आस्था /आध्यात्म

मर्यादाभित्र गरिएको सेवा सत्गुरुबाट स्वीकार्य हुन्छ– नर बहादुर रावल (अध्यक्ष– स.नि.म. नेपाल), कपिलवस्तुको ईटावामा सत्संगको आयोजना

बिज्ञापन

कपिलवस्तु, २१ असार । कपिलवस्तुको ईटावामा सत्संगको आयोजना गरिएको थियो । गत असार १४ गते सन्त निरंकारी सत्संग भवन ईटावामा आयोजित उक्त साध संगतलाई सम्बोधन गर्दै सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले कुनैपनि सेवा मर्यादाभित्र रहेर गर्छौ भने त्यो सत्गुरुबाट स्वीकार्य हुन्छ, आफ्नो मनमानि ढंगबाट, आफ्नो ईच्छानुसार, बिना आदेशको गर्छौ भने त्यो सेवा कदापि गुरुबाट स्वीकार्य हुँदैन । त्यसैले जहिले पनि सेवा गर्दा मर्यादामा रहेर अनुशासित पूर्वक, नम्रभावबाट, कुनै फलको आशा नगरेर, कसैलाई कुनै प्रकारको दुःख नपु¥याएर सत्गुरुको जस्तो आदेश आउँछ, त्यसै मुताबिक हामी सेवा गर्छौ भने त्यो सेवा हाम्रो लागि फलदायी, आनन्ददायि र स्वीकार्य हुन्छ, उहाँले बताउनु भयो ।

बिज्ञापन

आज मानव संसारमा खानु–पिउनु, रहन–सहन, धन–सम्पत्ति एकत्रित गर्नुमा नै चौविसै घण्टा खर्चिरहेको छ । त्यस परिवेशमा रुमल्लिएर अमूल्य मानव योनि त्यसै खेर फालिरहेको छ । खानु–पिउनु, सुत्नु–उठ्नुमा नै पूरा जीवन वर्वाद गरिरहेको छ । निराकार–परमात्माले मानव योनि उक्त कार्य गर्नको लागि मात्र दिएको होइन, यो कार्य त पशु–पंछी, किट–पतंङहरुले पनि गर्दै आइरहेका छन् । यदि यहि कार्य मानव र पशु–पंक्षीको हो भने दुबैमा के को फरक ? वास्तवमा परमात्माले मानव योनि दिनुको मुख्य उद्देश्य आत्माको पति परमात्मालाई जान्नको लागि हो । जसलाई पाउनको लागि हामी भौतारी रहेका थियौं तर आज सत्गुरुको कृपाबाट साक्षात रमेरामको दर्शन भयो, आत्माको पति परमात्मा रहेछ भन्ने कुरा सत्गुरुबाट हामीलाई जानकारी भयो । जसको फलस्वरुप आज हामी सेवा, सत्संग, सुमिरण गर्दै जीवन बिताई रहेका छौ, यही मानव योनिको प्रमुख कर्तव्य हो, उहाँले बताउनु भयो ।

परमात्माले सम्पूर्ण ब्रम्हाण्डको रचना गरयो । संसारमा जतिपनि दृष्य वा अदृष्य चीजहरु छन् ती सबैको रचनाकार यो निराकार–परमात्मा नै हो । हामीलाई ब्रम्हज्ञान न हुनुभन्दा पहिले परमात्माले रचना गरेका सूर्य, चन्द्रमा, तारा, वायु, जीव, आकाश, अग्नि, जल, थलको हामी पूजा गरिरहेका थियौं, यिनीहरुलाई नै ईश्वरको रुप सम्झि रहेका थियौं तर सत्गुरुबाट हामीलाई ब्रम्हज्ञानको दात प्राप्त भयो तब थाह भयो कि यी सबै त स्वयं निराकार–परमात्माले नै बनाएका रहेछन्, यिनीहरुको एक न एक दिन अवश्य विनाश हुने छ, यिनीहरु अटल–अविनाशी छैनन्, केवल यो निराकार मात्रै अटल, अविनाशी छ जसको कहिल्यै न जन्म हुन्छ, न कहिल्यै मृत्यु हुन्छ, यो सधैं कायम–दायम छ भनेर सत्गुरुले हामीलाई ईशाराबाट सम्झाउनु भयो । त्यसैले जसको भक्ति, जसको पूजा त्यसको ज्ञान हुनु जरुरी छ । त्यसको बारेमा जानकारी हुनु जरुरी छ । त्यसको साथै ईश्वरको जानकारी हुनु पनि आवश्यक छ । आज सत्गुरुको हामीमाथि कृपा भयो जसको भक्ति गरिरहेका छौ, जसको हामी पूजा गरिरहेका छौैं त्यसको अनुभूति गराएर कृतार्थ गर्नुभयो, उहाँले बताउनु भयो ।

हामी ठुला भाग्यशाली हौं किनभने यसै समय हामीले यस संसारमा मानव योनि पाउनु र यसै समय सत्गुरु यस धरातलमा आउनु हाम्रो लागि ठुलो भाग्य हो । सत्गुरुको शरण हामीलाई प्राप्त नभएको भए फेरि हामी त्यही संसारी माया–मोहमा भौतारिएर यो अमूल्य मानव योनि त्यसै खेर फाल्ने थियौं । त्यसैले समयमा सत्गुरुको शरणमा आएर ब्रम्हज्ञान लिएर मानव योनि पाएको सार्थक गर्न सकौं, उहाँले आग्रह गर्नुभयो ।

उहाँले पाँच प्रणको बारेमा सम्झाउँदै भन्नुभयो कि हामीले तन, मन, धन निरंकारको हो, यसको अभिमान कहिल्यै गर्नु हुँदैन, यसलाई निरंकारको हो भनेर प्रयोग गर्नु छ, यसको अभिमान गर्नु हुँदैन । त्यस्तै जात, पात, वर्ण, आश्रमको अभिमान गर्नु हुँदैन । कसैको खान, पान, रहन, सहन, भेशभूषाको घृणा वा निन्दा गर्नु हुँदैन । भेषधारी साधु बनेर समाजमा बोझ बन्नु हुँदैन, घर–गृहस्थीमा नै बसेर गृहस्थी जीवनको पालन गर्नु पर्छ र सत्गुरुको आदेश बिना ज्ञान कसैलाई बताउनु हुँदैन । यी पाँच प्रणको हामीलाई थाह हुनु जरुरी छ, यसै अनुसार आफ्नो जीवनलाई भक्ति मार्गमा डो¥याउनु पर्छ, उहाँले बताउनु भयो ।

सत्संग कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख देवराज रिमाल, केन्द्रीय सल्लाहकार तथा सन्त निरंकारी आदर्श विद्या मन्दिरका अध्यक्ष श्रीराम काफ्ले, सन्त निरंकारी सत्संग भवन ईटावाका मुखी अमर दास, गायक तेज बोहरा, राम कुमार यादव लगाएत भारतबाट पनि सन्तहरुको सहभागिता रहेको थियो भने सत्संगको संचालन सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय कोषाध्यक्ष कृष्ण कन्याहैया पाठकले गर्नुभएको थियो ।

बिज्ञापन