राष्ट्रिय समाचार

१० वर्षमा ४१ क्विन्टल १७ किलो सुन तस्करी

बिज्ञापन

काठमाडौँ, साउन ५ गते । राजस्व अनुसन्धान विभागले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै १०० केजी सुन बरामद ग-यो । त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट  ठुलो परिणामको तस्करीको सुन यति सजिलै कसरी बाहिरियो भन्ने प्रश्न उठेको छ ।

बिज्ञापन

यस घटनाले विमानस्थलको सुरक्षा संवेदनशीलता र भन्सार प्रशासनमाथि पनि प्रश्न उठेको छ । तथापि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठुलो परिणाममा सुन तस्करी  भएको यो नौलो घटना भने होइन । 

विगत १० वर्षको अवधिमा ठुला तस्करीका घटनामा ४१ क्विन्टल १७ किलोभन्दा बढी सुन अवैध भित्रिएको छ । ठुलो परिमाणमा फेला भने परेको छैन ।

यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २०७० साल असार २६ गते काठमाडौँको कोटेश्वरबाट ३५ किलो सुन बरामद गरेको थियो । चीनको खासाबाट भित्र्याइएको ३५ किलो सुन सिआइबीले बा ३ ख २५७० नम्बरको कन्टेनरमा लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा कोटेश्वरबाट बरामद गरेको थियो । सुनसँगै कन्टेनरका चालक निमा छिरिङ पक्राउ परे तर सुनका मालिक मोहन अग्रवाल, ओमबहादुर बज्राचार्य, घ्याम्पे लामा पक्राउ परे पनि उनीहरू जिल्ला अदालतको आदेशमा धरौटीमा छुटे ।

त्यस्तै २०७४ माघ  ९ गते  त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको साढे ३३ केजी सुन फेला पर्न सकेन । तस्करीको सुन बाटोबाटै हराएपछि सुनका मुख्य भरिया चूडामणि उप्रेती ‘गोरे’ समूहको यातनाबाट मोरङका सनम शाक्यको हत्या भएपछि घटना बाहिरियो । सो घटनामा नाम जोडिएका नेपाल एयरलाइन्सका लोडर प्रेमलाल चौधरी, थाई एयरवेजका इन्जिनियर सानु बनसहित तीन जनाले त आत्महत्या नै गरे ।  

सरकारले उक्त घटनाबारे अनुसन्धान गर्न गृहमन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा २०७४ चैत २० गते ‘विशेष अनुसन्धान टोली’ गठन ग-यो । समितिले १९ महिनामा गोरे समूहले मात्र ३८ क्विन्टल सुन तस्करी गरेको र लगानीकर्ता एमके भनिने मोहनकुमार अग्रवाल रहेको निष्कर्ष निकाल्यो ।  

तस्करीमा संलग्न भनिएका मुख्य अभियुक्तसहित ६३ जना प्रतिवादी अदालती प्रक्रियाबाट पुर्पक्षका लागि जेल चलान भए पनि मुख्य योजनाकार फेला पर्न सकेनन् ।

अर्को घटनामा २०७३ पुस २० गते एयर अरेबियाबाट आएका नेपालगन्जका गोपालबहादुर शाहीका दुई सुटकेसमा सिग्नेचर रक्सीको बोतल राख्ने डिब्बाभित्र लुकाएर ल्याउँदै गरेको २८२ वटा सुनका बिस्कुट, १९ वटा औँठी तथा १८ वटा सिक्रीसहित ३३ किलो सुन बरामद भयो ।

सुनसहितको सुट्केस सजिलै भन्सार पार गरेर शाही ट्याक्सीबाट बाहिरिए । प्रहरीले शाहीलाई सुनसहित गौशालाको पिङ्गलास्थानबाट पक्राउ ग-यो । 

सुन लिन गएका मोरङका दिलबन्धु थापा र धनुषाका सन्तोष काफ्ले पनि पक्राउ परे । फलामको डिब्बाभित्र कार्बनको कभर राखेर ल्याएको सुनका बिस्कुटलाई प्लास्टिकको कालो टेपले बेरेको अवस्थामा भन्सारले पत्ता लगाउन सकेको थिएन ।  

२०७४ भदौ १८ गते राति २ बजे काठमाडौँको क्षेत्रपाटीबाट ८८ केजी सुनसहित मनोज अधिकारी पक्राउ परे । बा १७ च ६४२७ नम्बर गाडीको डिकीमा सुन फेलापरेपछि अपराध महाशाखाका तत्कालीन प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीको नेतृत्वको टोलीले तस्करीको सुन चिनियाँ नागरिकको रहेको पत्ता लगायो । केरुङ नाका हुँदै नेपाल भित्रिएको सुनका मालिक चिनियाँ नागरिक भने पक्राउ परेनन् । 

त्यसपछि २०७९ पुस ८ गते त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुन बरामद भयो । फ्लाई दुबईको उडान नम्बर–५१९ बाट भित्रिएको उक्त सुन कपडामा लेपन बनाएर फरक शैलीमा तस्करी गरिएको थियो । प्रहरीले तस्करीको सुनसहित सुडानका नागरिक मोहम्मद अहमेदले डफला साराफेल्दिनलाई पक्राउ ग-यो ।

प्लास्टिकमा बेरिएको अर्ध तरल (सेमिलिक्विड) सुन कम्मरमा बाँधेर ल्याएको अवस्थामा भन्सार पास भई प्रहरीको अन्तिम चेकजाँच कक्षमा फेला परेको थियो ।

२०७९ पुस १० गते फ्लाई दुबईको एफजेड–०५८७ नम्बरको उडानबाट नेपाल आएका चिनियाँ यात्रु ली हानसोङले लगेजबाट प्रहरीले इलेक्ट्रिक सिगरेट (भेप) भित्र लुकाएर ल्याएको अवस्थामा प्रहरीले झन्डै नौ केजी सुन बरामद गर्यो ।

भेपभित्र लुकाएर ल्याएको सुन विमानस्थलका सुरक्षा गार्ड निर्मल विकले पत्ता लगाएका थिए । सो घटनामा भन्सारका नायब सुब्बा रेवन्त खड्का, दिनेश बस्नेतलगायतका कर्मचारीले जोडिएका थिए । भेपभित्रको करिब नौ किलो सुन निकाली प्रतितोला ८० हजार रुपियाँमा बिव्रmी गरेको खुलेको छ ।सुरक्षा स्रोतका अनुसार उक्त प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महाराका छोरामाथि अनुसन्धान अघि बढेको छ ।

महराले विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृतलाई सम्पर्क गरी लिलामीको प्रक्रिया अगाडि बढाइदिन पटक पटक आग्रह गरेको खुलेपछि अनुसन्धान अघि बढाइएको एक उच्च प्रहरी अधिकारीले गोरखापत्रलाई जानकारी दिनुभयो । 

माघ २९ गते चिनियाँ नागरिकले दुई वटा सुटकेसभित्र ७३ वटा बट्टामा ७३० थान इलेक्ट्रिक सिगरेट नेपाल ल्याएको घटनामा सिआइबीले अनुसन्धान गरिरहेको छ । 

सिआइबीले सो घटनामा भन्सार कार्यालयका नायब सुब्बा खड्का, सिन्धुपाल्चोक सुनकोशी–६ का दिनेश बस्नेत, दिपेश बस्नेत गोपाल सुवेदी अमृत कार्की, सुनसरी धरान उपमहानगरपालिका–२ का वेदप्रकाश अग्रवाल, भारत महाराष्ट्रका साहेब राव पाण्डुरङ मरग, बाग्लुङ काठेखोला–३ का निर्मलकुमार विकलाई नियन्त्रणमा लिई अनुसन्धान गरेको छ । 

बिज्ञापन