स्वास्थ तथा सरसफाइ

खजुरा क्यान्सर अस्पताललाई भारत सरकारद्वारा एम्बुलेन्स र बस प्रदान

बिज्ञापन

नेपालगञ्ज, साउन १ गते । बाँकेको खजुरास्थित पश्चिम नेपालकै एक मात्र क्यान्सर अस्पताल सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई भारत सरकारले एउटा एम्बुलेन्स र एउटा बस प्रदान गरेको छ ।

बिज्ञापन

अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्ल र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निरज भट्टराईलाई भारत सरकारले एम्बुलेन्स र बस हस्तान्तरण गरेको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. भट्टराईले एम्बुलेन्स र बसको अभावमा नेपालगञ्जबाट टाढा रहेको सो अस्पतालमा आउने बिरामीलाई समस्या परेकोले अब सहज र सरल हुने बताउनुभयो ।

नेपालगञ्जदेखि आठ किलोमिटर पश्चिममा रहेको सो अस्पतालसम्म पुग्न स्थानीय यातायात व्यवसायीहरुले सार्वजनिक यातायातको व्यवस्था नगरिदिँदा अस्पताल पुग्ने बिरामीले निकै सास्ती खेप्न परिरहेको थियो ।

डा. भट्टराईले अस्पतालको आफ्नै एम्बुलेन्स र बस भएपछि अस्पतालको सेवा लिने बिरामीहरुलाई निकै सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्वास्थ्य मन्त्रालयको समन्वयमा गरिएको अस्पतालको अनुरोधलाई छोटो समयमै सम्बोधन गरिदिएकोमा भारत सरकारलाई धन्यवाद दिनुभयो ।

धार्मिक अगुवा सन्त दीनदयालजीको सङ्कल्पमा जनसहयोगबाट स्थापना भएको सो अस्पताल २०७२ सालमा नेपाल सरकारलाई स्वामित्व हस्तान्तरण गरेपछि सङ्घीय सरकारले सञ्चालन गर्दै आएको छ ।

अस्पतालले क्रमशः क्यान्सर रोगको उपचारका लागि विभिन्न प्रकारका विशेषज्ञ सेवा र परीक्षण सञ्चालन गर्दै गएपछि अहिले पश्चिम नेपालका अधिकांश क्यान्सर रोगका बिरामीलाई उपचारका लागि चितवन, काठमाडौं र भारत जाने बाध्यता समाप्त भएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले पछिल्लो समयमा क्यान्सर अस्पतालले सञ्चालन गरेका विभिन्न अति आवश्यक सेवा र सुविधाबाट पश्चिम नेपालको तीन वटा प्रदेशका सयौं बिरामी लाभान्वित भइरहेको बताउनुभयो ।

बिज्ञापन