्पतालमा देह त्याग गरे । प्रचण्डलाई अब सीताको भौतिक साथ रहने छैन ।

बिज्ञापन

जेठी छोरी र एकमात्र छोरा गुमाएको चोट बोकेर हिँडिरहेका प्रचण्डले अन्ततः पत्नी शोकको बज्रपात पनि झेल्नुपरेको छ । जनयुद्धबाट शान्ति प्रक्रियामा आएको १६ वर्षको अवधिमा उनले जन्मदिने बुबा, छोरा, छोरी र श्रीमतिसहित परिवारका चार सदस्य गुमाए ।

दुःखद संयोग नै भन्नुपर्छ प्रचण्डको जीवनका दुई अभिन्न अंगको अन्त्य नर्भिक अस्पतालमै भयो । ६ वर्षअघि अर्थात् २०७४ मंसिर ३ गते प्रचण्डका एकमात्र छोरा प्रकाशको शव नर्भिक अस्पतालबाटै निकालिएको थियो ।

प्रकाशको निधनको पुष्टि अस्पतालले गरेको समय र सीताको निधनको पुष्टिको समय पनि उस्तैउस्तै रह्यो । पुत्र वियोगपछि विक्षिप्त बनेका सीता त्यसपछि कहिल्यै पनि स्वस्थ हुन सकेनन् र अन्तिममा आज छोराको शव निस्किएकै अस्पतालबाट उनको शव यात्रा तय भयो ।

प्रधानमन्त्री प्रचण्डको व्यक्तिगत जीवनमा पारिवारिक वियोगको यो तेस्रो बज्रपात हो । १० वर्षअघि २०७० चैत १३ गते जेठी छोरी ज्ञानुको क्यान्सरबाट निधन भएको थियो ।

१० वर्षको अन्तरालमा आफ्नो जीवनका ३ प्रिय मान्छेलाई गुमाउनुको पीडा प्रचण्डको अनुहारमा छचल्किएको छ । प्रचण्ड परिवार आजबाट आधा भएको छ । किनकी अब सीतासँग छोरा प्रकाश र छोरी ज्ञानु भएका छन् भने प्रचण्डसँग रेणु र गंगा ।

बिज्ञापन