खेलकुद

विश्वकप फुटबल छनोटमा नेपालको यस्तो छ इतिहास, पहिलो चरण कति सहज ?

बिज्ञापन

काठमाडौं। विश्वकप फुटबल २०२६ को एसियाली छनोटअन्तर्गत पहिलो चरणमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार ड्र सार्वजनिक गरेको हो ।

बिज्ञापन

विश्व फुटबल महासंघ (फिफा)ले विश्वकपको छनोटमा आफ्ना सबै सदस्यलाई सहभागी गराउँदै आएको छ । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्ने आगामी विश्वकपमा ४८ राष्ट्र सहभागी हुँदैछन् ।

फिफाले विश्वकपमा सहभागी हुने टोलीको संख्या ३२ बाट ४८ पुर्‍याएको हो । यसअनुसार एसियाबाट कम्तीमा ८ र बढीमा ९ वटा टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

नेपालले पहिलो चरणमा लाओससँग होम एन्ड अवे खेल्ने छ । पहिलो लेग अक्टोबर १२ मा नेपालमा हुने छ भने दोस्रो लेग अक्टोबर १७ मा लाओसमा आयोजना हुने छ ।

नेपाल सन् २०१० र सन् २०१८ मा पहिलो चरणबाटै बाहिरिएको थियो भने सन् २०१४ र २०२२ को विश्वकप छनोटमा दोस्रो चरणसम्म पुगेको थियो । नेपाल हालसम्म एसिया कपसम्म पनि छनोट हुन सकेको छैन ।

अन्तर्राष्ट्रिय फुटबलमा लाओसले नेपालसँग हालसम्म जित हात पार्न सकेको छैन । यी दुई टोलीबिच ४ पटक प्रतिस्पर्धा भएकामा नेपालले तीन जित र एक बराबरीको नतिजा निकालेको छ । गत मार्च ३१ मा यी दुई टोली अन्तिम पटक भिडेकामा नेपाल २-१ गोलले विजयी भएको थियो ।

फिफा वरियतामा हाल नेपाल एक सय ७५ र लाओस एक सय ८७ औँ स्थानमा रहेको छ ।

बिज्ञापन