आस्था /आध्यात्म

धार्मिक पदयात्रापछि राप्रपाको संश्लेषण

बिज्ञापन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संस्था नेपाल सनातन धर्म संस्कृति संगठनले हिजो राजधानीमा हिन्दू राष्ट्रको पक्षमा पदयात्रा आयोजना गर्‍यो । मैतीदेवीदेखि पशुपतिनाथसम्मको उक्त पदयात्रामा देखिएको उपस्थितिले पार्टीका नेताहरु हौसिएका छन् ।

बिज्ञापन

पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आलोचकहरुलाई कटाक्ष गर्दै फेसबुकमा लेखे, ‘वाफ रे वाफ ! देशको राजधानीमै ‘प्रतिगामी’ हरुको संख्या किन यसरी बढेर गएको होला हगि ? प्रतिष्ठित साहित्यकार/समालोचक स्वर्गीय डा. ईश्वर बरालको शब्दमा भन्ने हो भने यो ‘अनुसन्धेय विषय’ छ ।’

तर, अनुसन्धान गर्दा यी कुराहरुलाई ध्यानमा राख्नुपर्ने मिश्रको तर्क छः

सन् १९५० मा नेपालमा एक जना ईसाई थिएनन् । आज सरकारी तथ्याङ्कअनुसार ५ लाख १२ हजार भन्दा बढी छन् । अब वृद्धिको गति झन तीब्र हुँदै जानेछ । त्यसले ‘पास्टर’ हरूकै शब्दमा ‘एउटा विन्दूमा सांस्कृतिक द्वन्द्व निम्त्याउने छ । सांस्कृतिक द्वन्द्वको रूप अत्यन्तै हिंसात्मक हुनसक्छ ।

समयमै विचार गर्ने कि नगर्ने ? यस्ता विषयमा सोच्दैमा, नेपाली समाजमा एउटा तप्काले बनाएको भाष्य झैं, कोही पनि ‘अतिवादी’ हुँदैनन् । जो समयमै यस्ता विषयमा सोच्छन्, ती ‘दूरदृष्टि-वादी’ हुन् ।

हिजोको पदयात्रामा सहभागी राप्रपा नेता तथा पूर्वमन्त्री दीपक सिंहले संयम नै गुमाएर उत्तेजक अभिव्यक्तिसमेत दिन पुगे ।

उनी सञ्चारकर्मीहरुसँग भन्दै थिए, ‘यो देशलाई भ्रष्टाचारले गाँजेको छ । नेपालीको निधारमा भुटानी भनेर अमेरिका पठाउनेहरुलाई जेल हाल्ने होइन, दोषी जो जो छन्, उनीहरुलाई सिंहदरबारको अगाडि म जस्तै एक जना छ नि (जुँगा मुसार्दै) उसको अगाडि लगेर अचानोमा काट्नुपर्छ । दस्तुर तिरेर किनेको जग्गालाई बेचिकन खा भन्ने माधव र बाबुरामजीलाई पाता कस्नुपर्छ ।’

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीले उठाएको हिन्दू राष्ट्रको मुद्दा बहुसंख्यक नेपालीको मुद्दा भएको बताए ।

‘तर, जसको मुद्दा हो, उसैलाई बुझाउन नसकिएको अवस्था छ, त्यसैले सनातन धर्म, परम्परा, संस्कृतिको रक्षार्थ जनचेतना जगाउने, हिन्दू राष्ट्र पुनःस्थापनाका लागि जनदबाब सिर्जना गर्ने उद्देश्यले पदयात्रा गरिएको हो’, उनले भने ।

यसखालको पदयात्रा देशभरि नै गर्ने उनको भनाइ छ ।

पूर्वपञ्चहरुले नेतृत्व गरेको पुरातनपन्थी पार्टीको रुपमा परिचित र प्रचारित छ राप्रपा । राजतन्त्र, हिन्दू राष्ट्र तथा एकात्मक शासन प्रणाली जस्ता ‘प्रतिगमनकारी’ मुद्दाहरु उठाइरहेको हुँदा राप्रपालाई शहरी र शिक्षित जनमतले ठाडै अस्वीकार गर्ने परिवर्तनकारी शक्तिहरु विश्वास गर्छन् ।

तर, गत मंसिरमा भएको संसदीय चुनावको नतिजाले राजधानी काठमाडौंमा राप्रपाको आकर्षण बढ्न थालेको देखायो । हिजोको पदयात्रामा देखिएको भीडले पनि राप्रपाका एजेन्डाहरुलाई राजधानी शहरमै ‘एडप्ट’ गर्न थालिएको छनक मिल्ने बताउँछन् पार्टी प्रवक्ता मोहन श्रेष्ठ ।

उनले भने, ‘यो ठूला भनिएका दलहरुप्रतिको वितृष्णामात्र नभएर राप्रपाका एजेन्डाहरुप्रतिको बढ्दो आकर्षण पनि हो ।’

काठमाडौंका जनता नै ‘परिवर्तन’को पक्षमा देखिनु सन्तोषको विषय भएको उनी बताउँछन् ।

‘हिन्दू राष्ट्रको पक्षमा जनअभिमत प्रदर्शन भएको छ । यसलाई गम्भीर ढंगले आत्मसात नगर्ने हो भने नयाँ परिस्थितिको सिर्जना हुनसक्छ’, उनले थपे ।

संसदमा समेत प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका एक युवा नेता राप्रपाले सहज रुपमा जुटाएको भीडलाई ‘प्रतिगामी जत्था’ भनेर नजरअन्दाज गरिरहन नमिल्ने बताउँछन् ।

‘देशको जनमत धर्मनिरपेक्षता र संघीयताको विपक्षमा ढल्किँदै गएको साँचो हो । यसलाई हामीले छिटो आत्मसात गर्न सकेनौं भने अर्को चुनावमा धक्का खानुपर्ने हुनसक्छ’, उनी भन्छन् 

बिज्ञापन