Sudur Pradesh News

कैलाली र कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माण गर्न बजेट अभाव

बिज्ञापन

धनगढीः कैलाली र कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणमा बजेट अभाव भएको छ। कैलालीमा ६९ किलोमिटर र कञ्चनपुरमा ६२ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता गर्दै काम थालिएकोमा भुक्तानीका लागि बजेट अभाव भएको हो। हुलाकी राजमार्ग निर्देशनालय अन्तरगतको हुलाकी राजमार्ग योजना कार्यालय, धनगढीले चालु आर्थिक वर्षमा ९ करोड रुपैयाँ निर्माण कम्पनीलाई भुक्तानीका लागि अभाव भएको बताएको छ।

बिज्ञापन

हुलाकी राजमार्ग योजना कार्यालय, धनगढीका प्रमुख सविन जोशीले चालु आर्थिक वर्षमा निर्माण कम्पनीले गरेको कामकोसमेत भुक्तानीका लागि बजेट नभएको बताए। उनले भने, ‘बजेट नभएर समस्या भएको छ। गरेको कामकोसमेत भुक्तानी दिन सकेका छैनौ। नौ करोड रुपैया फुकुवा आएको छैन। असारसम्म आउला भन्ने आसा थियो। अझै आएको छैन।’ 

जोशीका अनुसार चालु आर्थिक वर्षमा संघीय सरकारले ६५ करोड बजेट विनियोजन गरेको थियो। तर संघीय अर्थ मन्त्रालयले नौ करोडको फुकुवा नदिएकाले समस्या भएको छ। निर्माण कम्पनीले बढी काम गरेका भएपनि भुक्तानी दिन नसकिएको हो। योजना कार्यालयले माग गरेको थप बजेटको समेत भुक्तानी दिइएको छैन। संघीय सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ मा बजेट घटाएको छ। आगामी आर्थिक वर्षका लागि ३९ करोड मात्र बजेट विनियोजन गरिएको छ। चालु आर्थिक वर्षमा विनियोजन भएको नौ करोड फुकुवा नभएकाले आगामी आर्थिक वर्षमासमेत समस्या हुने जोशीले बताए। २०८० सालको पुस महिनासम्म कैलालीमा हुलाकी राजमार्ग स्तरवृद्धिको समय रहेको छ। 

धनगढीदेखि सत्तीसम्म ६९ किलोमिटरमा २७ किलोमिटर स्तरवृद्धिको काम पूरा भएको छ। लम्की–टीकापुर २९ किलोमिटरमा ८ किलोमिटर कालोपत्र गरिएको छ। कञ्चनपुरमा ६२ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का गरिएकोमा ३६ किलोमिटरमा काम पूरा भएको छ। बाँकी काम बर्खाका कारण रोकिएको छ।

बिज्ञापन