राष्ट्रिय समाचार

नागरिक उन्मुक्तिमा बढ्याे विवाद

बिज्ञापन

धनगढी – नागरिक उन्मुक्ति पार्टीमा विवाद उत्पन्न भएको छ।

बिज्ञापन

सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्री कैलाश चौधरीले शपथ खाएसँगै पार्टीमा विवाद उत्पन्न भएको हो ।

गत वैशाखमा मन्त्रीको आश्वासन पाएपछि प्रमुख सचेतकबाट राजीनामा दिएका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले पार्टीले अपमान गरेको बताएका छन्। रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीका उनी उपाध्यक्ष हुन् । उनले भने, ‘विवाद मैले ल्याएको छैन । पार्टीभित्र विवाद अरूले ल्याएका हुन् । पार्टीको विधि, पद्धति र मूल्यांकनलाई लत्याएर निर्णय आएपछि विवाद देखिहाल्छ नि ।’

चौधरीले पार्टीले पेलेर निर्णय गरेको बताए । प्रदेशसभाका सदस्य तथा पार्टीमा आफ्नो पक्षमा कोही नभए पनि टीकापुरका नागरिक आफ्नो पक्षमा रहेको तर्क उनको छ । प्रदेशसभाका विषयगत समितिमा नबस्ने उनले बताए । पार्टीको राजनीतिमा कनिष्ठलाई मन्त्री पद दिएको तर आफूलाई विषयगत समितिमा बस्न गरेको आग्रहप्रति उनले असन्तुष्टि व्यक्त गरेका छन् ।

चौधरीले भने, ‘सहमति थिएन । पार्टीभित्रबाट अपमानित गरिएको छ । मलाई पेलेर निर्णय भएको छ । मेरो पक्षमा कोही छैन । मेरो पक्षमा टीकापुरका जनता छन्् । टाउको गनेर हुँदैन । पेलेर लग्दाखेरी, पदीय दुरुपयोग गरेर चाहिँ आपूmलाई लम्पसार पारेर धाकधम्की दिएर हुँदैन ।’

उनले विषयगत समितिको अफर आएको बताए । उनले भने, ‘विषयगत समितिको अफर आएको छ । म जादिनँ र सुविधा भोग्न पनि तयार छैन ।’

उनले नागरिक उन्मुक्ति पार्टीभित्र टीकापुरविरोधी निर्णय भएको बताएका छन् । पार्टीको कोर टिमलाई प्रभावित पार्ने काम भएको तर्कसमेत उनले गरेका छन्् । पाँच वर्षसम्म जनप्रतिनिधिविहीन टीकापुरले अधिकार, पहिचान र विकासका लागि ठूलो क्षति बेहोरेको उनले बताए ।

यता नागरिक उन्मुक्तिका प्रवक्ता दामोदर पण्डितले पार्टीले लक्ष्मणकिशोरलाई अपमान नगरेको दाबी गरेका छन्। पार्टीले सम्मान गरेर उपाध्यक्ष र प्रदेशसभाका सदस्य बनाएको तर्क पण्डितको छ । उनले भने, ‘पार्टीले सम्मान गरेको छ । उपाध्यक्ष बनाएको छ, टिकट दिएको छ र जिताएको छ । पार्टीले मलाई त केही दिएन । सिनियर भएर, उपाध्यक्ष बनाएको होला । सिनियर भएर टिकट दिएको होला । जुन पार्टीबाट टिकट पाएर जित्नुभयो, उही पार्टीलाई नै लात हान्ने ?’

बिज्ञापन