राजनीति

एमालेले आज पनि संसद अवरुद्ध गर्ने

बिज्ञापन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसद बैठक अवरुद्ध गर्ने तयारी गरेको छ। गत असार २ गते त्रिभुवन विमानस्थलको भन्सारबाट जाँच पास भएर बहिरिएको अवस्थामा बरामत गरिएको एक सय किलो सुन प्रकरणको छानविन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै एमालेले संसद अवरुद्ध गर्दै आएकाे छ ।

बिज्ञापन

एमालेले अवैध सुन आयात प्रकरणमा मुख्य व्यक्ति पक्राउ पर्ने गरी अनुसन्धान गर्नुपर्ने र त्यसका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने अडान राखेपछि सोमबार सूचना टाँस गरेर बैठक स्थगित गरिएको थियो। बैठक आज दिउँसो १ बजेसम्म बस्दैछ ।

एमाले सचेतक महेश बर्तौलाले उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संसद् चल्न नसक्ने बताए। संसद्को अवरोध खुलाउने विषयमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे भएको छलफलमा प्रचण्ड छानबिन समिति बनाउन सकारात्मक रहेको एमाले नेताहरूले बताएका छन् । छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक देखिएपछि एमाले पनि सदनको अवरोध हटाउन तयार थियो। दिउँसो उप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सभामुख देवराज घिमिरेबीच पनि छलफल भएको थियो।

त्यो छलफलमा गृहमन्त्री श्रेष्ठले सरकारले तदारूकताका साथ छानबिन गरिरहेको भन्दै अलग्गै समिति बनाउन तत्पर नदेखिएपछि समझदारी भाँडिएको थियो।

बिज्ञापन