राष्ट्रिय समाचार

लिम्बूवानको माग गर्दै आएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चभित्र चरम विवाद

बिज्ञापन

विराटनगर । अरुण पूर्वका नौ जिल्लालाई लिम्बूवान प्रदेश बनाउनुपर्ने मागसहित आन्दोलन गरिरहेको संघीय लोकतान्तित्रक राष्ट्रिय मञ्चमा चरम विवाद देखिएको छ ।

बिज्ञापन

आन्तरिक विवादकै कारण एक वर्षअघि धरानमा सम्पन्न तेस्रो महाधिवेशनदेखि केन्द्रीय समितिको बैठकसम्म बस्न सकेको छैन । मञ्चका महासचिव अशोक चेम्जोङले सामाजिक सञ्जालमा पार्टीभित्र विधि र प्रकृया नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।

उनले महाधिवेशन सम्पन्न भएको १३ महिना बित्दासमेत पार्टीको विधान नआएको भन्दै यसको दोष अध्यक्ष कुमार लिङदेनलाई लगाएका छन् ।

‘बैठक छलफलबाट भागेर समस्याको समाधान पक्कै हुँदैन । महाधिवेशन सकिएको १३ महिना हुँदासम्म विधान किन आएन ? विधि सम्वत् नभएपछि पार्टी कसरी पार्टी जसरी चल्न सक्छ ? मैले यसो भनिरहँदा एकथरी साथीहरू पक्कै भन्नेछन रेडिमेट प्रश्न ? महासचिवको के काम ? विधान मस्यौदा समतिको संयोजक अध्यक्ष भएकोले यस्को जवाफ उहाँले नै दिनुपर्छ’, अशोकले लेखेका छन् ।

अध्यक्ष कुमार लिङदेनले महाधिवेशन प्रतिनधि नै नभएका व्यक्तिलाई पार्टीको उपाध्यक्ष बनाएपछि विवाद त्यही बेलादेखि सुरू भएको थियो ।

मञ्चले प्रदेश १ को नाम लिम्बूवान राख्नुपर्छ भन्दै आन्दोलन गर्दै आएको छ । अघिल्लो प्रदेश १ को प्रदेशसभामा १ सीट पाएको मञ्चका तर्फबाट विष्णु तुम्वाहाम्फे प्रदेश १ सरकारको सामाजिक राज्यमन्त्रीसमेत भएकी थिइन् ।

२०७१ साल साउनमा भेडेटारमा भएको भेलाले ५ वटा लिम्बूवान पार्टीबीच एकता गर्दै संघीय लिम्बूवान पार्टी नेपाल गठन गरेको थियो । एकतापछि अध्यक्ष भने कुमार लिङदेन भए ।

भेडेटार भेलामा लिङदेनले नेतृत्व गरेको मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद्, सञ्जुहाङ पालुङ्वाको संघीय लिम्बूवान राज्य परिषद, वीर नेम्बाङको लिम्बूवान मुक्ति मोर्चा, रामभक्त कुरुम्बाङको लिम्बूवान मुक्ति मोर्चा नेपाल र कमल छाराहाङको संघीय गणतान्त्रिक मोर्चाबीच एकता भएको थियो ।

बिज्ञापन