राष्ट्रिय समाचार

अन्तरजातीय विवाह गर्दा जेल पुगेका मनोज राम थुनामुक्त

बिज्ञापन

काठमाडौं । अन्तरजातीय प्रेमविवाह गरेपछि अपहरण गरेको आरोप लगाएर पक्राउ गरी कारागार पठाइएका सप्तरीको विष्णुपुर गाउँपालिका–६ का मनोज राम थुनामुक्त भएका छन् ।

बिज्ञापन

सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मनोज रामलाई रिहाइ गर्न आदेश दिएपछि उनी थुनामुक्त भएका हुन् ।

मनोज र बबिता इसरले तीन वर्ष प्रेम सम्बन्धमा रहेपछि २०७९ कात्तिकमा प्रेमविवाह गरेका थिए । तर, बबिताका परिवारले अपहरण गरेको आरोप लगाएपछि मनोज राम डेढ महिनादेखि सप्तरी जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा राखिएको थियो ।

अधिवक्ता शैलेन्द्रप्रसाद हरिजनले गत ८ असारमा मनोज रामलाई रिहाइ माग्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए । थुनामुक्तपछि मनोज रामले जातीय विभेदकै कारण म र मेरो परिवारलाई फसाउने प्रयास गरिएको बताए ।

भाइले अन्तरजातीय विवाह गरेपछि मनोज रामका दाइलाई पनि पक्राउ गरिएको थियो । उनी अझै थुनामा छन् भने बुबा र अर्को भाइ प्रहरी पक्राउबाट बच्न भागेका थिए ।

मनोज रामले आफ्नै श्रीमती बबिता इसरलाई अपहरण गरेको भन्दै व्यक्ति बेपत्ता पार्नेसम्बन्धी कसुरमा सप्तरी जिल्ला अदालत राजविराजले पुर्पक्षका लागि २४ जेठमा थुना पठाउने आदेश गरेको थियो ।

अन्तरजातीय प्रेमविवाहबाट छुटाउन बबिताका बुबा ललित इसरले छोरी नाबालिग रहेको र अपहरण भएको भन्दै मनोजविरुद्ध मुद्दा दायर गरेका थिए । इसरकी छोरीको जन्मदर्ताका आधारमा जिल्ला न्यायाधीश रमेशप्रसाद ज्ञवालीले मनोजलाई थुना पठाउने आदेश दिएका थिए ।

बिज्ञापन