घटना समाचार

जुम्लाको गुठीचौरमा अज्ञात समूहद्वारा आगजनी

बिज्ञापन

सुर्खेत । जुम्लाको गुठीचौर गाउँपालिकामा अज्ञात समूहद्वारा सात घरमा आगजनी गरेका छन् । गुठीचौर–४ स्थित विभिन्न गाउँका सात घरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले नेपाल प्रेसलाई जानकारी दिए ।

बिज्ञापन

उनका अनुसार धवलपुर गाउँका प्रेम न्यौपाने र खडान्द पाण्डे, बाउली गाउँका कविदत्त न्यौपाने, डाँडाबाडा गाउँका कविदत्त न्यौपाने, दलिबाडा गाउँका लालचन्द्र सार्की र बिगारे गाउँका भीमप्रसाद जैसीका घरमा अज्ञात समूहबाट आगलागी भएको छ ।

मानवीय कुनै क्षति नभएकाे तर आगलागी हुँदा घरका झ्याल, ढाेका र गाेठाहरु जलेकाे  उनले जानकारी दिए । आगलागी के कसरी भयाे भन्ने बारे अनुसन्धान भइरहेको उनले बताए ।

धिता र देपाल गाउँमा पनि यस्तो घटना भएको जनाइएको छ । सो समूहले सडकमा रोकिराखिएको ट्र्याक्टरमा समेत आगो लगाएको छ ।  आगो लागेको घरमा समयमै थाहा पाउँदा अधिकांश घर क्षति हुनबाट जोगिएका छन् । आगो लगाइएको कुरा थाहा पाउने बित्तिकै जिल्लाबाट प्रहरीको टोली खटाएको जुम्लाका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए।

उनले भने,‘विभिन्न गाउँका घरमा आगो लगाइएको थाहा पाउने बित्तिकै प्रहरी घटना स्थलमै खटाएका छौ । के कति क्षति भएको छ भन्ने विवरण सङ्कलन भइरहेको छ ।’ प्रहरीलाई घटनाको जानकारी गए राति ११ बजेतिर आएको थियो । आगजनीबाट घरमा आंशिक क्षति भएका छन् ।

गुठीचौरमा दिनदिनै घटना बढ्ने क्रममा रहेकाले सुरक्षा चुनौती थपिएको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले बताए ।

बिज्ञापन