टीकापुर

टीकापुरमा २९ करोड बढी लगानीका सडक योजनाको काम अधुरै

बिज्ञापन

टीकापुर । कैलालीको टीकापुरमा २९ करोड बढी लगानीका सडक योजना निर्माणको काम अधुरै देखिएको छ। पटकपटक म्याद थप हुँदै आए पनि निर्माण कार्यले अझै अपेक्षित गति लिन सकेको छैन्। पूर्वी कैलालीको जमरापुलदेखि टीकापुर बसपार्कसम्म सडकको लम्बाई दुई किलोमिटर छ। टीकापुरको मुख्य बजार क्षेत्रमा रहेको सडक र नाली निर्माणका लागि सहरी विकासले २०७५ फागुन ६ गते ठेक्का सम्झौता ग¥यो। १७ करोड ७३  लाख ८६ हजारको सो सडकको योजनाको काम पाँच वर्षसम्म पूरा भएको छैन।

बिज्ञापन

चौथो पटक थप गरिएको समय पनि असारमा सकिएको छ। तर सडक निर्माणको ८५ प्रतिशत मात्र काम भएको छ। रमन केएस जेभीले सडक निर्माणको काम अलपत्र पारेको हो। सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका सूचना अधिकारी इन्जिनियर सौरभ कलौनीले असारमा सक्ने योजना भए पनि पूरा नभएको बताए। उनले भने, ‘असारमा सक्ने योजना थियो। क्षेत्रीय खानेपानी आयोजनाको काम हुँदैछ। उहाँहरुले सडक काट्नु भएको छ। उहाँहरुले काम नसक्दासम्म हाम्रो काम ढिलो भएको हो।’

टीकापुर नगरपालिका क्षेत्रमा सहरी विकासले छ वटा सडक निर्माण गर्दै छ। छोटो दुरी तथा कम बजेटका सडक निर्माणको काम पूरा भए पनि मुख्य र लामो दुरीका सडक पाँच वर्षसम्म पूरा नभएका हुन्। साढे एक किलोमिटरको सडक ब्लक नम्बर १ मा निर्माण गर्न २०७६ वैशाख २३ गते ठेक्का सम्झौता भयो। १० करोड ७७ लाख ९७ हजार सम्झौता रकम रहेको सो सडकको पनि ८५ प्रतिशत मात्र काम सकिएको छ।

महालक्ष्मी एमके जेभीले काम अलपत्र पारेको हो। टीकापुर क्षेत्रका सडक निर्माणको काम अलपत्र भएपछि स्थानीयले बर्खामा सास्ती पाएका छन्। टीकापुर नगरपालिकाका नगर उपप्रमुख खडकबहादुर शाहले सहरीले काम अलपत्र छोडेको बताए। उनले भने, ‘सरोकारवालासँग पटक–पटक भनेको छौ। फोन गरेका छौ। भौतिक रुपमा सहभागि भएर पनि भनेका छौ। तर उहाँहरुले काम गरिरहनु भएको छैन। संघीय सरकारको योजना रहेकाले हामीलाई समस्या छ।’

सिटी बसपार्कदेखि टीकापुर बसपार्कसम्मको चार सय ८० मिटरको सडक निर्माणका लागि २०७९ चैत १९ गते सम्झौता भयो। प्रकाश निर्माण सेवाले यही असार १५ गतेभित्र पूरा गर्नुपर्ने हो। ६४ लाख ७९ हजारमा सम्झौता भएको सो सडकको ९० प्रतिशत मात्र काम भएको छ। टीकापुर नगरपालिकाको वडा नम्बर ४ को तीन सय मिटर सडक कालोपत्रका लागि २०८० वैशाख १७ गते सम्झौता भयो। टीकापुरको पशु हाटबजार सडकमा तीन सय १६ मिटर र वडा नम्बर ७ को पाँच सय मिटर सडकको काम समेत पूरा भएको संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका सूचना अधिकारी तथा इन्जिनियर कलौनीले बताए।

बिज्ञापन